देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘पब्लिक कन्जसम’मा मात्रै राजनीति केन्द्रित भयो 

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले नेपाली राजनीति अहिले चर्चामा आउनका लागि मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । राजनीतिक दलका जिम्मेवार नेताहरू नै अहिले आफूले पाएको समयलाई लोकरिज्याइँका लागि जे मन लाग्यो त्यही बोल्दा देश नै अप्ठेरो अवस्थामा पुगेको बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले कांग्रेस केन्द्रीय सदस्य गुरु बरालसँग गरेको कुराकानीको सम्पादित अंश ।

नेपाली राजनीतिक नेतृत्व सत्तामा पुग्नेबित्तिकै किन भारत भ्रमणमा जान यति मरिहत्ते गर्छन् ?

हाम्रो सवै हिसाबले नजिकको छिमेकी, मित्र राष्ट्र भारतको भ्रमण नेपालमा नयाँ प्रधानमन्त्री बन्ने बित्तिकै जाने प्रचलन रहेको छ । भ्रमण पछि के उपलव्धि भयो भन्ने कुरा पनि हो । खासमा यो भ्रमण सौहाद्र्रतापूर्ण भ्रमण हो । हामीले यो भ्रमणबाट कति ल्यायौं, कति दियौंभन्दा पनि यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयत्न गरेको छ ।

हामीले ऊर्जामा जुन खालको  सहमति र सम्झौता गरेका छौं, बंगलादेशसँगको विद्युत् व्यापारका प्रगतिहरू भएका छन् । अझ मैले त कृषि उत्पादन बढाउनका लागि भारतले जुन खालको ‘ब्रिड’ मुर्रा राँगा उपहार दिएको छ त्यसलाई अझ महत्वपूर्ण उपलब्धिको रूपमा हेरेको छु । त्यसैले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण समग्ररूपमा उपलब्धिपूर्ण र सार्थक भयो । हामीले यसलाई राम्रोसँग लान सक्यौं भने, सुव्यस्थित र संयमित र कूटनैतिक तरिकाले यसलाई परिणत गर्न सक्यौं भने यसले हाम्रो दिन चर्यामा परिवर्तन गर्न सक्छ । मुलुकको अवस्थालाई सुधार गर्न सक्छ ।

नेपाल भारत सम्बन्ध पूरै सुधार भयो त यो भ्रमणले ?

सम्बन्ध भनेको कूटनीति पनि हो । कूटनीति भनेको एउटै भ्रमणमा एउटै निर्णयमा सम्बन्ध सुध्रने र बिग्रने भएको छैन । वरु बिग्रने हुन सक्छ । कूटनैतिक सुझबुझको कमीका कारण बिग्रिने हुन सक्छ तर सम्बन्ध एउटै भ्रमणबाट सबै ठीक हुन्छ भन्ने होइन । तर, जे भएको छ राम्रो भएको छ ।  जे भएको छ त्यो मुलुकको हितमा भएको छ ।

सदन र सडकमा त अहिले प्रचण्डले भारत भ्रमण गरेर गलत गरे भन्ने भाष्य स्थापित गर्न खोजिया छ त ?

संसदीय व्यवस्था संसारकै उत्कृष्ट व्यवस्था हो । तर नेपालको संसद्मा जुन खालका भद्दा मजाकहरू हुने गरेका छन्, जसरी विषयवस्तुको गाम्र्भीयतालाई नबुझिकन, त्यसका परिणामलाई नबुुझिकन त्यहाँ बोल्दाका विषयहरूलाई के कसरी अगाडि बढाउने भनेर संसद्मा प्रश्नहरू गर्ने, प्रतिप्रश्न गर्ने खालको जुन भद्दा मजाक भइराख्या छ, यसले संसदीय व्यवस्था र लोकतन्त्रको उपहास गरिरहेको छ । एउटा नेता ४–४ घण्टा बोल्नुहुन्छ । मुलुकको प्रधानमन्त्रीले जवाफ दिँदै गरेको अवस्थामा बीचमा उठेर प्रतिप्रश्न गरिएको छ ।  संसद्भित्र लगाउने ड्रेसदेखि बोल्ने शब्दका समेत मर्यादा छन् । ती सारा कुरालाई कुल्चिएर यो व्यवस्थालाई मजाक उडाउने यो व्यवस्थालाई कमजोर बनाउने, संसद्को हुर्मत लिने खालको प्रयत्न भएको छ ।  यो दुःखद् कुरा हो । यो प्रक्रियाले हामीलाई अग्र गतिमा पुर्‍याउँदैन ।

संसद् त कुनै क्याम्पसमा अखिल र नेविसंघको जस्तो देखियो, त्यहाँ क्याम्पस प्रमुख सभामुखको भूमिका प्रभावकारी देखियो त ?

सभामुखको भूमिका भनेको संसद्प्रति र व्यवस्थाप्रति बढी उत्तरदायी हुनुपर्ने अवस्था त छँदै छ । तर, विद्यार्थी पनि त अराजक हुन भएन नि । विद्यार्थी पनि अनुशासित र मर्यादित हुनु पर्‍यो नि । अहिलेको संसद्मा सबै कुराको तालमेल मिल्यो । सभामुख पनि संसदीय मूल्य मान्यताभित्र पूर्णरूपमा बस्न सक्नु भएको छैन जस्तो देखिन्छ । विद्यार्थीहरू पनि  संसद् के हो,  संसदीय पद्धति के हो, भनेर नबुझेका अबुझ त नभनौं, तर यसलाई उपहासमा लगेर जतिसक्दो संसद्लाई बदनाम गराउने कुरामा प्रयत्नशील हुन् कि ? प्रतिपक्ष नेताको पनि त्यस्तै गति देखिएको छ । र सत्तापक्ष पनि यसलाई मर्यादित बनाउने कुरामा नजमेको आम रूपमा हामीले पाएका छौं ।

२ वटा नदी भारतको जिम्मा लगाएर १५ वटा मुर्रा रांगा लिएर आउनु भयो प्रतिपक्षले त्यही भन्छ ?

बंगलादेशसँगको बाटोको विषयमा प्रधानमन्त्री प्रचण्ड र भारतीय अधिकारीले छलफल भएको छैन भनिसकेपछि यो विषय सकियो । संसद्मा जसरी आशंकाकै भरमा आधिकारिकता नभइकन जसरी टीकाटिप्पणी गर्ने कुरा छ नि । यो नै हाम्रो दुर्भाग्य भयो । यथार्थ के हो भने, हामीसँग ऊर्जाको स्रोत राम्रो छ । हामीसँग ग्रिन इनर्जी छ । केही वर्षपछि हामीले निकालेको बिजुली पनि महँगो पर्न सक्छ । नदीको पानी पनि बगेर जाने त तलै हो । त्यसैले अहिले दुई वटा नदीको पानीबाट बिजुली उत्पादन गरेर भारत लैजाने अनि केही वर्षपछि नेपाललाई आयोजना हस्तान्तरण गर्ने हो भने राम्रो हो । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा जाँदाखेरि भारतसँग एक—एक वर्षको विद्युत् व्यापार सम्झौता थियो । अहिले एकै पटक २५ वर्षका लागि सम्झौता गरौं भनेर तयारीहरू भइरहेका छन् । यो त उपलब्धि हो । खाली नकारात्मकताबाट मात्रै नहेरौं ।

सरकारले आफूले गरेका कामको मार्केटिङ गर्न सकेन ?

मार्केटिङको पनि एउटा कुरा होला ।  तर समाजमा जसरी प्रश्न उठाउने गरिएको छ नि, हरेक कुराहरू नकारात्मक बिन्दुबाट उठाउने गरिएको छ । अहिले मुर्रा राँगाको कुरा खुबै गरिएको छ । मुर्रा राँगालाई जोक बनाउन जरुरी नै छैन । किनभने यो हाम्रा छिमेकीलाई मन दुखाउने कुरा हो ।  जेपी  गुप्ताले सामाजिक सञ्जालमै लेख्नु भएको छ, म कृषि मन्त्री हुँदा मैले अत्यन्त धेरै अनुनय विनय गरेँ कि २५ वटा मुर्रा राँगा हामीलाई बेच्नुस् परेको जति पनि मूल्य तिर्न तयार छौं भन्नु भएको छ । त्यसरी माग्दा १२–१४ वर्षअघि नै हामीले नपाएको अवस्था हो । संसारभरि यो जातको मुर्रा राँगा दूधका लागि भारतसँग अति ठूलो माग छ । तर, सबैले प्राप्त गरेका छैनन् । हामीले उपहारमै पायौं यसका लागि त हामीले भारतलाई धन्यवाद नै दिनुपर्ने विषय हो ।  भैंसी चढेर प्रधानमन्त्री आयो भनेर संसद्मा भद्दा मजाक गर्नु त राम्रो भएन नि । त्यसैले हामी संयमित भएर प्रस्तुत होऔं । हामी पूरै विषय बुझेरमात्रै प्रस्तुत हुनुपर्छ । बुझेर र संयमित रूपमा प्रस्तुत नहुँदा भद्दा मजाक उठाउँदा अनावश्यक टिप्पणी गर्दा हाम्रो समाजमा नकारात्मकता त फैलिएकै छ, जोसँग हामीले सम्झौता गर्‍यौं उसको पनि मन चिसो हुन्छ । भारत खर्बौ रुपैयाँ बिजुलीमा लगानी गर्न तयार छ, उसलाई हामीले मजाकमा उडाइरहेका छौं ।

सीमा विवादको कुरा चलिराख्या बेला फेरि नक्साको कुरा आयो होइन ?

हो । हाम्रो अहिले पनि सीमाको विषयमा समस्या छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्या समाधान गर्ने कुरा पनि गर्नु भएको छ । तर अहिले ग्रेटर नेपालको नक्सा राख्ने होडबाजी जस्तो पनि देखिएको छ । यसमा मैले षडयन्त्रको रूपमा बुझेको छु । भारतले हामीले व्यापारदेखि लगानीसम्मका सम्झौता गरेको छ । त्यो सम्झौता गरेर प्रधानमन्त्रीको टिम काठमाडौं फर्किएको एक हप्ता पनि नहुँदै हामी फेरि नयाँ खालका विवाद, नयाँ खालका मन चिढ्याउने  खालका कुराहरू सरकारी अधिकारीहरूबाट, नेपाली कांग्रेसका जिम्मेवार पदाधिकारीबाट जसरी कुरा आयो नि, यो कुराले मलाई के शंका भएको छ भने,  यिनीहरू नेपाली हुन् कि को हुन् ? यिनीहरू राष्ट्रवादी हुन् त ? यिनीहरू नेपालको समृद्धि चाहन्छन् त ? प्रश्न उठ्यो नि । हामी बिजुली बेचेर धनी हुने कुरा गरिरहेका छौं । हामी भारतमा मात्रै होइन, बंगलादेशमा पनि बिजुली बेच्ने कुरा गरिरहेका छौं । त्यसैले यतिबेला ती सम्झौताहरू भाँड्नका लागि अहिले भइरहेका खेलहरू पनि हुन् कि भन्ने प्रश्न गर्ने ठाउँ छ ।

भारतले संसद् भवनमा राखेको भित्ते चित्रको बारेमा बोल्न त जरुरी थियो नि ?

भारतले त स्पष्टीकरण दिइसकेको छ ।  भारतले त्यो नक्सालाई सांस्कृतिक भनेको छ ।  हिजो त न भारत थियो न नेपाल थियो  ।  हामी संसारको पुरानो देशहरूमध्ये हौं ।  कूटनीतिका विषयमा यस्ता सानासाना विषयमा घोची राख्ने हो भने सम्बन्ध झन् असहज बन्छ ।  त्यसैले जिम्मेवारीमा बस्ने साथीहरूले जिम्मेवारपूर्ण तरिकाले प्रस्तुत हुन पर्‍यो ।

अहिले राखिएको ग्रेटर नेपालको नक्सालाई हामीले पनि सांस्कृतिक भनेर मान्यता दिए हुँदैन ?

त्यो गरे भइगयो त । एक जना मित्रले सामाजिक सञ्जालमा ग्रेटर नेपाल लागू गरौं भनेर लेखेको देखे । त्यो ग्रेटर नेपालभित्र त ५–७ करोड भारतीयहरू बस्छन् । हामी त ३ करोड पुग नपुग हौं ।  ५–७ करोड अहिलेका भारतीयहरू यहाँ बस्दाखेरि भोलि नेपाल रहन्छ त ? त्यता सोच्ने कि नसोच्ने ।  अनि नक्सा टाँस गर्ने, भाषण गर्ने साथीहरू नेपाली हुन् की भारतीय हुन् ? प्रश्न गर्नुपर्छ हामीले ।

अहिलेको राजनीति भनेको ‘पब्लिक कन्जमसन’ मा केन्द्रित छ है ?

अहिले सबैभन्दा ठूलो दुर्भाग्य नेपालमा यो भयो । लोकरिज्याइँका लागि जसरी प्रस्तुत हुन खोजियो, यसरी प्रस्तुत हुँदा मुलुक र समाज कहाँ पुग्छ अनि मेरो देश र व्यवस्थाको अवस्था के हुन्छ भन्ने कुरा नसोचेर जिम्मेवार व्यक्तिहरू पनि यस्ता कुरामा लागेको देख्दा दुःख लाग्छ । त्यसैले अहिलेको अवस्थामा नकरात्मकतालाई त्यागेर सवै सकारात्मकता तर्फ लाग्नुपर्छ । अहिले मेरो पार्टी तेरो पार्टी भनेर भन्दा पनि सबै मिलेर देशको भलो हुने काम गर्न जरुरी छ । एकले अर्कालाई खुल्याएर कोही पनि कहीँ पुगिँदैन ।

अहिलेको बजेट कस्तो आयो ?

