देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोहोरीमा प्रथम बने जीवन र अस्मिता, रनिङ शिल्ड पच

देशान्तर

काठमाण्डौँ । कोरोना कहरका कारण दुई बर्षपछि आयोजना गरिएको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगितामा जीवन सिग्देल र अस्मिता डल्लाकोटी प्रथम बनेका छन् । उनीहरुले नगरकोट दोहोरी साँझबाट प्रतिनिधित्व जनाएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा आइतबार भएको फाइनल प्रतिस्प्रर्धामा गामबेशी दोहोरी साँझका अर्जुन खड्का र शान्ति ओलिलाई पराजित गर्दै नगरकोट दोहोरी साँझका जीवन र अस्मिता प्रथम बनेका हुन् ।

प्रथम बनेका जीवन र अस्मिताले नगद २ लाख ५० हजारको साथमा शिल्ड र प्रमाणपत्र हात पारेका छन् भने द्धितीय बन्ने अर्जुन र शान्तिले एक लाख ५० हजारमा चित्त बुझाएका छन् । प्रतियोगीतामा दुई समूहलाई तृतीय घोषणा गरिएको छ । क्विन रोधीका श्याम राना र हरिमाया रायमाझी, लुम्बिनी प्रतिष्ठानका विक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेत तृतीय बनेका छन् । उनीहरुलाई एक लाख पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगीतामा समुन खड्का, राजु लामिछाने, पुजा पुन र अर्चना चापागाईले उत्कृष्ट गायक गायिकाको पुरस्कार पाए । उनीहरुलाई जनही १० हजार र प्रमाण पत्र प्रदान गरिएको छ । निशान्त विक र दिल कुमारी विकले नव कलाकारको विधामा प्रोत्साहन पुरस्कारवापत जनही ५ हजार प्राप्त गरे । ओखलढुंगा प्रतिष्ठानको टिम अनुशासन तर्फ पुरस्कृत हुँदै १० हजार प्राप्त गरेका छन् ।

प्रतियोगीतामा ४५ जिल्लाका ६१ समूहको सहभागीता रहेको थियो । भृकुटीमण्डममा आयोजित दोहोरी निर्धारित समयमा नसकिएपछि एक दिन लम्ब्याइएको थियो । चैत १६ देखि १९ सम्म तोकिएको समयमा प्रतिस्प्रर्धा नसकिएपछि चैत २० मा सम्पन्न गरिएको थियो ।

रनिङ शिल्ड पच

‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगितामा जीवन सिग्देल र अस्मिता डल्लाकोटी प्रथम भएसँगै शिल्ड पच भएको छ । लगातार तीन बर्ष एकै संस्थाबाट विजेता बने रनिङ शिल्ड पच हुने विश्वव्यापि मान्यता अनुसार रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिताको शिल्ड नगरकोट दोहोरी साँझले पच गरेको हो ।

चौथो, पाँचौ र छैठौँ प्रतियोगीता हात पारेको नगरकोट दोहोरी साँझले शिल्ड पच गरेसँग साँतौँ संस्करण देखि प्रतिष्ठानले नयाँ शिल्डको व्यवस्थापन गर्नुपर्ने भएको छ । उक्त दोहोरी साँझको तर्फबाट चौथो संकरणमा रविन लामिछाने र चिनु घर्ति मगर, पाँचौँमा राजु केसी र डिला विक विजयी बनेका थिए ।