देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

देशान्तर

सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ ।   शुक्रवार चितवनको इच्छाकामना गा.वि.स.७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।

प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताइन् । उनले जग्गाधनी प्रमाणपत्र नहुँदा नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोग समेत गर्न नपाएको बताइन् ।

मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरुलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरुलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको जानकारी दिइन् । मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरुलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने उल्लेख गरिन् ।

मन्त्री श्रेष्ठले भनिन्, ‘लालपुर्जा नभएको कारणले गर्दा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्था छ । नागरिकता पनि नपाएको अवस्था, नागरिकता नभएपछि त्यो व्यक्ति यो देशको नागरिक भएन नि । यो देशको नागरिक नै नभएपछि यो देशको संविधानले दिएको अधिकार उपभोग गर्न पायो त ? यो स्थिति दर्दनाक रहेछ ।

त्यसपछि हामीले सरकारमा सल्लाह गरेर यसलाई प्राथमिकतामा राखेर अभियान चलाउँ भन्ने हिसावले तुरुन्तै महोत्तरीको रामगोपालपुर बाट सदरमुकाममा होइन, समस्या जहाँ हो त्यहीँ लालपूर्जा वितरणको थालनी गरेका थियौँ ।

त्यसपछि सप्तरी र देशभर नै यो अभियान चलाइयो । यो अभियान अन्तर्गत करिव १२ हजार नागरिकहरु जो आफ्नो सबै अधिकार प्राप्त हुँदाहुँदै पनि कानूनि रुपबाट अधिकार पाउनबाट वञ्चित हुनुपरेको थियो । यहाँ यसअघि पनि धेरै जनप्रतिनिधिहरु आए होलान्, यसअघि पनि गर्न सकिन्थ्यो तर प्राथमिकतामा परेन ।’

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरुले खुशी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए ।

लाभग्राही मध्येकी एक चममाया मगरले भनिन्, ‘अहिलेको सरकारले दियो खुशी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि ।’

लाभग्राहीहरुले कानूनि रुपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए ।