देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाको संक्रमण भारतमा घट्दै दक्षिण कोरियामा बढ्दै

देशान्तर

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ । सोमबारको तुलनामा आज तीन हजार ६३ जना कममा संक्रमण पुष्टि भएको हो । बितेका २४ घण्टामा १३ हजार ६१५ जना सङ्क्रमित फेला परेका छन् ।

हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३६ लाखभन्दा बढी पुगेका समाचारमा जनाइएको छ । एक लाख ३१ हजार ४३ सक्रिय संक्रमित रहेका छन् । यो कुल संक्रमितको ०.३० प्रतिशत हो । करिब चार महिनापछि १२ दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १३ हजार २६५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो सँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २९ लाख ९६ हजार ४२७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।

बितेका २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार चारसय ७४ भन्दा बढीको मृत्यु भएको छ । सोमबार चार लाख २१ हजार दुई सय ९२ कोरोना परीक्षण गरिएको थियो । हालसम्म ८६ करोड ७३ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९८ करोड ८८ लाख ७७ हजार ८६३ मात्रा खोप लगाइएको छ ।

यसैबीच दक्षिण कोरियामा सोमबार ३७ हजार ३६० जना कोरियाको नयाँ संक्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यो सँगै दक्षिण कोरियामा एक करोड ८५ लाख ६१ हजार आठसय ६१ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अघिल्लो दिनको तुलनामा आज १२ हजार छ ९३ जना बढेको जनाइएको छ । कोरोना संक्रमणबाट हिजो सात जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हालसम्म २४ हजार छ ६८ जनाको मृत्यु भइसकेको छ ।