देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरिँदै अर्थमन्त्री, नयाँ को ?

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा सहभागी भई अर्थमन्त्रालयसहित सरकारमा रहेको नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका नेता जनार्दन शर्मालाई अर्थमन्त्री बनाए पनि अहिले माओवादी नै अर्थमन्त्री परिवर्तन गर्ने तयारीमा लागेको छ । अर्थमन्त्री शर्माको कार्यशैलीमा उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डसमेत सन्तुष्ट नभएपछि अर्थमन्त्री परिवर्तनको तयारी सुरु भएको छ । सम्भवतः केही दिनभित्रै शर्मा अर्थमन्त्रीबाट हट्नेछन् र नयाँ व्यक्ति अर्थमन्त्री बन्नेछन् ।

संंसद्मा विभागीय मन्त्रीका हैसियतले एमसीसी टेबल गर्ने दिन अर्थमन्त्री शर्मा स्वास्थ्यको कारण देखाई अनुपस्थित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शर्मासँग असन्तुष्ट छन् । त्यसलगत्तै एमसीसीलाई छलफलका लागि टेबल गर्ने भनिएको दिन पनि उनी पूर्वनिर्धारित कार्यक्रम भन्दै पर्वतको कुश्मा पुगे । संंयोगले उक्त दिन प्रतिनिधिसभाको बैठक भने बस्न सकेन ।

एमसीसी छल्न स्वास्थ्य र पर्वतको कार्यक्रमको बहाना बनाएका शर्मा जुन दिन एमसीसी संंसद्मा निर्णयार्थ पेस गरियो, त्यो दिन भने संंसद्मा सहभागी भए र एमसीसीलाई छलफलका लागि पेस गरे । एमसीसी प्रकरणपछि प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माबीचको सम्बन्ध चिसिएको छ । सरकारको नेतृत्व गरेको कांंग्रेसले पनि त्यसलाई राम्रो मानेको छैन ।

उता, शर्माकै पार्टी माओवादी पनि शर्मासँग सन्तुष्ट छैन । मुलुकमा स्थानीय तहको चुनाव लागेको अवस्थामा पनि अर्थमन्त्रीले आर्थिक जोहो गर्न नसकेको आरोप माओवादीले नै लगाएको छ । अर्थमन्त्री रहेर पनि माओवादीमा महासचिवमा दाबी गरेका शर्मालाई थप दबाब परेको छ । आफ्नै पार्टीको नेतृत्व र सरकारको नेतृत्व दुवै असन्तुष्ट भएपछि केही दिनभित्रै शर्मा अर्थमन्त्रीबाट च्युत हुने निश्चित छ ।

शर्मालाई हटाएर अर्थमन्त्री कसलाई बनाउने भन्नेमा भने प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको छैन । प्रधानमन्त्री देउवा माओवादीलाई परराष्ट्र मन्त्रालय दिएर अर्थ मन्त्रालय कांग्रेसले लिने तयारीमा छन् । तर, माओवादीले अर्थ मन्त्रालय आफैंंले लिने बरु अर्को नेतालाई पठाउने तयारी गरेको छ । प्रचण्डले शर्मालाई बोलाएर माओवादीकै अर्का नेता वर्षमान पुनलाई अर्थमन्त्री बनाउन चाहन्छन् तर, देउवाले भने परराष्ट्रमन्त्री नारायण खड्कालाई परराष्ट्रबाट अर्थमा ल्याउन चाहेका छन् । एक दुई दिनभित्रै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ ।

त्यस्तै, कांग्रेसको भागमा परेका उद्योग मन्त्रालय र रक्षा मन्त्रालय पनि रिक्त छन् । उद्योग र रक्षा मन्त्रालयमा कसलाई पठाउने भन्नेमा पनि कांग्रेसमा छलफल चलिरहेको छ । कांग्रेसले उद्योग र रक्षा मन्त्रालयमा पठाउने नेताको नाम तय गरेसँगै मन्त्रिपरिषद् हेरफेर हुने बालुवाटार स्रोतले देशान्तरलाई बतायो ।