देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार आजबाट सुरु

देशान्तर

काठमाडौँ – प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार आजबाट सुरु भएको छ ।

दुई बैंक एकआपसमा गाभिएपछि प्रभु बैंकका नामबाट एकीकृत कारोबार हुनेछ । यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकको एकीकृत कारोबार शुरु भएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९) को विनियम ११ को उप–विनियम (७) बमोजिम रहेको जनाएको छ ।

दुवै बैंकबीच एक बराबर एक अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीइओमा सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने बन्नेछन् । सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंक नै रहनेछ । प्राप्तिपश्चात् बैंकको केन्द्रीय कार्यालय हालको प्रभु बैंकको केन्द्रीय कार्यालय रहेको स्थान, बबरमहल, काठमाडौंमै रहनेछ ।

प्रभु बैंकले यस वर्ष ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । बोनसपछि बैंकको चुक्तापूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार पुग्नेछ । त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ । बोनसपछि सेञ्चुुरीको चुक्तापूँजी १० अर्ब ७७ लाख १९ हजार पुग्नेछ ।

दुवै बैंकले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ ।