देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्यटन बोर्डका रेग्मीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न सिफारिस

देशान्तर

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको काम कारवाहीमाथि छानबिन गर्न गठित उपसमितिले उनी आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकालेको छ । र, थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्न सिफारिस गरेको छ ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठित उपसमितिले बोर्डका कार्यकारी प्रमुख रेग्मी ‘आर्थिक अनियमितता’मा संलग्न रहेको निष्कर्ष निकालेको हो । उपसमितिले रेग्मीले बोर्डमा गरेका आर्थिक अनियमितता, गैरकानूनी क्रियाकलाप अनि भन्सारका कर्मचारीमाथिको दुव्र्यवहार र सुन चोरी पैठारीजस्ता घटनाले रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी पदमा रहिरहन उपयुक्त नहुने सुझाव दिएको हो ।

आर्थिक अनियमितताको आरोपमा त थप अनुसन्धान हुनुपर्ने भनेको छ । गत सोमबार मन्त्रालयका सचिवलाई बुझाएको प्रतिवेदनमा अनुसन्धानात्मक कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउनुपर्ने भन्नुको अर्थ रेग्मीमाथि थप अनुसन्धानका लागि मन्त्रालयले नै अख्तियारमा पत्राचार गर्नुपर्छ भन्ने हो ।

रेग्मी पदमा बहाल रहने वा नरहने भन्ने विषयमा उपसमितिले उपयुक्त निर्णय गर्नुपर्ने भनी बोर्डलाई नै जिम्मेवारी दिएको छ । बोर्डमा पर्यटन सचिव अध्यक्ष हुन्छन् भने विभिन्न मन्त्रालय, निकाय र पर्यटन क्षेत्रका प्रतिनिधि सदस्य हुन्छन् । नेपाल पर्यटन बोर्ड ऐन २०५३ मा बोर्डको कार्यकारी समितिको निर्देशनको पालना नगरेमा वा बोर्डलाई हानी हुने काम गरेमा छानबिन उपसमिती गठन गरी कार्यकारी प्रमुखलाई पदबाट हटाउने व्यवस्था छ । त्यही व्यवस्था टेकेर मन्त्रालयले उपसमिति बनाएको थियो ।