देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीमा क्षेत्रमा कोरोना संक्रमण बढ्दै

देशान्तर

काठमाडौं – सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितहरुको संख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो ।

सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन । तर जेठमा तीन जनामा संक्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा संक्रमण देखिएको डेस्क इञ्चार्ज डा अनिसा महतोले जानकारी दिए ।

गत चैत र वैशाखमा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमित नभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५०० को परीक्षण गर्दा १६ जना संक्रमित भेटिएको तथ्याङ्क छ ।

भेटिएका सबै संक्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा महतोले जानकारी दिए । संक्रमितको संख्या बढ्दै गए पनि वीरगञ्जको नारायणी अस्पतालमा पछिलो तीन महिनादेखि पीसीआर परीक्षण बन्द गरिएको छ । पीसीआर परीक्षणका लागि आवश्यक एजेन्ट कीटको अभावका कारण परीक्षण रोकिएको सूचना अधिकारी डा उदय सिंहले जानकारी दिए ।

मुलुकका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा समेत पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गए पनि पर्सा जिल्लामा नागरिकले स्वास्थ्य मापदण्डको पालनामा लापर्वाही गरिरहेका छन् ।