देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, सत्ता बाँडफाँटका विषयमा छलफल

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामी माघ ५ गते प्रतिनिधि सभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

विश्वासको मत पाएको ५ दिनसम्म पनि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैन । उनले तीन जनाबाहेक अरू मन्त्रीलाई जिम्मेवारीसमेत दिएका छैन ।

सरकारलाई विश्वासको मत दिएको कांग्रेसले प्रतिपक्षमा बस्ने बताएको छ भने एकीकृत समाजवादी र लोसपाले प्रतिपक्षमा बस्नेबारे ठोस निर्णय गरिसकेका छैनन् ।