देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्मचारीको अभाव झेल्दै रामारोशन गाउँपालिका

देशान्तर

काठमाण्डौँ – अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेर पूरा गरेको छ भने वडा कार्यालय र गाउँपालिकाको प्रशासन गरी दुई क्षेत्र एउटै कर्मचारीले सम्हालेको छ ।

अहिले गाउँपालिकाका पाँच वडा कार्यालय वडा सचिवविहीन छन् । वडा नं ३ र ४ मा वडा सचिव भए पनि अन्य पाँचवटा वडा कार्यालयको जिम्मा शिक्षा शाखा, स्वस्थ्य शाखा तथा अन्य शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताए ।

ग्रामीण क्षेत्रमा कर्मचारीहरु जान भने मान्दैनन् । अछामका अधिकांश स्थानीय तह अहिले पनि निमित्तकै भरमा चलेका छन् । सङ्घीय संरचनामा देश गइसकेको भए पनि अझै कर्मचारी व्यवस्थापनमा भने निकै ढिलाई हुँदै आएको छ ।

एकातिर दरबन्दीअनुसार कर्मचारी नहुनु समस्या छ भने अर्कोतिर सम्बन्धित कार्य क्षेत्रमा नगई बिदामै बसेर आफ्नो काज मिलाउनसमेत कैयौँ कर्मचारीहरुले गर्दै आएका छन् । त्यसको मारमा रामारोशन गाउँपालिका पनि परेको छ ।

“कर्मचारी अभावका कारण सेवाग्राहीको कार्य सम्पादनमा निकै समस्या रहँदै आएको छ । अर्कोतिर सेवाग्राहीलाई पनि निकै सास्ती हुँदै आएको छ,” निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “गाउँपालिकाका शाखामा कार्यरत कर्मचारीहरुले शाखाको काम गर्नुपर्ने बाध्यता भएका कारण गाउँपालिकामै बस्नुपर्ने र वडा कार्यालयमा जानसक्ने अवस्था नरहेकाले पनि सेवाग्राहीले वडाबाटै हुने कामका लागि पनि गाउँपालिका पुग्नुपर्ने बाध्यता छ ।”

त्यही क्षेत्रबाट निजामतीमा प्रवेश गरेका कर्मचारीहरुले दुर्गम रोजे पनि बाहिरबाट कर्मचारीलाई ल्याएर व्यवस्थापन गर्न निकै चुनौती देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारी बताउनुहुन्छ । “कर्मचारी आउँछन् तर आउने समयमै सरुवा ल्याएर आउने र हाजिर लगाएर सरुवा हुने गरेका छन्,” भण्डारीले भने, “त्यस्तै परे एकदुई महिना बस्छन् । त्यसपछि फेरि अन्य शाखाको कर्मचारीहरुलाई जिम्मेवारी दिनुको अर्को विकल्प हुँदैन ।”