देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापति देउवामा परिवर्तनकारी र रूपान्तरणको सोच आउन जरुरी छ : सहमहामन्त्री परियार

देशान्तर

नेपाली कांग्रेसको १४औं महाधिवेशनको नया“ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आउने क्रममा रहेको छ । नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डाका साथ सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला भलै सभापतिमा पराजित भए पनि अहिलेको नेतृत्वमा युवाहरूले वर्चस्व जमाएर आएका छन् । १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री बनेर पराजित भएका गगन थापा यस पटक शेखर टिमबाट प्रतिस्पर्धामा थिए । यसैगरी अघिल्लो कार्यकालभरि सभापति देउवालाई प्रवक्ताको रूपमा दरिलो साथ दिए पनि अन्तिममा महामन्त्रीको उम्मेदवार बनाउन आग्रह गर्दा देउवाले अस्वीकार गरेपछि गुट परिवर्तन गरेर प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका विश्वप्रकाश शर्माले जित निकाले । पार्टीको मुख्य चाबी महामन्त्रीस“ग हुने भएकाले पनि गगन र विश्वप्रकाशको जितलाई पुस्तान्तरण र रूपान्तरणका रूपमा बुझिएको छ । यसैगरी यो महाधिवेशनमा ८ जना सहमहामन्त्री पदको पनि चुनाव भएको थियो । त्यो चुनावबाट पनि दलिततर्फ युवा नेता जीवन परियारको विजयले पनि अब नेपाली कांग्रेस युवाहरूको नेतृत्वमा अघि बढ्ने र गतिशील हुन्छ भन्ने अपेक्षा गर्न सकिने अवस्थामा पुगेको बताउने गरिन्छ । सहमहामन्त्रीमा निर्वाचित जीवन परियारस“ग देशान्तर साप्ताहिकका लागि मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

जीवनजी, सहमहामन्त्रीमा निर्वाचित हुनुभयो, सर्वप्रथम तपाईंलाई बधाई ।
धन्यवाद । यो समग्र नेपाली कांग्रेसको जित हो । अब विगतको भन्दा फरक तरिकाले अझ भनौं गतिशील तरिकाले पार्टी अगाडि बढ्छ । सहमहामन्त्रीमा म लगायत ८ जना साथीहरू निर्वाचित हुनुुभएको छ भने हामीभन्दा माथि अरू ४ जना पदाधिकारी पनि हुनुहुन्छ । सभापतिमा निर्वाचित शेरबहादुर देउवाबाहेक अरू सबै पदाधिकारीहरू हाम्रो पुस्ताका भएकाले सभापतिले हामीहरू सबैका कुराहरू सुनेर अघि बढ्नुहुन्छ भन्ने हाम्रो बुझाइ छ । अब हामी नेपाली कांग्रेसलाई सुदृढ र एकताबद्ध कांग्रेस बनाएर मुलुकको पहिलो पार्टी बनाउने अभियानमा जुटिसक्यौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सन्देश के हो त ?
नेपाली कांग्रेसको १४औं महाधिवेशन विशेष परिस्थितिमा भयो । नेपाली कांग्रेस विगतको जस्तो होइन कि परिवर्तन गर्ने गरी महाधिवेशन हुन्छ भन्ने कुरा हामीले उठाउँदै आएको हो । हामीले नेतृत्व पनि परिवर्तन गरेर जानुपर्छ र पार्टी पनि रूपान्तरण हुनुपर्छ भन्ने मूल एजेन्डाका साथ हामीहरू अगाडि बढेका हौं । मूल नेतृत्वमा त हामीले परिवर्तन गर्न सकेनौं । तर अरू पदमा भने हामीले परिवर्तन गरेर देखाएका छौं । अझ भनौं, युवाहरूको नेतृत्व स्थापित गर्न हामी सफल भएका छौं । धनराज दाइ, विश्वप्रकाश र गगनलगायत अन्य युवाहरूको जितले पार्टीमा रूपान्तरण हुन थालेको सन्देश भने पक्कै दिएको छ ।

पहिलादेखि नै तपाईंहरू अझ भनौं सभापतिबाट शेरबहादुर देउवालाई हटाउनुपर्छ भन्ने अभियानमा हुनुहुन्थ्यो, पदहरू धेरै भएकाले युवाहरू आए यसलाई कसरी रूपान्तरण मान्ने ?
व्यक्ति परिवर्तनले मात्रै कांग्रेस पार्टी रूपान्तरण हुन्छ भन्ने अर्थ र व्याख्या होइन । नेपाली कांग्रेस पार्टीमा एउटा आमूल परिवर्तन र रूपान्तरणको अझैं खाँचो छ । हाम्रो विचारमा नयाँ खालको सोच र ढंगबाट अगाडि बढ्नु पर्छ । व्यक्ति परिवर्तनले मात्रै सबै कुरा परिवर्तन हुन होइन । शेरबहादुर देउवा जो पार्टी सभापति हुनुभएको छ, उहाँमा पनि परिवर्तनकारी र रूपान्तरणको सोच आउन जरुरी छ । हिजो जसरी पार्टी सञ्चालन भयो, अब पनि त्यसैगरी सञ्चालन भयो भने, त्यसलाई हामी रूपान्तरण मान्न सक्दैनौं । सभापतिमा उहाँ फेरि पनि दोहोरिनुभयो उहाँप्रति हाम्रो आदरभाव र सम्मान छ । उहाँको नेतृत्व हामीले सहर्षरूपमा स्वीकार गर्नुपर्छ । एउटा अधिवेशनबाट जसरी एउटा म्यान्डेट प्राप्त गरेर पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा निर्वाचित हुन्छौं । तर निर्वाचित भएर मात्र पुग्दैन, हिजो जसरी पार्टी सञ्चालनमा कमी, कमजोरीहरू देखिए, त्रुटिहरू देखिए आमजनता र कार्यकर्ताको भावनालाई ठेस पुगेको छ । यी कुराहरूमा हामीले परिवर्तन खोजेको हो ।

तपाईंहरूकै समूहमा सहमति नहुँदा त हो नि सभापतिमा व्यक्ति परिवर्तन गर्न नसकेको ?
सभापतिका लागि भएको निर्वाचनको पहिलो चरणको नतिजा हेर्दा पनि धेरै कुराहरू थाहा हुन्छ । सभापतिका उम्मेदवार शेखर कोइरालाले प्राप्त गरेको मत र अन्य व्यक्तिहरूले प्राप्त गरेको मत । यी सबै कुरालाई आकलन गरेर हेर्ने हो भने यो पनि एउटा महत्वपूर्ण कारण हो भन्ने लाग्छ मलाई । हाम्रो विचार समूह भित्र सभापतिका चार जना प्रतिस्पर्धी देखिनु भएको थियो । चारजनाका बीचमा हामीले सहमति गर्ने प्रयास ग¥यौं । उहाँहरूले के भन्नुभयो भने ‘हामी चार जनाबाहेक यो विचार समूहमा भएका केन्द्रीय सदस्यहरू बसेर निर्णय गर्नुस् हामीहरू मान्छौं भन्नुभयो ।’ त्यसैअनुसार हामीले समझदारी तयार गरेका थियौं । तर त्यो समझदारी कार्यान्वयन हुन सकेन । समझदारी कार्यान्वयन नभएपछि अहिलेको यो परिस्थिति सिर्जना भयो ।

पहिला पुस्तान्तरण रूपान्तरण भन्नेहरू पछि किन उता मिल्न गए, यसमा तपाईंको टिप्पणी ?
हो । सभापतिका पाँचमध्ये चार जना उम्मेदवारले पहिलो चरणको निर्वाचनसम्म पुस्तान्तरण र रूपान्तरणको एजेन्डामा खुबै जोडतोडले उठाउनु भएकै हो । तर दोस्रो चरणमा शेखरलाई हराउने विषयमा उहाँहरूले आफ्नै एजेन्डा बिसाएर उता लाग्नु भयो । के कति कारणले उहाँहरू उतातिर लाग्नु भयो त्यो कुरा त मलाईभन्दा उहाँहरूलाई नै सोध्दा उपयुक्त हुन्छ कि ।

