देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब कांग्रेसले जित्नुपर्छ 

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले नेपाली कांग्रेसको संगठन बलियो भएकाले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा पार्टीले बहुमत पालिका जित्ने दाबी गरेका छन् । अहिले नेपाली कांग्रेस एक ढिक्का रहेको र पछिल्लो समय कम्युनिस्टलाई बहुमत दिएकै कारण तीन वर्षको समय अस्तव्यस्ततामा बितेकाले पनि जनता अहिले कांग्रेसप्रति आकर्षित भएको ढुंगानाको भनाइ रहेको छ । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै नेता ढुंगानाले स्थानीय तहको निर्वाचनका लागि तल्लो तहबाटै उम्मेदवारहरूको सिफारिस गरेमा हाम्राले भन्दा पनि राम्राले टिकट पाउने विश्वास व्यक्त गरे । साथै महाधिवेशनपछि कांग्रेसका अब गुट, उपगुट सकिएको बताउँदै सभापति देउवाले सबैलाई मिलाएर लैजानुपर्ने र त्यस कुरामा डा. शेखर कोइरालाले पनि साथ दिनुपर्नेमा जोड दिए । उनले अहिले नेपाली राजनीतिमा सबैभन्दा पेचिलो विषय बनेको एमसीसी संसद्मा पेस गरेर छलफल पछि निकास निकाल्नु पर्नेमा जोड पनि दिएका छन् । एमसीसी संसद्मा पेस गर्न नदिने सभामुख अग्निप्रसाद सापकोटाको अडानको पनि आलोचना गरे । नेपाली कांग्रेस न्यायालयमा देखिएको समस्याबारे जानकार रहेको बताउँदै अब चाँडै कार्यपालिकाले हस्तक्षेप गर्नुपर्ने बेला आएको पनि बताए । आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको अवस्था, एमसीसी र पछिल्लो समय न्यायालयमा देखिएको विवादका विषयमा ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश :-

स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मुलुक चुनावमय बनेको छ, नेपाली कांग्रेस कसरी चुनावको तयारीमा केन्द्रित छ ?

सरकारले वैशाख ३० गते गर्ने भनेर स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनका लागि यसअघि जस्तै नेपाली कांग्रेसले आफ्नो कार्यतालिका बनाउँछौं, संगठनलाई व्यवस्थित बनाउँछौं । स्थानीय तहमा उम्मेदवारहरू चयन गर्नका लागि वडा तहदेखि नै सिफारिस लिएर आउने र निर्णय पनि सम्बन्धित निकायबाट गराउने गरेका थियौं । अहिले पनि यसैगरी हामीले सम्पूर्ण कार्यकर्तालाई परिचालन गर्ने काम गर्नेछौं । यसै विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा छलफल भएको छ ।

केन्द्रीय कार्यसम्पादनभन्दा पनि पूर्ण केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्दा राम्रो हुन्थ्यो होला ?

यो कुरामा म सहमत छु । केन्द्रीय कार्यसमितिले निर्णय गर्दा झनै राम्रो सन्देश पनि जान्छ । तर, कुनै पनि कुराको ‘प्रोसेस’ हुन्छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुभन्दा पहिला पदाधिकारी बैठक बसेर ‘अजेन्डा’ तय गरेर कार्य सम्पादनमा आएको हो । कार्य सम्पादनमा छलफल भएर निचोडमा पुगेपछि केन्द्रीय कार्यसमितिमा पनि राख्नुपर्ने अवस्था सृजना हुन्छ नै । त्यसैगरी प्रदेश, जिल्ला र वडातहसम्म पनि छलफल गर्नुपर्ने हुन्छ । त्यहाँ छलफल भएपछि मात्रै स्थानीय तहका उम्मेदवारहरूको टुंगो लाग्छ । यस्तो गर्दा समग्र कार्यकर्ता एक ठाउँमा उभिएर कांग्रेस अघि बढ्नु पर्छ । यसरी जाँदा पनि कहीँ जितिन्छ कहीँ हारिन्छ । यसरी सबै प्रक्रिया पुर्‍याएर अघि बढ्दा पार्टीलाई पनि राम्रो हुन्छ भनेर नै हामी आउँदो स्थानीय निर्वाचनका लागि हामी लागि परेका छौं ।

स्थानीय तहमा नेपाली कांग्रेस कहाँनेर ?

नेपाली कांग्रेसले देशमा जति पनि प्रजातन्त्रको लडाइँ लड्यो । साँच्चै भन्नुहुन्छ भने नेपाली जनता अहिले पनि नेपाली कांग्रेससँगै आशावादी छन् । नेपाली कांग्रेस २०४८ सालदेखि धेरै नै तल गएको छैन । त्यसैले अहिले पनि नेपाली जनता प्रजातन्त्र र लोकतन्त्रको लडाइँ लड्ने र यसको पहरेदार भनेको नेपाली कांग्रेस नै हो भन्नेमा प्रष्ट छन् । यसअघि पहिलो पटक स्थानीय तहको निर्वाचन भयो त्यसले गर्दा र त्यतिबेला व्यवस्थापन पनि राम्रो भएन । साथै २०७४ को निर्वाचनमा कम्युनिस्टलाई बहुमत दिए पनि त्यसले संघीयतालाई मजबुत बनाउन सकेन । तीन तहको सरकार हामीले भन्यौं । कम्युनिस्टको नेतृत्वले तीन तहको सरकारलाई नै अस्तव्यस्त पारिदियो । स्थानीय तह र प्रदेशलाई त उहाँहरूले कुनै मान्यता नै दिनु भएन । संघीय संसद् त अझ दुईदुई पटक विघटन नै गर्नुभयो ।

कम्युनिस्टले यस्तो गरेका कारण कांग्रेस राम्रो भन्ने कि कांग्रेसका कामले कांग्रेस राम्रो भन्ने ? 

कांग्रेसका कामले कांग्रेस राम्रो भन्ने । नेपाली जनताले एउटा कुरा बुझेका छन् । नेपाली कांग्रेस परिवर्तनको वाहक हो । यो देशमा भएका सबै आन्दोलनसँगै संविधान निर्माणको नेतृत्व पनि कांग्रेसले नै गरेको हो । पछिल्लो ७० वर्षमा भएका हरेक परिवर्तनमा कांग्रेस अग्रभागमा रहेको छ । संविधान निर्माण गर्दा पनि तीन जना कम्युनिस्ट प्रधानमन्त्री भए उनीहरूले नसकेपछि नेपाली कांग्रेसको नेतृत्वमा २०७२ सालमा संविधान जारी भयो । यसबाट के पनि प्रष्ट हुन्छ भने यो देशको लोकतन्त्र संघीयता र गणतन्त्र स्थापनामा कांग्रेसको ठूलो भूमिका छ र कांग्रेसले मात्र संस्थागत गर्न सक्छ । तमाम काम गरे पनि जनतामा नेपाली कांग्रेसले पुर्‍याउँदा पनि कहीँ न कहीँ हाम्रै कार्यकर्ताभित्र सुव्यवस्थित गर्न सकेका छैनौं । यसपटकको स्थानीय निर्वाचनमा यसलाई सुव्यवस्थित गरेर नै अघि बढ्ने र सबैभन्दा ठूलो पार्टी मात्रै होइन बहुमतको सरकार पनि बनाउने कोसिसमा छौं र बनाउँछौ पनि ।

कांग्रेसमा फेरि उम्मेदवार छनोटबाटै लफडा सुरु हुन्छ, यसले संगठन पनि भताभुंग जस्तो बन्छ ?

