देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुन्छ : राष्ट्र बैंक

देशान्तर

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै लगानी गरे कारबाही हुने चेतावनी दिएको छ ।

विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराउँदै राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैलई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेत गराएको हो ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने जनाएको हो ।

यसैबीच,नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् रू दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोल मार्फत् रू ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् रू २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल रू ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् रू २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो ।