देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाका कारण आयातमा कमी हुँदा राजस्व संकलनमा सकस

देशान्तर

काठमाण्डौँ-कैलाली भन्सार कार्यालयलाई लक्ष्य अनुसार राजस्व संकलन गर्न सकस भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न पूर्ण रुपमा असफल भएको हो ।

पहिलो चौमासिक श्रावण र भाद्र महिनामा लक्ष्य चुम्न नसकेको भन्सार कार्यालयले बढी राजस्व संकलन हुने असोज र कार्तिक महिनामा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन ।

चालु आर्थिक वर्ष २०७८÷७९ मा कैलाली भन्सार कार्यालयले ११ अर्ब ८२ करोड राजस्व संकलनको लक्ष्य लिएको छ । त्यसअनुसार पछिल्लो ६ महिनामा कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन ।

श्रावण महिनामा लक्ष्यको ८९ प्रतिशत अर्थात ७० करोडमध्ये ६२ करोड मात्र राजस्व संकलन गर्न सकेको छ । भाद्र महिनामा ८७ प्रतिशत अर्थात् ९२ करोड लक्ष्य रहेकोमा ८१ करोड मात्र संकलन भएको छ ।

असोज महिनामा ८१ प्रतिशत अर्थात ९४ करोड मध्ये ७७ करोड मात्र संकलन भएको छ । कार्तिक महिनामा ८१ प्रतिशत अर्थात एक अर्ब लक्ष्य रहेकोमा ८२ करोड मात्र राजस्व संकलन भएको छ ।

यस्तै, मंसिर महिनामा एक अर्ब लक्ष्य रहेको मंसिर महिनामा ८७ प्रतिसत अर्थात ८९ करोड मात्र संकलन भएको छ । पुष महिनामा एक अर्ब चार करोड लक्ष्य रहेकोमा ८० प्रतिशत अर्थात ८३ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

प्रतिशतको आधारमा पछिल्लो ६ महिनाको अवधिमा सबै भन्दा बढी राजस्व श्रावण महिनामा उठेको छ । तुलनात्मक रुपमा बढी राजस्व उठ्ने असोज महिनामा ८१ प्रतिशत मात्र राजस्व संकलन भएपछि त्यसको असर समग्र राजस्व संकलनमा परेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको बताए । तर उनले बाँकी रहेको ६ महिनामा वार्षिक लक्ष्यअनुसारको राजस्व संकलन गर्ने दाबी गरे ।

लक्ष्यको तुलनामा ८४ प्रतिशत असुली गरेको उनको भनाइ छ । गत वर्ष ८ अर्ब २१ करोड लक्ष्य रहेकोमा यस वर्ष ४४ प्रतिशत वृद्धि भई ११ अर्ब ८२ करोड रुपैयाँ लक्ष्य रहेको उनले बताए ।

‘यो नाका हुँदै आउने बिटेनिया बिस्कुट बिरगञ्जमै उत्पादन हुन थाल्यो,’ उनले भने, ‘आयातमा केही कम भएपछि लक्ष्य अनुसार पुग्न सकिएन । कोरोना भाइरस संक्रमणका कारण पनि आयातमा प्रभाव परेको छ ।’ कोरोना संक्रमणका कारण राजस्व संकलनमा पनि कमी आएको उनको भनाइ छ ।

उनले यहाँबाट निर्यातमा कथ्था, रोजीनलगायतका सामग्री निर्यात भइरहेको बताए । उनका अनुसार यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ ६० प्रतिशत आयात हुन्छ । त्यसबाहेक खाद्यान्न दालमोट, भुजिया, ट्रयाक्टर, पेपर ब्लाङ्केट, फनिर्चरका सामान र तरकारीलगायत आयात हुने गर्छ ।