देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘विद्यालयहरूले भारतीय प्रकाशनको पुस्तक पढाउँदा गर्व गर्छन्’

देशान्तर

चेतनाको विकाससँगै पुस्तक पढ्नेको संख्या बढिरहेको छ । नेपालमा पुस्तक प्रकाशन गर्ने संस्था ११० ओटाको हाराहारी रहे पनि बजारमा आधिपत्य जमाउन सफल भने १५ देखि २० ओटा छन् । कानुनको अभावका कारण नाम चलेका प्रकाशक गृह पनि अव्यवस्थित छ ।

प्रकाशकले पुस्तकको मूल्य मनलाग्दी राख्ने, कम गुणस्तरको कागज प्रयोग गर्ने, प्रतिलिपि अधिकार सुरक्षित नगर्ने, लेखकलाई कम रोयल्टी दिने गरेका छन् । प्रकाशन क्षेत्रमा देखिएका समस्या र समाधानलगायतका विषयमा केन्द्रित गरेर विगत २१ वर्ष देखि शैक्षिक पुस्तक मात्र प्रकाशन गर्दै आइरहेको मेघा पब्लिकेसनका प्रबन्ध निर्देशक श्रीकृष्ण श्रेष्ठसँग देशान्तरले गरेको कुराकानीको सम्पादित अंश :–

नेपालमा पुस्तक व्यापारको अवस्था कस्तो छ ?
प्रकाशन गृह नाजुक अवस्थामा चलिरहेका छन् । पुस्तक प्रकाशन व्यावसाय नाम सुन्दा मीठो लागे पनि सञ्चालन गर्ने पाटो अप्ठ्यारो छ । सरकारले विगत ८ वर्षदेखि पुस्तकको मूल्य बढाएको छैन । प्रकाशनप्रति सरकारी नीति खुच्याउने र हच्काउने खालको छ । पाठ्यक्रम विकास केन्द्रले धेरैतिरबाट प्रभावित भई पुस्तक व्यापारलाई खुम्च्याउने नीति लिएको छ । यति हुँदाहुँदै पनि पुस्तक व्यापार आफैंमा आत्मनिर्भर भएर चलिरहेका छन् ।

भारतलगायत तेस्रो मुलुकबाट पुस्तक आउने विषयले नेपाली प्रकाशकलाई कस्तो असर गरेको छ ?
भारतीय किताबलाई निर्वाध रूपमा बिक्रीवितरण गर्न दिने, नेपाली पाठ्यक्रमलाई अनुसरण नगर्ने, नेपालको भूगोल सुहाउँदो पाठ्यक्रम अनुसरण नगर्ने, केही ठूला विद्यालयले भारतीय पुस्तक लगाउँदा आफू त ठूलो र फरक हँ भन्ने प्रमाणित गर्न खोज्ने गरेका छन् । सामाजिक, व्याकरणलगायत किताबमा सरकारले कडाइ गरे पनि अन्य विदेशी किताबका सन्दर्भमा आँखा चिम्लिरहेको छ ।

कतै–कतै विद्यालय हाताभित्रै पुस्तक बेचेको पनि पाइन्छ । के यसरी पुस्तक बेच्न मिल्छ ?
विद्यालय हाताभित्र पुस्तक बेच्ने नीति पुस्तक व्यवसायी महासंघ र सरकारको कानुन अनुरूप पर्दैन । विद्यालयले पुस्तक बेच्न पाउँदैनन् । तर, कतैकतै विद्यालयले पुस्तक पसल नै दर्ता गरेर आफैंले सञ्चालन गरिरहेको पाइन्छ । कतिपय भौगोलिक अवस्थाले प्रभाव पारेका क्षेत्रमा विद्यालयले पुस्तक लगेर बेचेको पाइन्छ । तर, अन्यत्र सहरबजारमा कतैकतै बेचिएको भए पनि उल्लेख्य रूपमा बेचेका छैनन् ।

पुस्तक प्रकाशनमा नेपालमा कुन–कुन कानुन आकर्षित हुन्छन् ?
नेपालमा पुस्तक नीति बनेको छैन । अब भने पुस्तकसम्बन्धी कानुन बन्ने क्रममा छ । राज्यसँग अहिलेको अवस्थामा महत्वपूर्ण कानुन नै छैन । बजार आफ्नो तरिकाले चलेको छ भने सरकार मूकदर्शक रहेको छ ।

प्रकाशकले गाउँका विद्यालयमा पुराना, परिमार्जन नभएका पुस्तक बेच्छन् भन्ने आरोप सही हो ?
कतिपय गाउँघरका बालबालिकालाई अंग्रेजी माध्यममा पढ्नुपर्ने बाध्यता छ । आर्थिक विपन्न भएका विद्यालयमा किताब सस्तोमा पाइन्छ भन्ने विषयले आकर्षण गर्छ । त्यसैले पढाउन मिल्ले केही अंग्रेजी माध्यममा किताब बिक्री भइरहेका छन् । यसमा प्रकाशन गृहले पनि स्वीकार गर्नुपर्छ ।