संगठन भताभुंग त हुँदैन । कांग्रेस लोकतान्त्रिक पार्टी हो । यस्तो पार्टीमा आ आफ्नो उम्मेदवारी पाउनु पर्छ भनेर आशा राख्नु स्वाभाविक पनि हो । तर कहीँ कहीँ यस्ता कुराहरू देखिन्छन् । २०७४ को चुनावमा नेपाली कांग्रेस सत्तामा आउन सकेन र जनताले दुःख पाएको कुरा यस पटक राम्रोसँग महसुस गरेका छन् । त्यसैले जनताले हामीहरू बरालिएर हुँदैन । देशको हित गर्ने पार्टी नेपाली कांग्रेस हो भन्ने राम्रोसँग बुझेका छन् । कांग्रेससले नजित्दा यो देशमा राजनीतिक स्थिरता पनि हुँदैन । त्यसैले जनता अहिले कांग्रेसको पक्षमा रहेकाले विगतको विरासत कांग्रेसले फर्काउँछ ।

विगतमा कांग्रेसमा ‘राम्रो भन्दा पनि हाम्रो’ भन्ने चलन थियो, अहिले त भर्खर महाधिवेशन सकेर आउनु भएको छ, तुष त अझैं बँँकी छ होला ?

महाधिवेशनको तुष त बाँकी छँदै छैन । राजनीतिमा डेमोक्रेटिक पार्टीभित्र निर्वाचन स्वाभाविक प्रक्रिया हो । पहिला सहमति खोज्ने हो, सहमति नहुँदा मतदानमार्फत नेतृत्व चयन गरिएको हो । हामीले कम्युनिस्ट पार्टीको जस्तो जुमबाट फुकेर त फलानो नेता भइस् भनेको जस्तो गरेका होइनौं । हामीले त सबै मतदाता प्रतिनिधिलाई भोट हाल्न लगाएर नेतृत्व चयन गरेका हौं । हामीले तल्लो तहदेखि नै भएको ठाउँमा सहमति नभएको ठाउँमा मतदान अर्थात् डेमोक्रेटिक प्रोसेसबाट अधिवेशन गरेर आएका हौं । नेपाली कांग्रेसको अधिवेशनबारे देश, विदेश सबैले थाहा पाउने गरी भएको हो । एमाले र माओवादीको अधिवेशन के त्यस्तै भएको थियो त । अधिवेशन भयो भन्छ, अधिवेशनबाट को आयो के भयो कस्तो भयो भन्ने थाहा नै हुँदैन । नेपाली कांग्रेसको विधानले सबै समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था पनि गरेकोे छ । यसरी सबैलाई समेटेर संगठन निर्माण गरेकाले यो संगठनले आगामी निर्वाचनमा प्रतिबद्ध भएर लाग्नेछ र यसले सकारात्मक नतिजा पनि ल्याउनेछ ।

तपाईंहरूका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू निष्क्रिय रहेको अवस्थामा चुनावमा जाँदा सफलता मिल्छ त ?

नेपाली कांग्रेसको नर्सरी भनेका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू नै हुन् । हाम्रा १३ वटा भ्रातृ संस्थाहरू छन् । ती संस्थाहरू समयमै अधिवेशन नहुँदा अहिले निष्क्रिय अवस्थामा छन् । विगतमा अधिवेशन गर्ने तयारी हुँदै गर्दा देशको राजनीतिक अवस्थाका कारण आन्दोलनमा जानुपर्ने अवस्था आइलाग्यो । तर अहिले जुन परिस्थितिबाट अगाडि बढेका छौं, निर्वाचनको मिति घोषणा भइसकेको छ, यो परिस्थतिमा हामी व्यवस्थित भएर अगाडि बढ्छौं ।

नेपाली कांग्रेसमा गुट सकियो त अब ?

हाँस्दै । म त गुट भनेर भन्दिनँ । गुटभन्दा पनि ‘पावर सेरिङ’ हो । अहिले सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । उता डा. शेखर कोइरालाले पनि राम्रो मत ल्याउनु भएको छ । त्यो मत पनि समग्ररूपमा पार्टीभित्र एक भएर जानुपर्छ । यसलाई गुट नभनौं पावर सेरिङ भनौं । चुनावमा अल्पमतमा परेको समूहलाई पनि समेटेर कसरी एक बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ । त्यो दायित्व सभापतिको हो । यसैगरी डा. शेखर कोइरालाले पनि कसरी पार्टीलाई एक ढिक्का बनाएर सशक्त बनाउने भन्ने कुरामा पहल गर्नुपर्छ । शेखरले पनि सभापति देउवालाई सहयोग गरेर नेपाली कांग्रेसलाई एक ठाउँमा उभ्याउनका लागि भूमिका निर्वाह गर्नुपर्छ । नेपाली कांग्रेसमा जहिले पनि निर्वाचनको माध्यमबाट नेतृत्व चयन भएको छ । नेपाली कांग्रेसमा आठौं महाधिवेशनमा मात्रै सर्वसम्मत सभापति चयन गरिएको हो । त्यतिबेला कृष्णप्रसाद भट्टराई सभापति बन्नु भएको थियो । त्यसपछिका सबै महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व चयन भएको छ । यसलाई दुई गुटभन्दा पनि दुई समूह भएर पावर सेरिङमा कुराहरू राख्ने गरिएकाले नै नेपाली कांग्रेस हरेक परिवर्तनको नेतृत्व गर्न सफल भएको हो ।

