देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिको र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दियौं : शेखर कोइराला

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका हुन् ।

‘म सभामुख उपसभामुखको कुरा गरिरहेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छन् । ती निर्वाचनमा हामीहरु उम्मेदवारी दिन्छौं’ उनले भने, ‘‘राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’

नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए । ‘हामीले आफ्नो उम्मेदवार दिंदा सहयोग हुन्छ कि भन्ने सोच त बनाउँछ नि पार्टीले’ उनले भने ।

तर, नेपाली कांग्रेस सत्तामा नभई प्रतिपक्षमा नै बस्ने उनले बताएका छन् । र, प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने पनि उनले बताए ।