प्रकाशकले लेखकलाई थोरै पैसामा काम लगाएको आरोप लाग्ने गरेको विषय सत्य हो ?
यो बिल्कुल झुटो विषय हो । प्रकाशकको मुख्य रकम प्रथम कागज दोस्रो उत्पादन र तेस्रो ठूलो रकम लेखकलाई जाने गरेको छ । चलेका लेखक र शिक्षकले करोडौं रकम लिएर किताब लेखिरहेका छन् । नयाँ लेखकले भने केही कम रकममा लेखिदिएका हुन्छन् ।

विदेशी प्रकाशनको नक्कली पुस्तक बजारमा पाइएको विषय सत्य हो ?
बजारबाट केही विदेशी लेखकले लेखेका पुस्तक नक्कल गरी छापिएको भन्ने सुनेको छु । यसले बजारमा ठूलो समस्या भने ल्याएको छैन । अहिलेसम्म प्रमाणित पनि भएको छैन ।

प्रकाशन क्षेत्रमा बजारको प्रतिस्पर्धा कस्तो छ ?
बजार अस्वथ्य अवस्थामा चलिरहेको छ । केही प्रकाशनले पुस्तक आफ्नो नाफा–घाटा नराखी बेचेका हुनाले बन्द पनि भएका छन् । तर, मध्यम नाफा राखेर पुस्तक बेच्ने प्रकाशकको अवस्था भने ठीकै छ । यस्ता अत्यधिक धेरै र कम मूल्य राख्ने प्रकाशन गृहहरू अहिले बजारमा छैनन् ।

नयाँ व्यक्तिले प्रकाशन सञ्चालन गर्न खोजेमा के–कस्ता प्रक्रिया रहेका छन् ?
प्रकाशन दर्ता गर्नका लागि सामान्य कम्पनी दर्ता गरे जसरी नै उद्देश्यमा प्रकाशन सञ्चालन भनेर राख्नुपर्दछ । प्यानमा भने अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ ।

किताब मात्र प्रकाशन गर्ने संस्थाको अवस्था कस्तो रहेको छ ?
अहिले बजारमा ११० ओटा प्रकाशनहरू चलिरहेका छन् । त्यसमा पनि अलि चलेका र बजार कब्जा गर्ने तरिकाले चलेका भनेको १५ देखि २० ओटाको हाराहारीमा छन् । प्रतिस्पर्धा धेरै छैन ।

मेघा प्रकाशनले कस्ता पुस्तक प्रकाशन गर्ने गरेको छ ?
हाम्रो प्रकाशनले नरसरी देखि ब्याचलर तहसम्मका पुस्तक प्रकाशन गर्छ । अनवरत रूपमा सम्पूर्ण पुस्तक विगत २१ वर्षदेखि प्रकाशन गरिरहेको छ ।

बजारमा गुणस्तरहीन पुस्तक भएको विषयमा कत्तिको जानकारी रहेको छ ?
सरकारले विगत ८ वर्षदेखि मूल्य नबढाएका कारण कतिपय प्रकाशनले कमसल कागज प्रयोग गरी किताब निकालेका छन् । यसमा पनि नयाँ कानुन नबनेका कारण न्यूनतम ८ देखि १० प्रतिशत फाइदामा पुस्तक बेच्नु पर्ने प्रकाशकको बाध्यात्मक अवस्था छ ।

सरकारले गर्नुपर्ने महत्वपुर्ण विषय के देख्नुहुन्छ ?
राज्य स्वास्थ्य र शिक्षाका विषयमा गम्भीर हुनुपर्ने देखिन्छ । सरकारको शिक्षा र स्वास्थ्यको पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने विषय महत्वपूर्ण छ । यो राज्यको मेरुदण्ड नै हो । आज हामीले पढाएको विषयले एक सय वर्षसम्म असर गर्ने भएका कारण यसलाई सरकाले महत्वपूर्ण विषयको रूपमा लिनैपर्छ । हाल राज्यको संयत्र पनि शिक्षा र स्वास्थ्यमा नै खेलेको देखिन्छ । त्यसैले पनि सरकारको शिक्षा, स्वास्थ्य र पुस्तक नीति उत्तम आउनु पर्दछ । राज्यले भारतलगायतबाट ल्याएका पुस्तक पढाउन दिनुभन्दा नेपालकै भूगोल सुहाउँदो पाठ्यक्रम विकास गर्नुपर्छ । शिक्षा र स्वास्थ्यमा लागेका संस्थालाई सरकारले सहयोग गर्नु आजको आवश्यकता हो । सरकारले प्रकाशन व्यवसायमा लागेकाहरूलाई सहयोगी भावनाले हेर्नुपर्छ ।