हामी अहिले आर्थिक संकटमा छौं । अहिलेको बजेटका सबै कुरा खराब छैनन् । राम्रा पनि छन् । अर्थमन्त्रीले अहिलेको बजेट अत्यन्त संयमित भएर र मितव्ययी भएर ल्याउने प्रयत्न गर्नु भएको छ । गर्दै गर्दा पनि राज्यको स्रोतसाधन र करका प्रणाली खर्च गर्नुपर्ने मागको असीमितताहरूका बाध्यता पनि त छन् मुलुकमा । ती बाध्यताका बीचमा जे आइरहेको छ, यो राम्रो बजेट आएको छ । यो बजेटलाई जतिसक्दो सार्थक कार्यान्वयन गर्नको लागि सरकार संसद् सबै मिलेर पारदर्शी तरिकाले अघि बढ्नु पर्छ ।

बजेटले अहिलेको समस्या समाधान गर्छ ?

आजको भोलि कसैले पनि समस्या समाधान गर्न सक्दैन । तर यसले राम्रा संकेतहरू दिने गरेको छ । खर्चलाई कसरी हुन्छ कटौती गर्न सकिन्छ कि भन्ने छ । र अब कतिपय करका प्रणालीमा हामीले नयाँ स्रोतहरू खोजेनौं । भइरहेका केही ठाउँमा हेराफेरि गरेनौं भने मुलुक पनि त चल्दैन नि ।  मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउने भनेको रेमिट्यान्स र कर प्रणालीकै माध्यम त हो ।  तर, व्यापार नै छैन भने ब्यवसायीले कसरी कर तिर्ने ? उत्पादन नै  छैन भने उपभोक्ताले कसरी खरिद गर्छ ? अनि बजारमा पुँजी पनि छैन । त्यसैले अहिले देश आर्थिक संकटमा छ ।  त्यसैले सबै संयमित भएर अहिलेको आर्थिक संकट टार्नका लागि लाग्नु पर्छ । एउटा सरकार र अर्थमन्त्रीले मात्रै सवै गर्न सक्दैन ।

वितरणमुखी बजेटका कारण अहिलेको अवस्था आएको हो त ?

केही समस्या छ । विगतमा कुनै एउटा दलले  सामाजिक सुरक्षा भत्ताको सुरुआत गर्‍यो । हेर्दा राम्रो थियो । अहिले यो विषय यति ठूलो समस्याका बीचमा पर्‍यो कि, त्यो हटाउन पनि सक्दैन सरकारले । प्रत्येक वर्ष बढाउनु पर्ने वाध्यता छ । त्यो स्रोत कहाँबाट ल्याउने हो । त्यो स्रोत सुनिश्चितता नभएका वितरणमुखी बजेट ल्याउँदा हामीलाई समस्या बनायो । यतिमात्र होइन नि, भन्दा तीतो हुन्छ, चिकित्सा क्षेत्र सुधारका लागि डा. गोविन्द केसीले आन्दोलन गर्नुभयो । उहाँको आन्दोलन राम्रो थियो केही राम्रा कुराहरू पनि आए । तर, अहिले यो मुलुकमा १२ कक्षा पास गरेपछि अध्ययन गर्ने विद्यार्थी नै पाइन छाडे । अहिले विदेश पढ्न जानेको लर्को नै लागेको छ । विगत ५ वर्ष अगाडि निकै राम्रो थियो । त्यसको परिणामले नेपालका कलेजहरू बन्द हुने अवस्थामा पुगे । नर्सिङ कलेज खुलेकै छैन । एमबीबीएसका कोटा काटिएका छन् । अरु टेक्निकल विषयमा कोटा काटिएका छन् । विद्यार्थीले पढ्ने ठाउँ पाएका छैनन् । त्यसैले नेपाली विद्यार्थीहरू एमबीबीएस पढ्न बंगलादेश, चीन, भारत जाने बाध्यतामा छन् । नर्सिङ कलेजहरूको अवस्था पनि त्यस्तै छ । अहिले १२ पास गरेका छोरीहरू अस्ट्रेलिया युरोपलगायतका ठाउँमा पुगिरहेका छन् । अझ भारतले नेपालको सीमा नजिकका सहरहरूमा नर्सिङ कलेज खोलेको छ त्यहाँ गएर पनि धेरैले पढिरहेका छन् । विगतमा गोविन्द केसीको आन्दोलनका कारण आवेग र उत्तेजनामा आएर नर्सिङ कलेजहरू पनि बन्द हुन पुगे । त्यसैले अहिले नवजवानहरू नेपालमा पढ्न तयार नै छैनन् । मेरो कुरा के हो भने हिजो  एउटा कुराको मागलाई देश उल्टिएर समर्थन गर्‍यो । त्यसको परिणाम हिसाब गरेनन्, त्यसैले अहिले विद्यालय तथा कलेजहरू बन्द हुने अवस्थामा पुगे ।

सरकारले राम्रो काम गरेको छ त ?

