देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहिदको नाममा कलेज, शिक्षकमाथि ठगी

देशान्तर

काठमाडौं । देश र आम देशवासीको हितका लागि प्राण आहुति दिने वीर हुन् सहिद, तर तिनै सहिदको नाममा स्थापित संस्थाहरूले नै ठगी गर्छन् भन्ने के भन्ने ? हो यस्तै भएको छ, रामनाथ दाहालको नाममा काठमाडौंमा स्थापना भएकाे सहिद रामनाथ दाहाल मेमोरियल कलेज (एमआरएम), जहाँ कलेजमा अध्यापनरत शिक्षकहरू नै ठगिएका छन्, शिक्षाको ज्योति फैलाउने गुरुमाथि नै ठगी गरिएको छ ।

झापाको सुखानी काण्डका सहिद रामनाथ दाहालको नाममा स्थापना भएको कलेज सञ्चालनका लागि गठन गरिएको सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मञ्चबाट विगतमा कलेजको नेतृत्व गर्न आएका रामप्रसाद पौडेल समूहले कलेज अस्तव्यस्त बनाएको र विद्यार्थीहरू पनि अन्यत्र भर्ना गराएकाले अहिले त्यसको मार परेको वर्तमान क्याम्पस प्रमुख पुष्पा भट्टराईले देशान्तरलाई बताइन् ।

उनले शिक्षकहरूले पारिश्रमिक नपाएको स्वीकार गर्दै कलेजमा कुनै पनि पुरानो हिसावकिताव नहुँदा अप्ठेरो परेको बताइन् । उनले पुरानो व्यवस्थापनसँग आफूहरूले हरहिसाब मागेको बताउँदै त्यो आएपछि अहिले पारिश्रमिक नपाएका शिक्षकहरूसँग बसेर मिलान गर्ने बताइन् । तर शिक्षकहरू भने पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भएको बीबीएको पहिलो सेमेस्टर माघमा सकिए पनि अहिलेसम्म पारिश्रमिक नपाएपछि श्रम तथा रोजगार कार्यालय टेकुमा उजुरी दिन पुगेका छन् ।

तर क्याम्पस प्रमुख पुष्पा भट्टराईले अहिले कलेजको समस्या समाधानका लागि मञ्चले कमिटी गठन गरेको र पुरानो व्यवस्थापनसँग विगतका हिसाब किताब खोजिरहेको बताइन् । उनले भनिन् ‘२०७३ सालमा सुरु हुँदा राम्रो अवस्थामा रहेको कलेज रामप्रसाद पौडेलका कारण अस्तव्यस्त भएको र अहिले आफूले सम्हालेको तीन महिनामात्रै भएको छ, हामी छलफल गरेर टुंगोमा पुग्छौं ।’

पछिल्लो सेमेस्टरमा पढाएका शिक्षकहरू प्रशान्तराज शर्मा, सूर्य प्रसाईं, नीतुश्रेष्ठ, कमलप्रसाद दाहाल, मुकुन्दकुमार चटौत र किरण थापाले आफूले लामोसमय हुँदा पनि पारिश्रमिक नपाएको भन्दै संयुक्तरूपमा उजुरी दिएका हुन् । उजुरी दिनुअघि उनीहरूले तत्कालीन क्याम्पस प्रमुख रामप्रसाद पौडेलसँग बीबीएका विभिन्न तहका कक्षाहरू अध्यापन गराएको विषयमा प्रत्येक सेमेस्टरको ५० हजारका दरले पाउनुपर्ने रकम माग गरेका थिए ।त्यतिबेला क्याम्पस प्रमुख पौडेल र बीबीएका संयोजक तीर्थराज खड्काले तलब दिलाउने आश्वासन दिए पनि अझै आफूहरूले नपाएको बताएका छन् ।

उतिबेला सेमेस्टरको अन्त्यमा तलब दिने सहमति भए पनि क्याम्पस प्रशासनले भनेको समय कटिसक्दा पनि नपाएको एक शिक्षकले बताए । अहिले क्याम्पसको व्यवस्थापन परिवर्तन भएर नयाँ आएको छ । पुरानो आन्तरिक द्वन्द्वका कारण हिसाबकिताव नभएको भन्दै नयाँ व्यवस्थापनले पनि ती ६ जना शिक्षकलाई अहिले पनि पारिश्रमिक दिएको छैन ।

अहिले व्यवस्थापन परिवर्तन भएपछि क्याम्पस प्रमुखको रूपमा पुष्पा भट्टराई, अध्यक्षको रूपमा दामोदर मैनाली र निर्देशकको रूपमा खेम अधिकारी आएका छन् । क्याम्पसमा नेतृत्व मात्रै परिवर्तन गरिएको छैन, कलेजका हिसाब किताब गरिएका सबै फाइल गायब पारिएको छ, कलेजका एक पदाधिकारीले बताए । उनीहरूसँग पनि कुरा गर्दा उनीहरूले आश्वासनबाहेक अरू केही नदिएको शिक्षकहरूले बताए । श्रम तथा रोजगार कार्यालय टेकुले रामनाथ कलेजको विषयमा उजुरी प्राप्त भएको पुष्टि गर्दै अध्ययन गरेर कलेज प्रशासनलाई छलफलका लागि बोलाउने तयारी गरको छ । यस विषयमा क्याम्पसका पूर्वप्रमुख रामप्रसाद पौडेलसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।