पावर सेरिङमा पनि दिन नखोज्ने र पाएनौं भन्ने पक्ष हुन्छ फेरि ?

दिन नखोज्ने शक्ति र अर्को शक्तिबीच समन्वय नभएमा यसलाई त केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिले मिलाउँदै हिँड्नुपर्छ । हाम्रो पनि त्यो भूमिकामा सहभागिता हुनुपर्छ । जसले गर्दा पार्टीको नेतृत्व वर्गलाई एक ठाउँमा उभ्याउन सकियोस् । नकारात्मक दृष्टिकोणले हिँड्न थाल्यौं भने परिवर्तनको नेतृत्व हामीले गर्‍यौं, त्यसलाई पनि हामी व्यवस्थित गर्न सक्दैनौं । हो हामी संघर्षको दिनमा एकै ठाउँमा रहे पनि संघर्ष पछि पनि हामी एक ठाउँमा नउभिँदा राजनीतिक परिवर्तनको प्रतिफल नेपाली जनताले पाउने सकेका छैनन् । यो कुरा पार्टीमा पनि लागू हुन्छ । त्यसैले अब नेपाली कांग्रेस एक भएको छ र यसले पक्कै पनि नेपाली जनताको पक्षमा निर्णय गर्छ र जनताले प्रतिफल पाउँछन् भन्नेमा विश्वस्त हुन सकिन्छ ।

न्यायालय अस्तव्यस्त भएको लामो समय भइसक्यो, कांग्रेसको धारणा के हो ?

नेपाली कांग्रेस सुरुदेखि नै शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्दै आएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आफ्नै क्षेत्राधिकार रहेको छ । यसको मूल मान्यता भनेकै आफैं व्यवस्थित भएर हिँड्नुपर्छ भन्ने नै हो । बीपी कोइराला नेपाल आउँदा उहाँमाथि सर्वोच्च अदालतमा मुद्दाहरू थिए । त्यही मुद्दामा भीमनारायण श्रेष्ठ, यज्ञबहादुर थापाको ज्यान गयो । त्यही बेलामा पनि बीपी कोइरालाले न्यायालयलाई विश्वास गर्छु भन्नुहुन्थ्यो ।

तर, अवस्था त्यस्तो रहेन ?

अहिले सर्वोच्चमा जुन अवस्था देखिरहेको छ, यो विषयमा हामी के सोचिरहेका थियौं भने, सर्वोच्च भनेको न्यायपालिका हो र त्यहाँ कार्यपालिकाले हस्तक्षेप गर्नु हुँदैन भन्ने धारणा हो । अहिले बार र बेन्चको जुन अवस्था सृजना भएको छ, न्यायाधीशहरू भित्र पनि जुन परिस्थति हामीले देख्यौं, यो परिस्थिति दुःखद् र दुर्भाग्य हो । यो अवस्था आउनुमा हाम्रा पनि केही कमी, कमजोरीहरू पनि छन् । हामीले एक जना सचिवमार्फत सर्वोच्च अदालतको न्यायाधीशलाई निकालेको दिन पनि बिर्सन हुँदैन । हामीले नै न्यायपालिकालाई सुदृढ र बलियो बनाउन नदिएकै कारण अहिलेको अवस्था आएको हो । न्यायालयले आफ्नो निर्णय आफैं गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । अहिलेको अवस्थामा अब हस्तक्षेप गर्नुपर्ने परिस्थिति आउन थालेको छ । हामीले अहिले न्यायालयको अवस्थाबारे नजिकबाट नियालिरहेका छौं । यसलाई न्यायालयले सुधार गर्नुपर्छ । यदि सुधार भएन भने कार्यपालिकाले हस्तक्षेप गर्नुपर्ने अवस्था आउँछ ।

कहिले हस्तक्षेप गर्ने, यत्तिकै न्यायालयको अवस्था बिग्रन दिइरहने ?

