देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोहोरी जित्नेलाई ५ लाख

देशान्तर

काठमाडौं । दोहोरीको बजार बढ्न थालेपछि प्रतियोगितामा पुरस्कार राशि पनि बढ्न थालेको छ । आगामी चैत २५ देखि काठमाडौँको टुँडिखेलमा आयोजना हुने ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’मा दोहोरीमा पहिलो हुनेलाई ५ लाख पुरस्कार घोषणा गरिएको छ ।

चैत ३० सम्म चल्ने महोत्सव अन्तरको दोहोरीमा दोस्रो र तेस्रो हुनेले ३ लाख र २ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महोत्सव डीएआर मुभिजले गर्न लागेको हो ।

महोत्सवमा प्रतियोगिता र जिल्लाको स्थानीय कला संस्कृति झल्किने झाँकी प्रस्तुत गरिने भएको छ । यसअघि आयोजक संस्थाले २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव गरेको थियो ।

यसपटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ लाई १० लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ । दर्शकले निःशुल्क रूपमा महोत्सव अवलोकन गर्न पाउने भएका छन् ।

विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारको सहभागिता हुने जनाइएको छ । कार्यक्रमको अन्तिम दिन डीजे तेन्जिङको प्रस्तुति रहनेछ ।