देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेत्रीबाट ‘कमरेड’

देशान्तर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छिन् । उनलाई पार्टी प्रवेश गराउन एमालेले काठमाडौंमा कार्यक्रमकै आयोजना गरेको थियो । कार्यक्रममा करिश्मासँगै नेता प्रेमबहादुर सिंह पनि एमालेमा प्रवेश गरेका थिए । करिश्मा पहिलो होइनन्, कलाकार पार्टी प्रवेश गर्नेको लिष्ट थुप्रै छन् । तर सक्रिय राजनीतिमा देखिएका भने केही अनुहार छन् ।

तत्कालीन अवस्थामा खाईपाईको रेडियो नेपालको जागिर छाडेर राप्रपाको राजनीति सुरु गरेकी कोमल वली पछि आएर नेकपा एमाले प्रवेश गरिन् । अन्तः राष्ट्रियसभा सदस्य बनिन् । आगामी निर्वाचनमा दाङबाट प्रत्यक्ष निर्वाचन लड्ने चाहना राखेकी वली स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रममा सक्रिय बनेकी छिन् । उता, राप्रपामै रहेकी रेखा थापा महामन्त्री पदमा पराजित भए पनि निर्वाचन लक्षित कार्यक्रममा व्यस्त छिन् । उता, चलचित्र निर्माता रोज राणा पनि नेपाली कांग्रेसको राजनीतिमा व्यस्त छन् । केही कलाकार सक्रिय राजनीतिमा रहे पनि धेरै कलाकारलाई आमसभामा दर्शक बटुल्ने साधन वा शो–पिसको रूपमा मात्र प्रयोग गरिएको गुनासो चलेकै छ ।

त्यसो त, निर्वाचनको मुखमा एमाले प्रवेश गरेकी करिश्मा कुनै लाभको पदमा बार्गेनिङपछि पार्टी प्रवेश गरेको चार्ज लागेको छ । तर उनले पार्टी प्रवेश कार्यक्रममा बोल्दै भनिन्, ‘म कुनै लाभको पदमा बस्ने बार्गेनिङसहित आएको होइन । म एमालेको कार्यकर्ता भएर बस्छु ।’ करिश्माले यसो भन्दै गर्दा दर्शकदीर्घाबाट ताली बर्सेको थियो । तर क्षमताको कदर गरेर पार्टीले दिने अवसरलाई देश र जनताको हितमा प्रयोग गर्न पछि नपर्ने बताइन् ।
करिश्माले आफ्नो मन्तव्यमा एमाले प्रवेश गर्नुपर्ने तीन कारण पेस गरिन् । पहिलो कारण हो – केपी ओलीको इनर्जी । ‘अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,’ उनले भनिन् । अर्को पार्टीको मान्छेले पनि ओलीको इनर्जीको गुनगान गाएको आफूले सुनेको उनले सुनाइन् ।

दोस्रो कारण– एमालेको एजेन्डा । एमालेले समानता र न्यायसहितको समृद्धिको एजेन्डा बोकेकाले आफूले एमाले रोजेको उनले बताइन् । तेस्रो– अधिकांश नागरिकको एमालेसँगको सद्भाव । आफूले बिभिन्न ठाउँमा जाँदा अधिकांश नागरिकको एमालेसँग सद्भाव रहेको पाएको उनले सुनाइन् । जिम्मेवारी खोज्न नभई एमालेको कार्यकर्ता बन्न पार्टी प्रवेश गरेको उनले बताइन् ।

करिश्माको प्रशंसा सुनेपछि पार्टी अध्यक्ष ओली पनि मक्ख थिए । उनी मक्ख भएको करिश्माबारेको प्रशंसाले नै देखाउँदथ्यो । ‘चर्चित, स्थापित, प्रतिष्ठित कलाकार एवं राजनीतिज्ञ र केही गरौं भन्ने भावना भावनाले अत्यन्तै ओतप्रोत करिश्मा मानन्धरज्यू’ भन्दै सम्बोधन सुरु गरेका अध्यक्ष ओलीले करिश्मा मानन्धरको पनि उच्च प्रशंसा गरे ।

प्रशंसा गर्दा करिश्माबारे ओलीले शीर्षस्थ कलाकार, चर्चित सुप्रसिद्ध कलाकार, ख्यातिप्राप्त कलाकार, स्थापित र परिचित कलाकार शब्द प्रयोग गरे । दशरथ रंगशालामा भएको नयाँ शक्ति पार्टीको घोषणासभामा सहभागी हुँदै राजनीति थालेकी उनी सुरुमा नयाँ शक्तिमा चर्चामा रहे पनि पछि ओझेल पर्दै गइन् । डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति छाडेर उपेन्द्र यादवसँग सहकार्य थालेपछि उनी राजनीतिबाट टाढिइन् । केही वर्ष अध्ययनमा केन्द्रित भइन् । र अहिले फेरि एमालेमा प्रवेश गरेकी हुन् ।