देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘रंग क्षेत्रमा कमाइको बाटो पहिले नै खोजेर आउनुहोला’

देशान्तर

नेपाली रंगमञ्चमा परिचित नाम हो, सुनील पोखरेल । गुरुकुल नाटकघरमार्फत धेरै नै कलाकार उत्पादन गरेका पोखरेल आफैँमा दक्ष रंगकर्मी हुन् । केही समय गुरुकुल बन्द गरेर निष्क्रिय जस्तै बनेका पोखरेल अहिले फेरि सक्रिय भएका छन् । गुरुकुल नाटकघर फेरि सञ्चालनमा आएको छ । उनी फेरि नयाँ कलाकार उत्पादनमा लागेका छन् । तर नाटकमा आउन चाहनेले कमाइको बाटो भने पहिले नै खोजेर आउनुपर्ने उनको धारणा छ । नाटकमा पैसा नहुने हुँदा जीविकोपार्जनको अन्य उपाय खोज्नुपर्ने उनको भनाइ छ । उनै रंगकर्मी पोखरेलसँग देशान्तरकर्मी शालिक भट्टले गरेको संवादको सम्पादित अंश :

आजभोलि रंगमञ्चको अवस्था कस्तो छ ?
अहिले राम्रोे छ । सबै नाटकघरहरूमा नाटक चलिरहेका छन् ।

कोभिडको समयपछि जुन विकराल अवस्था आयो, थिएटर चल्ला नचल्ला फिल्म हल त नचलेर त्यस्तो भएको छ नाटकमा त झन् दर्शक कम हुने क्षेत्र के होला भन्ने अवस्थाबाट पार हुन के के गर्नुपर्‍यो ?
मलाई के लाग्छ भने जति पनि नाटकहरू थिएटरमा चले ती सबै राम्रा थिए । दर्शकले मन पराउने खालका थिए । अहिले चलिरहेका पनि राम्रो चलेका छन् त्यसले दर्शक ल्यायो होला । नाटकमा हामी धेरै विज्ञापन पनि गर्दैनौं । पैसा हुँदैन पत्रिकामा विज्ञापन गर्दैनौं । दर्शकको कमेन्टबाट नै अन्य थिएटरसम्म आउने हो ।

नाटकको राम्रो प्रदर्शनले नै नाटक फस्टाएको हो त्यसो भए ?

मलाई चाहिँ त्यस्तो लाग्छ । किनभने नेपालको जातीय विविधतामाथि जसरी काम भैराखेको छ । त्यो एउटा गजब भैराखेको छ ।

अलिकति सुरुवाती चरणमा जान चाहे जब तपाईंहरूले नाटकघरको सुरुवात गर्नु भयो यतिले हुँदैन भनेर गुरुकुलको स्थापना गर्नु भयो त्यति बेलाको अवस्था र अहिलेको अवस्थालाई कसरी दाज्नु हुन्छ ?

अहिलेको अवस्थासम्म आइपुग्न गुरुकुलको पनि थोरै हात होला । किनभने संस्थाहरूले आफैँले नाटक बनाउन सक्छन् भनेर चैं गुरुकुलले नै प्रमाणित गरेको हो । सुरुवातको चरणको कुरा गर्ने हो भने हामीले दुई जनामात्रैलाई पनि नाटक देखाएका थियौं । दर्शक सीमित थिए । दुई जनाबाट ११ जना अनि बिस्तारै यसको संख्या बढ्दै गएको छ । र बिस्तारै बढदै गयो । पहिलेको तुलनामा अहिले त धेरै राम्रो भएको छ नि ।नाटक र रंगमञ्चको सीमाले गर्दा धेरैले नाटक र रंगमञ्चको विषयमा थाहा पाएका छैनन् ।

पहिलाको हकमा त धेरै नै सुधार त भएकै छ तर अझै पनि नाटक हेर्ने बानी नेपाली जनतालाई परिसकेको जस्तो लाग्दैन । कतिपय नेपालीलाई नाटक घरको बारेमा अझै पनि थाहा छैन नै थाहा छैन । यसलाई चाहिँ कसरी बुझ्नु भएको छ ?

