देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल टेलिकमले छिट्टै फाइभजी परीक्षण गर्छ : सञ्चारसचिव

देशान्तर

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकमले फाइभजी परीक्षण छिट्टै गर्ने बताएका छन्।

हुवावेले आयोजना गरेको अनलिस डिजिटल हुवावे कनेक्ट २०२२ मा बोल्दै उनले नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई परीक्षण गर्न अनुमति दिएकाले परीक्षण सफल भएपछि विस्तार गर्ने निर्णय हुने बताए। उनले नेपालले समयमै अपग्रेड गर्न नसके विदेशमा ६ जी प्रयोगमा आउँदा फाइभजी परीक्षणकै चरणमा रहने बताए।

सर्वसाधारणलाई पुर्‍याउने प्रविधि सेवा सबैले प्रयोग गर्न सक्ने खालको हुनुपर्ने उनको भनाइ थियो। अर्यालले डिजिटल प्रविधिको प्रयोगका लागि सरकारको क्षमता पनि हेर्नुपर्ने बताए। क्षमता विकासको लागि पनि हुवावेसँग सहकार्य आवश्यक रहेको उनले बताए। अर्यालले हुवावेलाई डिजिटल पूर्वधार विकासमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।

नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्सियल काउन्सिलर जीयुले अघिल्लो वर्ष २९ प्रतिशत वैदेशिक लगानी गरेको बताए। उनले नेपालका विभिन्न क्षेत्रमा सहकार्य गर्दै अघि बढिरहेको बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले १२९ प्रतिशत टेलिफोन प्रयोगकर्ता रहेको बताए।

फोरजी ९० प्रतिशतकोमा पुगेकाले अब विश्वव्यापी गुणस्तरमा ध्यान दिने बताए । हुवावे एसिया प्यासिफिक इन्टरप्राइजेज बिजनेस ग्रुपका अध्यक्ष निकोलस माले एसिया प्यासिफिक क्षेत्रले विश्वको प्रविधि क्षेत्रमा नेतृत्व गरेको दाबी गरे।

उनले यो क्षेत्र डिजिटल ट्रान्सफर्मेसनमा अघि बढ्दै गएको बताए। पछिल्ला केही वर्षमा नेपाल प्रविधि क्षेत्रमा अघि बढेको बताउँदै माले ४० लाख टेलिफोन प्रयोगकर्ता रहेको र इन्टरनेट प्रयोग बढ्दै गएको बताए।

हुवावेले विद्यार्थी र शिक्षकको क्षमता विकासको लागि मात्रै काम गरेको उनले उल्लेख गरे । कार्यक्रममा डिसहोमका सञ्चालक हेमराज ढकालले २ लाख बढी इन्टरनेट ग्राहक पुगेको बताएका थिए।

अर्थतन्त्र विकासका लागि डिजिटल कनेक्टिभिटी अत्यावश्यक हुँदै गएको उनको भनाइ थियो।