देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई गेटबाटै छिर्न दिएन

देशान्तर


काठमाडौं-विराटनगरको नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ ।

बुधबार शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालेको कलेज प्रशासनले बिहीबार विद्यार्थीलाई गेटबाटै प्रवेश नदिएको हो ।

नोबेल मेडिकल कलेज काङ्ग्रेस नेता सुनील शर्माले सञ्चालन गर्दै आएका छन् । गेटमै रोकेकामा विद्यार्थीले विरोध गरेपछि छलफलका लागि पाँच जना अभिभावकलाई भने प्रवेश दिइएको थियो । अभिभावक र कलेज प्रशासनबीचको छलफल बिना निष्कर्ष टङ्गिएको एक विद्यार्थीले देशान्तरलाई बताए ।

पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले एक वर्षको साढे तीन लाख भन्दा बढी अतिरिक्त रकम माग गरेको छ । पुस ११ गतेदेखि अतिरिक्त शुल्क बुझाउने विद्यार्थी मात्रै अध्ययन गरिरहेका छन् । कलेजमा ९६ विद्यार्थी भर्ना भएका छन् ।

तीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्ति पाएका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थी अध्ययन गरिरहेका छन् । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीले भने प्रवेश नपाएको विद्यार्थीहरुले गुनासो गरे ।

कलेजले अतिरिक्त शुल्क मागेपछि अभिभावक र विद्यार्थीले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका थिए । स्थानीय प्रशासनले अतिरिक्त शुल्क नलिन निर्देशन दिएपनि अटेर गर्दै कलेज प्रशासनले विद्यार्थीलाई रोकेको हो ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाबाहिरको मेडिकल कलेजमा ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तोकेको छ । नोवेलले आयोगले तोकेको भन्दाबाहेक इन्टर्नसीप, होस्टल (अनिवार्य) र रजिस्टेशनलगायत शीर्षकमा अतिरिक्त शुल्क मागिरहेको अभिभावकको गुनासो छ ।