देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेटिङमा ठेक्का पार्न दुई गाउँपालिकाको नियम विपरित शर्त

देशान्तर

काठमाण्डौँ-अछामका दुई पालिकाले सेटिङमा ठेक्का पार्न नियम विपरित शर्त राखेको पाईएको छ । जिल्लाको मेल्लेख गाउँपालिकाले गत पुस २२ गते १५ शय्याको अस्पताल भवन निर्माणका लागि विद्युतीय बोलपत्र आह्वान गरेको थियो ।

तर विद्युतीय बोलपत्र सार्वजनिक गर्दा नै अनावश्यक शर्त राखिएको निर्माण कम्पनीहरुको दाबी छ । मेल्लेख गाउँपालिकाले पहाडी क्षेत्रमा १२ करोड ६५ लाख बढीका दुई अस्पताल निर्माण गरेको अनुभव हुनुपर्ने शर्त राखेको छ । उक्त शर्त कुनै एक निर्माण कम्पनीसँगको मिलोमतोमा राखिएको अन्य निर्माण कम्पनीहरुको आरोप छ ।

मेडिकल ग्याँससहितको अस्पतालको आरसीसी भवन निर्माण गरेको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने शर्त गाउँपालिकाको छ । गाउँपालिकाले एन्टी व्यक्टरेरियन पेन्ट लगाएको निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न सक्ने अर्को शर्त समावेश गरेको छ ।

उक्त शर्तले धेरै निर्माण कम्पनी बोलपत्र पेश गर्नबाट बञ्चित भएका हुन् । तर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घबहादुर खड्काले दीर्घकालीन सोचका साथ बलियो र सुविधासहितको अस्पताल भवन निर्माणको तयारीमा रहेको बताए ।

जिल्लाको रामारोशन गाउँपालिकाले पनि पुस ३० गते १५ शय्याको अस्पताल भवन निर्माणका लागि विद्युतीय बोलपत्र सार्वजनिक गरेको छ । उक्त गाउँपालिकाले पनि मिलोमतोमा बोलपत्रमा अनावश्यक शर्त राखेको गुनासो निर्माण कम्पनीको छ ।

रामारोशन गाउँपालिकाले ग्याँस पाइपलाइन सहितको अस्पताल भवन निर्माण गरेको हुनुपर्ने शर्त मिलोमतोमा राखेको दाबी गरिएको हो । १३ करोड ७५ लाख लागतका भवन निर्माण गरेको अनुभव भएका निर्माण कम्पनीले मात्र बोलपत्र पेश गर्न पाउँने भएका हुन् । रामारोशन गाउँपालिकाका इन्जिनियर शंकरराज खनालले अन्य गाउँपालिकाको शर्तहरु साभार गरिएको बताए ।

जिल्लाका दुई गाउँपालिकाले १५÷१५ शय्याका अस्पताल भवन निर्माणका लागि बोलपत्र आह्वान गरेका हुन् । तर बोलपत्रको सूचनामा अनावश्यक शर्त राखेर अधिकांश निर्माण व्यवसायीलाई प्रतिस्पर्धाबाटै बञ्चित गराइएको छ ।