देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘पीर’को दोहोरो व्यापार

देशान्तर

काठमाडौं । प्रकाश सपूत, कथामा खेलेर आफ्ना सिर्जनामा दर्शकको ध्यान खिच्न माहिर मानिन्छन् । दोहोरी ब्याटलमा नयाँ प्रयोगसहित आएका सपूतले मिश्रित प्रतिक्रिया र चर्चा पाएका थिए । त्यसपछि ल्याएको ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘बोल माया’मा सामाजिक कथामा भिडियो खिचेर नेपालीको ध्यानाकर्षण गर्न सफल भए । आफूलाई पागल ठान्ने सपूत मन परेको विषयमा गीत सिर्जना र कथा बुन्न मरिमेट्छन् । सिर्जनामा अब्बलतासँगै दर्शकको माया (भ्यु)का लागि पनि केही न केही मसला हाल्छन् नै ।

यो पटक ‘पीर’ ल्याएका सपूतले विवाद खेप्नुप¥यो । हुन त उनले ‘गलबन्दी’मा भाका चोरीको आरोप मात्रै खेपेनन् । शम्भु राईसँग सहमति गर्नुपर्ने बाध्यतामा पुगे । त्यस गीतको मूल सर्जकको श्रेय राईलाई दिन तयार भए । फेरि उनी ‘पीर’मा फरक प्रकारको विवादमा फसे । भिडियोमा बुनेको जनयुद्धको कथा र ‘देहव्यापार’को सिनले उनलाई ब्याक गरायो । उनले ‘देहव्यापार’को सिन भएको भिडियो हटाएर परिमार्जित भिडियो अपलोड गर्न बाध्य भए । केही दिनअघि गीतको सक्सेस कार्यक्रममा पत्रकारलाई जवाफ दिँदै भने, ‘समाजको भावना बुझेर गीत हटाएँ ।’

‘देहव्यापार’को सिन हटाएर सान्त्वना बटुलेको प्रकाशको व्यापारिक सोचको टिप्पणी र प्रशंसा गरेका छन् । धेरैले उनले गीतको व्यापारलाई प्राथमिकता दिएको बताए । त्यसो त, उनले विवाद मत्थर भएपछि मात्रै विवादित सिन समावेश गीत हटाए । त्यो पनि करोड क्लबमा प्रवेश गरेपछि । सात दिनमै करोड दर्शकको भ्युज पाएको ‘पीर’ गीतको पहिलो भिडियोले नेपाली संगीत क्षेत्रमा रेकर्ड बनाएको छ । ‘पीर’ले यसअघि प्रकाश सपुतकै गीतले राखेको रेकर्डलाई ब्रेक गरेको हो । १५ दिनमा ‘गलबन्दी’ र १७ दिनमा ‘कुरा बुझ्नुपर्छ’ बोलको गीतले करोड क्लबको यात्रा तय गरेको थियो ।

उनले ‘देहव्यापार’को सिन हटाएर अपलोड गरेको गीत पनि टे«डिङको शीर्ष स्थानमा छ । एक हप्ताको अवधिमा पुनः अपलोड गरिएको गीतलाई २७ लाख बढीले हेरिसकेका छन् । यही रफ्तारमा दर्शकको माया बटुल्ने हो भने ढिलोचाँडो संशोधित ‘पीर’ले पनि करोड क्लबमा प्रवेश गर्ने सहज अनुमान लगाउन सकिन्छ । विवाद उत्कर्षमा पुगेका बेलामा चुपचाप बस्नु र विवाद मत्थर भएपछि वा गीतले करोड दर्शकको माया पाएपछि विवादित सिन भएको भिडियो हटाएर संशोधित भिडियो अपलोड गर्नुले प्रकाशले व्यापारिक माइन्ड चलाएको संगीतकर्मीहरू बताउँछन् । उनी पहिलो होलान् कि, ‘एउटै लगानीमा, एउटै गीतबाट दोहोरो लाभ लिने गायक तथा सर्जक ।’