देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवौँ राष्ट्रिय खेलकुद : करातेको स्वर्ण एपिएफ र पुलिसलाई

देशान्तर

पर्वत– नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पर्वतको कुश्मामा भइरहेको करातेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ । शनिबार अबेर सम्पन्न भएको पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वर्णिम मानन्धरले स्वर्ण पदक हात पारेका छन्।

बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं १ का आशिष मगर र नेपाल प्रहरीका महसुस तामाङले कास्य पदक हात पारेका हुन् ।

त्यस्तै महिला एकल कातातर्फ नेपाल प्रहरीका चन्चला दनुवारले स्वर्ण, नेपाली सेनाका सङ्गीता मगरले रजत, कर्णाली प्रदेशका एलिसा रास्कोटी र सुदूरपश्चिम प्रदेशका वर्षा साउदले कास्य पदक हात पारेका छन्। पुरुष समूह काता र महिला समूह काताका प्रतियोगिता भने शनिबार साँझसम्म सम्पन्न हुने राष्ट्रिय कराते महासङ्घका प्रचार प्रमुख गजेन्द्र खपाङ्गीले जानकारी दिए। उनका अनुसार आज बिहान ८ बजेदेखि अन्य प्रतिस्पर्धाअन्तर्गतका प्रतियोगिता हुनेछन्।

यसमा महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ केजी, र पुरुष ८४ केजीभन्दा माथिको तौल समूह गरी चारवटा खेल हुनेछन्। यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछन्।

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजीभन्दा तल र पुरुष ८४ केजीभन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । यी विधाको सेमिफाइनल र फाइनल खेल सोही दिनको दिउँसो १ बजेपछि खेलाउने तयारी छ। कात्तिक १ गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चारवटा ‘इभेन्ट’ मा खेल हुनेछन् । यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउँसो १ बजेपछि हुनेछन् ।

आउँदो कात्तिक २ गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुनेछन् । टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछन् । करातेका मुख्य सहायक प्रशिक्षक तथा प्रतियोगिताका सदस्य दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश कराते ५३औँ राष्ट्रिय कराते प्रतियोगिता हो ।

महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी कुल १९ ‘इभेन्ट’ मा खेल हुनेछ । ती ‘इभेन्ट’ बाट खेलाडीले ३२ स्वर्ण, ३२ रजत र ६४ कास्य गरी कुल एक सय २८ पदक प्राप्त गर्नेछन् । कराते सात प्रदेश, सेना, सशस्त्र प्रहरी र प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूह दुई सय ९० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।