देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको १४ औं महाधिवेशन र मधेसको नेतृत्व

देशान्तर

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मूल नेतृत्वमा शेरबहादुर देउवा नै स्थापित भएपनि पदाधिकारी र केन्द्रीय समितिमा युवा अनुहार स्थापित भएका छन् । महाधिवेशनले पुराना धेरै नेताहरूलाई विस्थापित गरेका छ भने नयाँ नेताहरू स्थापित गरेको छ । कांग्रेसको केन्द्रीय समिति र पदाधिकारीमा जस्तै मधेसमा पनि कांग्रेसको मधेसमा विगतमा विरासत धानेको नेतृत्व करिब करिब विस्थापित नै त नभनौ, पाखा परेको छ । यसरी पहिलो र दोस्रो पुस्ताका मधेसका नेताहरू १४ औं महाधिवेशनबाट पाखा परेका छन् । केन्द्रीय समितिमा पहिलो पुस्ताका सभापति दोस्रो पुस्ताका एउटा उपसभापति, एउटा सहमहामन्त्री निर्वाचित भएका छन् । बाँकी सबै पदाधिकारी तेस्रो पुस्ताका छन् । तर मधेसमा कांग्रेसको राजनीतिमा देखिएको पहिलो र दोस्रो पुस्ता विस्थापित बनेर तेस्रो पुस्ता एकै पटक नेतृत्वमा पुग्दा कतै सन्तुलन गुम्छ कि भन्ने चिन्तासमेत देखिएको छ ।

विगतमा महन्थ ठाकुर मधेसमा कांग्रेसका स्थापित नेता थिए । २०६२–६३ सालको आन्दोलनपछि मधेस आन्दोलन चल्दै गर्दा ठाकुरले कांग्रेस छोडे । ठाकुरले कांग्रेस छोड्दा कांग्रेसको उर्वरभूमि मधेसमा ठूलो घाटा भयो । ठाकुरजस्तै मधेस आन्दोलनसँगसँगै विजय गच्छदार, जेपी गुप्ता, शरत्सिंह भण्डारीजस्ता हस्तीहरू कांग्रेसबाट अलग भएका थिए । उनीहरू सबै मधेसलाई केन्द्रित गरेर क्षेत्रीय पार्टी स्थापनाको बाटोमा लागे । कांग्रेसका यस्ता दिग्गजहरू कांग्रेसबाट अलग भएको अवस्थामा पनि मधेसमा नेपाली कांग्रेसको राजनीतिमा डा. रामवरण यादव, विमलेन्द्र निधि, चित्रलेखा यादव, सीतादेवि यादवजस्ता नेता बाँकी नै थिए ।

तर अहिले डा. रामवरण यादव राष्ट्रपति भएपछि नेपाली कांग्रेसको राजनीतिबाट टाढा छन् । विमलेन्द्र निधि कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको प्रत्याशी बने । निधिको सभापतिमा जित हात पार्ने लक्ष्य त थिएन । तर उनले सोचेजस्तो सम्मानित मत आएन, जसका कारणले अहिले उनी सन्तुष्ट छैनन् । त्यति मात्र होइन उनी प्रदेश नम्बर २ मा आफू पक्षका नेतालाई नेतृत्वमा स्थापित गराउन चाहान्थे । उनी सभापतिका अर्का प्रत्याशी डा. शेखर कोइराला पक्षसँग मिलेर प्रतिस्पर्धामा रामसरोज यादवलाई मैदानमा उतारे । तर देउवा पक्षले घेराबन्दीका कारण सफल भएनन् । त्यस्तै कांग्रेसको राजनीति छोडेर मधेसी दल खोलेका विजय गच्छदार नेपाली कांग्रेसको राजनीतिमा फर्किएका थिए । उनी नेपाली कांग्रेसको उपसभापति पनि भए । तर अहिले उपसभापतिमा पराजित भएपछि उनी पनि कांग्रेसको राजनीतिबाट पाखा परेका छन् । त्यति मात्र होइन भ्रष्टाचारको मुद्दाका कारणपनि उनी राजनीति जीवनबाटै पाखा पर्नुपर्ने अवस्था देखिएको छ ।

चित्रलेखा यादवले पनि पदाधिकारीको आकांक्षा राखेकी थिइन् । उनी पदाधिकारीको उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाको समूह तयार नभएपछि खुलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बन्ने आकांक्षा थियो । तर उनलाई प्रदेश नम्बर २ को भूगोलबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाइयो । उनले पनि १४ औं महाधिवेशनबाट आफू उत्साहित नभएको निकटहरूसँग बताउने गरेकी छन् । त्यस्तै निवर्तमान कोषाध्यक्ष सीतादेवी यादव यो पटक महाधिवेशनमा उम्मेदवार नै बनिनन् । उनले आफ्ना छोरा डा. सुभाषचन्द्र यादवलाई नेतृत्वमा स्थापित गर्ने चाहना राखेकी थिइन् । तर चरम गुटबन्दीका कारण मधेसी कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका डा सुभाष सफल हुन सकेनन् । आफू उम्मेदवार नबनेर छोरा सुभाषलाई स्थापित गराउने आकांक्षामा तुषारापात भएपछि कतै न कतै सीतादेवी यादवको पनि मन अमिलो बनेकै होला ।

स्थापित हुँदै गरेका अनुहार पाखा परे

नेपाली कांग्रेसको मधेसको राजनीतिमा दोस्रो पुस्ता तथा स्थापित हुँदै गरेका नेताहरूमा रामकृष्ण यादव, किरण यादव, तेजुलाल चौधरी, रञ्जित कर्णलगायतका नेताहरू पर्ने गर्दछन् । तर यी अनुहार सबै १४ औं महाधिवेशनमा कांग्रेसको नेतृत्वबाट विस्थापित भए । रामकृष्ण, तेजुलाल र कर्ण सहमहामन्त्रीको उम्मेदवार बनेका थिए । तर तीनै जना सहमहामन्त्री बन्ने सकेनन् । कर्ण पनि डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बन्दा रामकृष्ण यादवलाई घाटा भयो ।

त्यस्तै तेजुलाल थारू तर्फको समावेशी क्लस्टरबाट सहमहामन्त्रीको उम्मेदवार बनेका थिए ।तर उनी पनि सफल हुन सकेनन् ।किरणयादवलाई त घेराबन्दीमा पारेर नै पराजित गराइयो । मुक्ता यादव, नागिना यादवहरूले मधेसी महिलाहरूले मधेसी महिलाको कोटाबाट जित हात पारे । तर किरण यादव जत्तिको मधेसमा स्थापित महिला नेतृलाई पराजित गराइयो ।

मधेस हाँक्ने जिम्मा यी नेतालाई

अब नेपाली कांग्रेसको मधेसको राजनीति हाँक्ने जिम्मा महेन्द्र यादव, फरमुल्ला मन्सुर, उमाकान्त चौधरी, विनोद चौधरी, डा.चन्द्रमोहन यादव, मुक्ता यादव, नागिना यादवको हातमा पुगेको छ । महेन्द्र यादव अब मधेसको सबैभन्दा शक्तिशाली नेता भएका छन् । सभापति शेरबहादुर देउवाको समूहबाट पदाधिकारी बनेका उनलाई देउवाले विमलेन्द्रको विकल्पका रूपमा अगाडि सारेका छन् ।महेन्द्रले रामकृष्ण यादवलाई पराजित गर्दै सहमहामन्त्रीमा जितहात पारेका हुन् ।

त्यस्तै फरमुल्लामन्सुर मधेसका स्थापित नेता हुन् । उनी मधेसको मात्र नभएर मुसलमान समुदायको पनि स्थापित नेता हुन् । मधेसमा अर्को सहमहामन्त्री उमाकान्त चौधरी यो महाधिवेशनबाट नेतृत्वमा स्थापित भएका छन् । त्यस्तै कांग्रेसको १४ औं महाधिवेशनपछि मधेसको भागबाट केन्द्रीय सदस्य बनेका विनोद चौधरीमा अब कांग्रेसको मधेसको राजनीति जोगाउनुपर्ने दायित्व पुगेको छ । विगतमा रामकृष्ण यादव, किरण यादव, तेजुलाल चौधरीको भूमिकामा अहिले विनोद चौधरी, डा. चन्द्रमोहन यादव, मुक्ता यादव र नागिना यादवको काँधमा आएको छ । रामकृष्ण यादव, किरण यादव, तेजुलाल चौधरी विस्थापित भएर विनोद चौधरी, डा. चन्द्रमोहन यादव, मुक्ता यादव र नागिना यादवहरूले कांग्रेसको मधेसको राजनीति कत्तिको जोगाउँछन् भन्ने प्रतीक्षामा कांग्रेस कार्यकर्ता रहेका छन् । विगतमा महन्थ, रामवरण, अहिले विमलेन्द्र, विजयहरूको भूमिकामा अब भोलि महेन्द्र यादव, उमाकान्तले धान्नुपर्ने अवस्था देखिएको छ ।

बीपी कोइराला, सरोज कोइराला, तेजबहादुर अमात्य, महेन्द्रनारायण निधि, शेख इद्रिसजस्ता नेता मात्र नभएर नेपाली कांग्रेसले गरेको क्रान्तिका बेलामा सिंगै कांग्रेसको विरासत बोकेको मधेसमा क्रमशः वजनदार नेताहरूको अभाव देखिन थालेको छ । मधेसमा कांग्रेसको विगतको विरासत धान्नका लागि १४ औं महाधिवेशनबाट आएको मधेसको नेतृत्व कत्तिको सफल हुन्छ अनि मधेसका नेताहरूलाई मूल नेतृत्वले कतिको समेट्न सक्छ भन्नेले भोलिका दिनमा मधेसमा नेतृत्वको संकट के हुन्छ भन्ने देखाउँछ ।