देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘फितलो मापदण्डका कारण फर्निसिङ व्यवसाय नै फोहोर बन्यो’

देशान्तर

फर्निसिङ उच्च घरानाको विलासिताको वस्तु नभई सामान्य परिवारमा पनि आवश्यक हु“दै गइरहेको छ । फर्निसिङसम्बन्धीका ९० प्रतिशतभन्दा धेरै सामान विदेशबाट आयात हुने भए पनि कोभिडको समयमा आयातमा कमी आएको छैन । कोभिडले होटल, पर्यटनजस्ता क्षेत्र केही सुस्ताए पनि फर्निसिङमा त्यति असर गरेको छैन ।

सरकारले सहयोग गर्ने हो भने नेपाललाई पुग्ने फर्निसिङ र फर्निचरका सामानको उत्पादन गर्ने उद्योग स्वदेशमै खोल्ने सकिन्छ । व्यवसायका चुनौती, सम्भावना, नेपालमा उत्पादन हुन नसक्नुका कारणलगायत विषयमा आधारित रहेर २२ वर्षदेखि फर्निसिङ पेसामा आबद्व जुम द फर्निसिङ सेन्टरका सञ्चालक नरेश चौलागाईंसँग देशान्तर साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंश ।

फर्निसिङ क्षेत्रमा बजारको अवस्था कस्तो छ ?
हुन त अहिले सबै व्यवसायमा प्रतिस्पर्धा छ । ग्राहकलाई गुणस्तरीय सेवा दिन सक्ने व्यवसाय सफल रूपमा सञ्चालन भएका छन् । तर, सरकारको फितलो मापदण्ड भएका कारण ज्ञान नभएका व्यक्ति पनि यस व्यवसायमा आएका कारण व्यवसाय फोहोरजस्तो बनेको छ । यस व्यवसायमा चुनौतीसँगै अवसरहरू पनि छन् । समग्रमा मेरो तर्फबाट भन्नुपर्दा बजार राम्रै छ ।

यस व्यवसायमा लकडाउनको असर कस्तो रह्यो ?
लकडाउनले सबै पेसा, व्यवसायलाई असर गरेको छ । तर, होटेल, ट्रार्भल्सजस्ता व्यवसायभन्दा फर्निसिङलाई केही कम असर गरेको छ ।

फर्निसिङ क्षेत्रमा स्वदेशी उत्पादनको अवस्था कस्तो छ ?
अहिले नेपालमा कार्पेट क्षेत्रमा तीन वटा उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगको उत्पादनले मात्र बजार धान्न सकेको छैन । अन्य उद्योग खोल्न सरकारको नीतिले व्यापारी वर्ग डराइरहेका छन् । सरकार फेरिए पिच्छे नीति फेरिरहेको हुन्छ । नीति फेरिएपछि उद्योग नोक्सानमा जान्छ । त्यसैले यस सम्बन्धित उद्योग खोल्न व्यापारी डराइरहेका छन् ।

विदेशबाट फर्निसिङका सामान आयात गर्दा सरकारलाई कति प्रतिशत कर तिर्नुपर्छ ?
अहिले भन्सारमा ३० प्रतिशत र १३ प्रतिशत आयकर तिर्नुपर्छ । त्यसबाहेक एलसी खोल्ने, बैंक ग्यारेन्टी राख्ने, बिमा गर्ने, सामान छुटाउन भन्सार दलाललाई शुल्क तिर्ने, जहाज भाडा तिर्ने, आन्तरिक भाडा तिर्ने, सरकारी कर्मचारीलाई खुसी बनाउनुपर्ने जस्ता विषयले पनि सामान महँगो हुने गरेको छ ।

कुन–कुन देशबाट सामान आयात हुने गरेको छ ?
कोरिया, टर्की, चाइना, आवुधाबीलगायत देशबाट सामान आयात हुने गरेको छ । धेरै टाढाका देशबाट सामान आयात गर्नुपर्ने हुनाले भाडामा मात्र धेरै पैसा खर्च भइरहेको हुन्छ । सामान किन्दा लाग्ने शुल्क आफ्नो ठाउँमा छँदैछ ।

स्वदेशमै उत्पादन किन नभएको होला ?
नेपालमा उद्योग स्थापना गर्ने वातावरण सरकारले बनाउन सकेको छैन । राज्य कुनै विषयमा पनि जिम्मेवार छैन । नीति सरकार परिवर्तन भएसँगै परिवर्तन हुने गरेको छ । उद्योग खोल्न झन्झटिलो पनि छ । अन्य कर्मचारीतन्त्रको कुरा त गर्दै नगरौं । सरकारले व्यवसाय सञ्चालन गर्ने सहज वातावरण बनाउन सकेको छैन । राज्यले व्यवसायीहरूलाई सहुलियतपूर्ण ऋण लगायतको व्यवस्था नगरेका लगायत कारण पनि स्वदेशमै उत्पादन हुन नसकेको हो ।

फर्निचरको सामानको अवस्था चाँहि कस्तो छ ?
मलेसियादेखि झ्याल तथा ढोकाका चौकोस नेपालमा ल्याइने गरेको छ । हरियो वन नेपालको धन भन्ने उखानमा मात्र सीमित छ । हाम्रा वन तथा जंगलमा भएका काठहरू कुहिएर गएका छन् । सरकारको नीति र बनेका कानुन अप्ठ्यारा छन् । फर्निचर र फर्निसिङ दुवै क्षेत्रमा नेपाल आत्मनिर्भर भए धेरै पैसा बिदेसिनबाट बच्ने थियो । नेपालमा भएका कामदारले रोजगारी पाउने थिए । तर, यस विषयमा सरकारको ध्यान जान सकेको छैन ।

देशमा आर्थिक विकास गर्न के गर्न सकिन्छ ?
अहिले आर्थिक अवस्था गम्भीर मोडमा पुगेको छ । जति प्रतिशत सरकारले विकास खर्च गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । जसको कारण आर्थिक तरलता बढिरहेको छ । व्यवसाय गर्न पैसा चाहिन्छ । अहिले बैंकिङ तरतला रहेका कारण बैंकले लगानी गर्न सकिरहेको छैन । सरकार मौन छ ।