तपाईंहरूको समूहमा नेता परिवर्तन भएको हो त ?
स्वाभाविक रूपमा हाम्रा अग्रज नेताहरू पनि यो समूहमा हुनुहुन्छ । आदरणीय नेता रामचन्द्र पौडेल, निवर्तमान महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंह पनि हाम्रो नेता हुनुहुन्छ । सभापतिको प्रतिस्पर्धामा हाम्रो समूहबाट डा. शेखर कोइराला रहनु भएको थियो र उहाँले हाम्रो विचार समूहबाट दोस्रो स्थान प्राप्त गर्नुभयो । यो समूहमा रहेका रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंहले यो समूह त्याग्नु भएको हो वा यही समूहमा रहन चाहनुहुन्छ भन्ने कुरा थाहा पाउन केही समय कुर्नुपर्ने हुन्छ ।

भनेको उहाँले नै प्रष्ट पार्नुपर्ने हो ?
उहाँहरू अहिलेसम्म हाम्रै समूहमा रहनु भएको छ ।

ए, अझै पनि प्रकाशमानलाई तपाईंहरूले समूहमै राख्ने ?
यो कुरामा प्रकाशमानको धारणा नबुझिकन उहाँको बारेमा टिप्पणी गर्नु सान्दर्भिक हुँदैन जस्तो लाग्छ ।

तपाईहरूको समूहको ४१ प्रतिशत मत आयो, अब पनि ६०–४० को भाग खोज्दै बस्ने हो कि ?

हाम्रो समूहबाट सभापतिको प्रतिस्पर्धामा आउनु भएका शेखर कोइराला हुनुहुन्छ । हामीले सुरुमै पनि भनेका छौं । हामी भागबन्डा खोज्दैनौं पार्टीभित्र सबै समूहका साथीहरूलाई न्यायोचित व्यवस्थापन गर्नुपर्छ भनेका छौं ।

न्यायोचित व्यवस्थापन भनेको के हो यसलाई प्रष्ट पारिदिनुस् त ?
धेरै साथीहरूको त्याग, तपस्या र बलिदान वा नेपाली कांग्रेस पार्टी अहिले यो ठाउँमा आइपुगेको छ । हिजो भागबन्डाका नाममा जस्तो पनि व्यक्तिलाई नेतृत्व तह र अन्य ठाउँमा पु¥याएका घटनाहरू छन् । त्यसका बारेमा विभिन्न खालका टीकाटिप्पणीहरू हुने गरेका छन् । पार्टी एउटा लोकतान्त्रिक विधिबाट नेतृत्व चयनको अभ्यासमा गएका हौं । नेतृत्व चयनबाट नै केही परिवर्तन अहिले देखिएको छ । जुन पदाधिकारी र केन्द्रीय समिति चयन हुन्छ । यो त सिंगो नेपाली कांग्रेसको केन्द्रीय समिति हो । यो त कुनै टिमको वा गुटको मात्रै केन्द्रीय समिति होइन । अहिलेको केन्द्रीय समितिल सिंगो नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । सिंगो कांग्रेसको प्रतिनिधित्व गर्दै गर्दा पार्टीभित्र भएका नेता तथा कार्यकर्ताहरू न्यायोचित व्यवस्थापन गर्न सक्नु नै सबैभन्दा ठूलो काम हो । त्यसले गर्दा हामीले भागबन्डा खोज्दैनौं । हामीलाई यति प्रतिशत चाहियो भनेर पनि भन्दैनौं । कुनै पनि ठाउँमा पठाउनु पर्ने व्यक्ति सही भए कि भएनन् त्यसको हामी मूल्यांकन गर्छौं ।

सभापति देउवाको कार्यशैली विगतकै जस्तो रह्यो भने ?
नवनिर्वाचित सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँसँग लामो अनुभव पनि छ । १३औं महाधिवेशनबाट निर्वाचित भएर एक कार्यकाल बिताउँदै गर्दा उहाँले गरेका त्रुटिहरू यो कार्यकालमा सच्चिन्छन् भन्ने हाम्रो बुझाइ हो । उहाँले विगतबाट पाठ सिकेर अबको कार्यकालमा पार्टी सञ्चालन गर्ने विधि र पद्धतिमा परिवर्तन ल्याउन सक्नुहुन्छ कि भन्ने हाम्रो अपेक्षा हो । त्यस्तो गराउनका लागि हामीहरूले पनि निरन्तर दबाब सिर्जना गर्न सक्छौं । यस्तो हुँदा सभापति देउवा नयाँ ढंग र सोचबाट अगाडि बढ्नुहुन्छ भन्नेमा आशावादी पनि छौं ।

