देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्याय नपाए गोर्खा जानू, भोट नपाए नोटले किन्नू


ऊ बेलाँ न्याय नपाए गोर्खा जानू भन्ने उक्ति त्यसै चलेको होइन रैछ । ढिकुरपोखरीतिरका छविलालले जनतालाई न्याय दिलाउनका लागि गोरखाकै भीमोदयतिर शिक्षा दिए जस्तै गरेका थिए । तर उनले भने जस्तो गोर्खाका जनले न्याय पाउन सकेनन् ।

गोर्खाबाट राज्य एकीकरण गरेको पृथ्वीले त न्याय नपाएका बेला छविलालको शिक्षा न्याय पाउँछु भन्नु मूर्खता पनि हो । आजकल त्यही भएर न्यायालयतिर तराजु झुन्ड्याएको मूर्तिका वरपर हुने गरेको चर्तिकला देखेर गरुडका बैरी पनि पुर्पुरोमा हात राखेर बस्या छन् ।

नवसुन पनि किन न्याय खोज्दाखोज्दै पृथ्वीकै सालिक मुन्तिर धाको पनि बर्षौं भइसक्यो । बैरीको एउटा पुस्ता नै त्यही सालिक मुन्तिर आउजाउ गर्दा गर्दै खिइसक्यो ।
पृथ्वीको सालिक मुन्तिरका न्यायमूर्ति भन्नेले त न्याय पाएको ठाउँमा बैरीले न्याय पाइन भन्दै पुर्पुरोमा हात लगाउनु ठूलो कुरा पनि भएन । त्यसमाथि झुन्डतन्त्रमा हालिमुहाली गर्ने भनेकै झुन्डहरूले नै हो । पहिलेपहिले मण्डलेहरूले गर्ने काम आजकल झुन्डहरूले गरिरहेका छन् ।

‘काम गर्ने कालु मकै खाने भालु’ भनेको झझल्को बैरीलाई आइनै रहँदो रैछ । किनकि भीमोदयबाट न्याय नपाएपछि चितवनतिर झरेर धनयुद्ध गरेका छविलाई त न्याय माग्न गोर्खातिर हान्निनु परेको बेलाँ, बैरीले ङ्यार ङ्यार गरेर हुन्छ ?

कहिले रुकुम बक्सियोस् हजुर रोल्पा बक्सियोस्, कीर्तिपुर र तराईमा चितवन बक्सियोस् भन्दै हिँडे । तर चितवनतिर गैंडाको कानमा झुन्ड्याइएको घण्टीले ट्वाङट्वाङ पार्दै लखेट्ने अवस्था आएपछि हारगुहार गर्दै न्यायका लागि गोर्खातिर दौडिनु परेको अवस्था ताजै छ । विचरा छविलालको हविगत देखेर पनि बैरीलाई कहिलेकाहीँ दया लाग्ने रहेछ । त्यही भएर होला बैरीको गन्थन पनि बेग्लै छ । १७ हजारलाई चिलिम फर्काएर पनि न्याय खोज्न गोर्खा पुग्नुपर्ने अवस्था त्यसै आको हो र ? चारमहिने घण्टीको हाउगुजीमा छविलाललाई पारियो ।

न्यायका लागि गोर्खा नै पुग्नु पर्‍यो । भोटका लागि ‘नोट’ कुर्नु नै प¥यो । कसैलाई नोटको चिन्ता कसैलाई भोटको चिन्ता । भोट हुनेलाई नोटको आवश्यकता, नोट हुनेलाई भोटको आवश्यकता । त्यही भएर पनि होला छविलाल जस्ता व्यक्तिलाई ‘कमाउनिस्ट’ बनाउनका लागि खड्गप्रसाद र खड्गप्रसादहरूलाई नोट चढाउनका लागि मोती मस्त । देउवालाई ढेउवा चढाउने काममा वसन्तहरू । यत्ति भएपछि न्याय खोज्ने छविलाललाई गोर्खा नगएर सुख हुन्छ त ?

हिजो न्यायका लागि लड्ने, जनको लागि भन्दै लाजनीति गर्नेहरू शक्ति आर्जन गर्न थाले । धनार्जनहरूसँग भएको शक्तिलाई नोटमा रूपान्तरण गर्नका लागि हिजो नोटले शक्ति पाएकाहरूलाई अहिले जबर्जस्त भोटले शक्तिका ल्याउने काम भयो । आखिर जनता जनार्दन भन्दै न्यायलाई भोटमा, भोटलाई नोटमा रूपान्तरण गरेर नयाँ नेपाल निर्माण हुँदैछ ।

मंसिरको डण्डीमा घण्टी बजाउँदै हलो जोत्न हिँडेको एक हुल आजकल बर्तनी तराउने अभियानमा जुटेका छन् । १७ हजारको श्राद्ध गर्ने भन्दै धनार्जनहरू बैरी बाहुनसँग जोखाना हेर्दै छन् । बैरी बाहुनले जोखाना हेर्नु र गोरुको गर्धनमा घण्टी झुन्ड्याएर हलो जोत्न जानु उही छविलाल न्याय खोज्न गोर्खा गए जस्तै हो ।

‘काम कुरो एकातिर कुम्लो बोकी बालकोटतिर’ भने जस्तै भएको छ अहिले बैरीलाई । कोटेश्वरका काइलाँ बाजे खुमलटार हुँदै बालुवाटार पुग्दासम्म पनि आफ्नो नाम निसानै नभेटिए पनि भगवान्सँग होलिवाइनको चर्चा गर्न बैरीले त्यसै अह्राएको होइन क्यार ।

होलिवाइनसँग साटिएको जिन्दगीमा नोटको गुजुल्टोले शक्ति पाउनेले त पाइहाले नि । त्यसै छविलाल न्याय खोज्न गोर्खातिर गाका हुन् र । नवलपरासीमा गएर वसन्त श्रवण गर्दै नोटलाई भोटमा परिणत गर्न पनि त निकै सकस छ थियो नि !
संघीय गाँढतन्त्रमा नयाँ चिरफार नेपाल बनाउने हो भने अबका कार्यकर्ताहरूले विचारलाई मिची, सिद्धान्तलाई थिची आधुनिक दासत्वलाई स्वीकार गरेर, भोटलाई नोटमा रूपान्तरण गर्दै न्याय खोज्न गोर्खातिर जानू ।