देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयोः महामन्त्री थापा

’कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन’

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको पछिल्लो राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भएको बताएका छन् । शनिबार रामकृष्ण भण्डारीले लेखेको ’सत्ता संघर्ष: ३० वर्षमा २८ सरकारका नालिबेली’ पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा उनले सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको आरोप लगाएका हुन् ।

थापाले राजनीतिको नेतृत्व परिवर्तन हुन नसक्दा समस्या उत्पन्न भएको बताए । ’नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयो । आइतबार एउटा भूतपूर्वले अर्कोलाई पछार्नु भयो । सोमबार अर्को भूतपूर्वले अर्कोलाई । मंसिर ४ देखि यहाँसम्म आइपुग्दा कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्यो भन्ने मात्रै देखिन्छ,’ उनले भने ।

पार्टी सत्तामाथि नेताहरूले कब्जा जमाएर बसेको र नीति नमान्ने भएकाले समस्या भइरहेको थापाको भनाइ छ । राजनीति सत्ताका लागि हो भनिने तर प्रश्न सत्ता केका लागि भन्ने स्पष्ट नभएको उनको भनाइ छ । महाकालीदेखि एमसीसीसम्म सत्ता प्राप्तिका लागि उचालेको तर सत्ता पाएपछि ती विषयलाई व्याख्यात्मक टिप्पणीको आड लिएको उनको टिप्पणी छ ।

बहुदलीय र संसदीय व्यवस्था नियमभित्र खेल्नुपर्ने थापाको भनाइ छ । संस्था बलियो बनाउन चुक्दा पनि प्रणालीले ठिक काम नगरेको उनको भनाइ छ । मुलुकको राजनीतिक अवस्था छिनछिनमा बदलिइरहेको भन्दै थापाले भने, ’कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन ।’