संसद्को गणित पनि त्यस्तै छ । यो गणितले पनि सरकार कसरी टिकाउने भन्नमै केन्द्रित हुनुपर्ने अवस्था छ । ६ महिनामा २ पटक त प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु परेको छ । हामीले सरकारमा बस्ने साथीहरूलाई सचेत गराएको कुरा के हो भने सरकारमा बसुन्जेल जनजीविकाका कुराहरूलाई ख्याल गरेर काम गर्नुस् भन्ने हो ।  धेरैभन्दा धेरै जनताले सुविधा पाउनु पर्छ भन्ने कुरामा नै हामीले सचेत गराएका छौं । माग असीमित छन्, सरकारले डेलिभरी दिन सकेको छैन । महँगी बढेको छ, अस्तव्यस्तता छ । यी कुरालाई सरकारले करेक्सन गरेर लानुपर्छ । नत्र भने सरकार छ छैन भन्ने कुराको अनुभूति हुँदैन । मेरो पार्टीको होस् वा अर्को पार्टीको सरकार होस् जो भए पनि कर्तव्यनिष्ठ भएर काम गर्न जरुरी छ ।

अहिले नेपाली कांग्रेस पार्टी ठीकठाक छ ?

पार्टी अहिले अलिअलि बिसन्चो छ । समयमै नेपाली कांग्रेसका गतिविधिहरू अघि बढ्न सकेका छैनन्, त्यो सत्य हो । दुई चरणमा चुनाव पनि सकियो, अनि राष्ट्रपतिको चुनाव, कहिले के कहिले के भन्दै हामी अल्झिएका छौं । अब चाँडै केन्द्रीय समितिको बैठक बोलाएर भ्रातृ संस्थाहरू विभागलाई पूर्णता दिन जरुरी छ । केही सुरुआत भएको छ तर पूर्ण भइसकेको छैन । हामीले गर्छौं गर्छौं भनेर पनि गर्न नसक्दा केही असहज अवस्था पार्टीभित्र देखिएको छ । पार्टीको मर्यादामा बसेपछि मन दुखेपछि त्यही पार्टीको फोरमा बोल्नुपर्छ । केन्द्रीय समितिको बैठक ८ महिनादेखि बस्न सकेको छैन । कार्यसम्पादनको बैठक त बसिरहेको छ । मैले के देखेको छु भने केही हाम्रा साथीहरू केन्द्रीय समितिमा चुइँक्क पनि नबोल्ने जे प्रस्ताव ल्यायो  समर्थन गर्ने अनि बाहिर आएर मैले यो भने यस्तो भनेर गफ दिने चलन बढेको छ । पदाधिकारीहरू नै यसरी प्रस्तुत हुँदा पार्टीलाई त राम्रो गर्दैन ।

अहिले चर्चामा रहेको रूपान्तरण अभियानप्रति तपाईंको धारणा के हो ?

रूपान्तरणको अभियानमा केही साथीहरू हिँड्नु भएको छ त्यो ठीकै छ । तर, कुरा के हो भने, पहिला आफू रूपान्तरित हुनु पर्‍यो । मैले फलानोको सर्ट फोहोर छ भनेर औल्याउँदा पहिला आफूले लगाएको सर्ट कति सफा छ भन्ने कुरा बुझ्न जरुरी छ । रूपान्तरणमा हिँड्नु भएका साथीहरू हुनुहुन्छ । हिजो उहाँहरू पार्टीको जिम्मेवारीमा पनि हुनुहुन्थ्यो, पटकपटक अवसर पनि पाउनु भएको हो । पार्टी हाँक्ने उहाँहरूको पनि जिम्मा हो । तर, नेतृत्वलाई खुइल्याउँछु भनेर कांग्रेसलाई खुइल्याउँछु भनेर खुइलिएको कांग्रेसभित्र म ठूलो मान्छे हुन्छु भनेर कल्पना कसैले पनि नगरे हुन्छ ।