देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील

देशान्तर

बैतडी – मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ। यहाँ रहेका एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो।

सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो। जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ।

विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण गरिरहेको छ। मतदान स्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइरहेको हो। जिल्लाका १० स्थानीय तहमा रहेको मतदान स्थलको अनुगमन गरिएको छ।

मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको जनाएको छ। सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको कामसमेत भइरहेको छ।

दश स्थानीय तह रहेको बैतडीमा दुई सय १० मतदान केन्द्र छन्। जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचार–प्रसारमा पनि तीव्रता दिएका छन्। रासस