देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीका ७५ हजार बाख्रालाई पीपीआर खोप

देशान्तर

बैतडी – बैतडीका ७५ हजार बाख्रालाई पीपीआरविरुद्धको खोप लगाइँदैछ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ पालिकामा यो खोप अभियान सञ्चालन भएको हो ।

शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडाबाख्रालाई पीपीआरविरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो ।

प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, ‘नौ स्थानीय तहमा खोप पठाएर प्राविधिकले खोप लगाउँदै छन्, शिवनाथमा पशु प्राविधिक नहुँदा ढिला भएको हो । अर्को ठाउँबाट प्राविधिक खटाएर अभियान सुरु गर्छौँ ।’

राजमार्ग नजिकका ठाउँ र व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने काम भइरहेको छ । प्रत्येक पालिकामा सात हजार डोज खोप पठाइएको छ । गएको वर्ष खोप लगाएका बाख्रालाई यो खोप नदिइने केन्द्रले जनाएको छ । बाख्रालाई पीपीआर रोग लागे ठूलो नोक्सानी हुने भएकाले त्यसबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको हो ।

बाख्रालाई पीपीआर रोग लागेमा पखाला लाग्ने, र्‍याल र सिँगान बगाउने, उच्च ज्वरो आउने लक्षण देखा पर्छ । अन्त्यमा बाख्रा मर्ने गर्छन् ।