हामीले मार्केटिङ गर्न सक्दैनौं मुख्य समस्या यही हो । कमर्सियल फिल्मका तुलनामा नाटक पछाडि छ । तर नाटक हेर्न मन लाग्ने मानिसहरू हेर्न आउँछन् । नाटकघरले आफ्नो खर्च उठाइराखेको छ । कलाकारहरूलाई दिनुपर्ने पारिश्रमिक अलिअलि पुगेको छ जस्तो लाग्छ मलाई । नाटक र रंगमञ्चको सीमाले गर्दा धेरैले नाटक र रंगमञ्चको विषयमा थाहा पाएका छैनन् । चलचित्र जहाँ पनि जतिवटा पनि प्रदर्शन गर्न सकिन्छ । तर, नाटकलाई यसरी प्रर्दशन गर्न सकिँदैन । मार्केटिङ गर्न पनि समस्या छ । त्यसका लागि खर्च लाग्छ । त्यो खर्च नाटक निर्माणमा लगाउने कि मार्केटिङमा लगाउने ? यही छ समस्या थोरै स्रोतसाधन छन् । तर, त्यसरी मात्र हेर्न हुँदैन पहिले भन्दा अहिलेको अवस्था थेरै राम्रो छ । विभिन्न पत्रिकाहरूले समाचार लेख्छन् । माउथ टु माउथ पब्लिसिटी भइरहेका छन् । यसले गर्दा अहिले चैँ अलि सहज भएको छ । नाटकमा फिल्ममा जस्तो करोडौं लगानी गर्ने निर्माता आउँदैन हामीले पनि गर्न सक्दैनौं ।

पछिल्लो समय नाटक खेल्यो भने फिल्म खेल्न पाइन्छ भन्ने सोचका साथ रंगमञ्चमा पाइला टेक्नेहरूको संख्या बढ्दो छ । यसलाई कसरी हेर्नु भएको छ ?

यसलाई दुई तरिकाबाट लिन सकिन्छ । थिएटरबाटै फिल्ममा गएका कलाकारहरू कहिलेकाहीँ थिएटर पनि गर्छन् र गरिरहेका पनि छन् । कतिपय साथीहरूको चासो फिल्म हुन्छ थिएटरबाट सुरु गर्‍यो भने सजिलो हुन्छ भनेर यता आएका पनि छन् । माध्यम त माध्यम हो । एउटा कुनै कलाकारले थिएटरको माध्यमबाट आफूलाई तिखार्न चाहान्छ भने त्यसलाई म चैं खराब मान्दिन ।

अहिले चलेका कलाकारहरू प्रायः सबै रंगमञ्च पृष्ठभूमि भएकाहरू छन् । यसोमा थिएटर गए त फिल्म खेल्न पाइहालिन्छ भन्ने मानसिकता बढेको देखिन्छ नि ?
त्यति सजिलो कहाँ छ र ? त्यो बढेको छ । त्यसलाई हामीले केही गर्न सकिँदैन । त्यस्ताले विभिन्न ठक्कर खान्छन् अनि आफैँ भोगेपछि थाहा पाउँछन् कतिको सजिलो रहेछ भनेर ।

अझै पनि नाटक भन्ने बित्तिकै नाक खुम्चाउनेहरू पनि छन् । यस्तोमा नाटकलाई हरेक नेपालीसँग जोड्न, नाटक भन्नासाथ गर्वका साथ हेर्ने बनाउनका लागि के के गर्न सक्छौं ?
मैले अघि पनि भने नाटकको सीमा छ । अझ कोरोनाले त नाटक क्षेत्रलाई नराम्रोसँग खाल्डामा हाल्यो । यस्तो अवस्थामा सरकारले पनि साथ दिनुपर्छ । किनभने नाटकघर र नाटककर्मीहरूसँग खासै पैसा हुँदैन । सरकारले साथ दियो भने पक्कै पनि नाटकलाई हरेक नेपालीसँग जोड्न सकिन्छ । अनि हाम्रो फिल्मसँग तुलना गर्ने बानी जुन छ यसलाई छोड्नुपर्छ ।

तपाईंले माथि नाटकमा पैसा कम छ भन्नुभयो यस्तोमा नाटक गर्न मन भएका तर जीविकोपार्जनका लागि अलि कठिनाइ भोग्दै आएकाहरूले कसरी जीवनयापन गर्न सक्लान् ?

नाटकमा आउन मन हुनेले पहिले नै यो विषयमा सोचेर आउनुपर्छ । अन्यत्र कमाइ गर्ने बाटो बनाएर मात्र यस क्षेत्रमा आएको राम्रो कि त घर परिवारले सबै खर्च व्यहोर्नुपर्‍यो । होइने भने त अरू माध्यम छैन भने यो क्षेत्रमा नआउँदा राम्रो । जीवन चलाउन पैसा त चाहिन्छ नै ।