देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाण्डौमा हैजाका बिरामी २७ पुगे

देशान्तर

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा हिजो थप चार जनामा हैजा देखिएको छ । योसहित काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक काठमाण्डौको कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ । इपिडिमियोलोजी  तथा  रोग नियन्त्रण महाशाखाका  प्रमुख  डा.  चुमनलाल  दासले  पछिल्ला दिनमा  दैनिक  रूपमा  हैजाका  बिरामी  पुष्टि हुँदै  गएको र थप सावधानी अपनाउनुपर्ने देखिएको बताए । यसअघि हैजा पुष्टि भएका व्यक्तिलाई १० दिनसम्म अस्पताल भर्ना गरी उपचारपछि डिस्चार्ज गरिएको  थियो ।

परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुनसक्ने भएकाले सचेत रहन डाक्टरको सुझाव छ  । खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन समेत आग्रह गरिएको छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ ।

सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । तारन्तार चौलानी जस्तो सेतो पानीसहित दिसा लाग्ने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जान पनि डाक्टरको सुझाव छ ।

प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खानेकुरा खान सकिन्छ । उमालेको वा शुद्धीकरण गरिएको पानी पिउन, स्वस्थ खानेकुरा खान र दिसा गरेपछि र खाना खानुअघि राम्रोसँग साबुन पानीले हात धुन डाक्टरको सल्लाह छ ।