देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडी र सिन्धुलिको दुर्घटना १० जनाको मृत्यु

बैतडीमै बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

देशान्तर

बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेकमा गयराति भएको जीप दुर्घटना परि ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

जीपमा सवार अन्य पाँच जना सकुशल रहेका छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

त्यस्तै  बैतडीमै बालुवाको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको हो । सोही स्थानका ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको हो ।

अर्का घाइते ४२ वर्षीय सङ्ग्रामसिंह धामीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल रहेको प्रहरिले जनाएको छ ।

यसैविच  बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गएराति भएको सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ ल्याइदै छ । कारमा पाँच जना सवार रहेको प्रहरिले जनाएको छ । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिनुभयो । मृतक चारै जना पुरुष रहेका छन् ।

राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको छ । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताउनु भयो । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।