देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रिल अझै चुँडेको छैन

देशान्तर

हुक्का तानेपछि छोडेको टुक्का
धेरै बजिसकेको चक्का जस्तो
क्यारक्यार, क्यारक्यार गरेर
अझै बजिरहेको छ
दिक्क लाग्छ सुन्नेलाई
तर ऊ झन् हौसी रहेको छ
राम्रो व्यापारको लागि
सधैँको झै झुट फरेबी
सबैभन्दा बढी बिक्री हुन्छ भनेर

टुँडिखेलमा दन्त मञ्जन बेच्ने
वरिपरि मान्छेको घेरा देखेपछि
उफ्री उफ्री कराउँथ्यो कुनै बेला
अभिनयको उत्कर्षमा
मञ्जन दाँतमा दल्थ्यो ऊ
अनि फलाम बंग्याउँथ्यो त्यो दाँतले
तालिका गडगडाहट
मञ्जन भटाभट बिक्थ्यो
त्यस्तै अभिनय जानेका अहिलेका यी
व्यापारको केन्द्र बिन्दुमा
जस्केला होइन, मूल ढोकाबाट छिर्न
क्यारक्यार, क्यारक्यार बजिरहेका

मट्यांग्रो हान्न लगाएर मरेको चरी
त्यसको ठाउँमा चुँ चुँ गरिरहेका
टन्न अघाएका भोकाहरू
सँगै हिँडिरहेका छन्
त्यो आवाजको जादुगरी फसलमा
मुनाफाको रहलपहल खान
मुखबाट र्‍याल चुहाइरहेका छन्
उनीलाई नै अन्तिम सत्य मानेर

घ्यारघ्यार घ्यारघ्यार आइसक्यो
पुक्क फुलेको मुखबाट
ब्रह्मनालमा पुग्ने बेलामा जस्तो
तर छक्का पार्न तम्सिएका
तीन पासाका दुई दाउमा बसेर
छक्काको अग्गालाई छैया छैया दिन
अर्को पाखण्डी वृद्धलाई देखाउँदै
उमेरको म्याद भत्काएको छ उसले

नुनबाट सुन निकाल्ने अर्को चमत्कारी त्यो
अन्तिम झापझुपको च्याँखे दाउमा
सकिनसकी कामको नाटकमा
‘सटल कक’ जस्तो
यताबाट उता, उताबाट यता
अनवरत गरिरहेको छ
आफूलाई आबाद गर्ने समाजवाद होस्
या आफूलाई रूपान्तरण गर्ने जनजीविका होस्

रिल अझै चुँडेको छैन
क्यारक्यार बजिरहेको
हुटिट्याउँले आकाश थामे जस्तो
अभिनय अझै देखाइ रहेको
एउटा अर्को चमत्कारको लागि