संसद् चलेको भए यो समस्या पहिला नै समाधान भइसक्थ्यो । संसद्ले यसलाई व्यवस्थित गथ्र्यो होला । प्रतिपक्षले अहिले पनि संसद् चल्न दिनु भएको छैन । उहाँहरूको उद्देश्य भने जहिले पनि अड्को थापेर राजनीतिक अस्थिरता निम्त्याउने रहेको छ । प्रतिपक्षको धारणा सबै हुनुपर्छ भन्ने त होइन । प्रतिपक्षको भावनालाई बोकेर हिँड्नु पर्दैन भन्ने पनि त होइन । प्रतिपक्षलाई भेटेर प्रधानमन्त्रीले पनि अहिले रहेको गाँठो फुकालौं भन्नु भएको छ । यसलाई खोल्नका लागि प्रतिपक्ष पनि सकारात्मक तरिकाले अगाडि सर्नुपर्छ ।

संसद् खोल्ने कुरा त एमसीसीका कारण सभामुखले अड्काएको म्यासेज पनि त आएको छ नि ?

एमसीसीकै कुरा गर्ने हो भने यो विषय संसद्मा छलफल हुनुपर्छ । संसद्ले एमसीसी पास गराउने वा फेल गराउने अधिकार राख्छ । म धेरै पटक संसद्को सदस्य र चिफ ह्वीप भएर पनि चलाएको व्यक्ति हुँ । संसद्मा धेरै कुराको छलफल हुन्छ । तर संसद्मा फलानो विधेयक म टेबल नै गर्न दिन्न भनेर सभामुखले भन्न मिल्दैन । टेबल भयो भने पास या फेल गराउने अधिकार सांसदहरूको हो । संसद् भनेको जनताको प्रतिनिधित्व गर्ने जनताको उपल्लो र सार्वभौमसत्ता सम्पन्न थलो हो । यस्तो ठाउँमा सभामुखले एमसीसी टेबल नै हुन दिन्न भन्ने कुरा मैले पनि अहिलेसम्म बुझेको छैन । त्यसैले अब एमसीसी संसद्मा टेबल हुन दिउँ र सांसदहरूलाई छलफल गर्न दिनुपर्छ । छलफल हुँदा कति विधेयकहरू यसअघि पनि त फेल भएका छन् नि ।

यहाँ पास फेलभन्दा पनि एमसीसी फेल भयो भने संसार नै डुब्छ भन्ने पनि त बुझाइ छ फेरि ?

महाकाली सन्धिमा पनि त त्यस्तै भएको हो । अरुण तेस्रोको विषयमा पनि त्यस्तै भएको थियो । आजभन्दा २७ वर्ष पहिला अरुण तेस्रो तयार भएको भए नेपाली जनताले लोडसेडिङ व्यहोर्नु पर्ने थिएन, नेपाली जनताले दुःख पाउनु पर्ने थिएन । विकासको गति धेरै माथि पुग्ने थियो । अहिले आएर अरुण तेस्रोको विषयमा एमालेका नेताहरूले गल्ती भएको भनेर स्वीकार गर्न थाल्नु भएको छ । त्यसैले एमसीसीको विषयमा सोच विचार गरेर संसद्ले निर्णय गर्नुपर्छ । बाहिर हल्लाको भरमा लागेर काम गर्नु हुँदैन । एमसीसीको विषयमा जुन किसिमले प्रचार गरिएको छ, यो प्रचार सही होइन । हामीले कुनै कुरालाई भावना वा उत्तेजनामा आएर गलत काम गर्‍यौं भने यसले राष्ट्रलाई नै घाटा गर्छ ।