राष्ट्रिय निर्वाचनहरू आइरहेका बेला तपाईंहरूको महाधिवेशन भएको छ, यसको तुष रहला फेरि, विगतको अभ्यास त राम्रो छैन कांग्रेसको ?
एउटा कुरा के बुझ्नुपर्छ भने ‘चाहे राजनीतिमा होस्, चाहे खेलकुदमा होस्’ टिमटिमका बीचमा प्रतिस्पर्धा गर्ने अभ्यासमा पुगिसकेपछि स्वाभाविक रूपमा एउटा व्यक्ति वा आवश्यक संख्यामा विजयी हुन्छ । बाँकी साथीहरूले यसमा असहयोग र असन्तुष्टि जनाएर कुनै पनि संगठनले जीवन्तता प्राप्त गर्न सक्दैन । त्यसैले एउटा अभ्यासमा छिरेका छौं यसमा हामी सफल हुन्छौं वा सफलताको नजिक पुग्छौं त्यसले अर्थ राख्दैन र राख्न पनि हुँदैन । विगतमा यस्ता असन्तुष्टिहरू चुनावसम्म जाने वा पार्टीका निर्वाचनमा देखिने गरेका छन् त्यसलाई हामीले न्यूनीकरण गर्दै जानुपर्छ ।

तीन तहकै निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ भनेर सभापतिले भनिदिनुभयो, कम्युनिस्टहरू फुटेका कारणले कि कांग्रेसको संगठनका कारणले पहिलो ?
नेपाली कांग्रेस पार्टीमा आकर्षण नबढेको त होइन । आकर्षण सँगसँगै केही असन्तुष्टिका स्वरहरू पनि आएका छन् । पार्टीभित्र भएका गतिविधिहरू र निर्णयहरू बाहिर सार्वजनिक हुँदा त्यसबाट धेरै निराश पनि भएका छन् । त्यसकारण यस विषयमा हामीले समयमै ध्यान दिन सकेनौं भने हामीले खोजेको जस्तो नतिजा प्राप्त गर्न सक्दैनौं । त्यसका लागि राम्रो तयारी र व्यवस्थापन गर्न जरुरी छ ।

अहिलेको नेतृत्वलाई सबैभन्दा सहज कुरा के हो ?
सबैभन्दा सहज कुरा भनेको वर्तमान सभापति शेरबहादुर देउवा अर्को कार्यकालका लागि उहाँ सभापतिको उम्मेदवार हुनुहुन्न । नेपाली कांग्रेसको विधानले कुनै पनि व्यक्ति लगातार दुई पटकभन्दा बढी सभापति बन्न पाउँदैन । बीपी कोइरालाले स्थापना गरेको पार्टी सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै शेरबहादुर देउवासम्म आइपुगेको छ । त्यसैले वर्तमान सभापति देउवासँग अवसर पनि छ र सँगसँगै चुनौती पनि छ । त्यसकारण देउवाले पार्टी निर्माण गर्ने कुरामा विशेष ध्यान दिनु हुनेछ । उहाँले गुटलाई प्रश्रय दिनु हुने छैन । उहाँले सिंगो नेपाली कांग्रेसलाई फाइदा हुने गरी काम गर्नु हुनेछ भन्ने लागेको छ । यस्तो गरेमा देउवा पनि इतिहासमा सफल नेतृत्वकर्ताको रूपमा आफ्नो नाम दर्ज गराउन सक्ने अवस्थामा पुग्नु हुनेछ यस्तो गरेमा उहाँलाई नै फाइदा हुनेछ ।

अहिलेको नेतृत्वको चुनौती के हो त ?
हाम्रा प्रतिस्पर्धी पार्टी र पार्टीको संगठन र भ्रातृ संगठनको अस्तव्यस्तता जनसम्पर्क समितिमा भएका विवादहरू र पार्टी संगठन निर्माणमा देखिएका जुन धेरै चुनौतीहरू छन्, त्यसमा सभापतिले कस्तो बाटो तय गर्न खोज्नुहुन्छ, त्यसले पनि भर पार्छ । सँगसँगै पार्टी सभापति प्रधानमन्त्री पनि भएको हुनाले सरकारले गर्ने दैनिक निर्णयले पनि नेपाली कांग्रेसको सिंगो संगठनलाई पनि असर गर्छ । त्यसैले सभापतिले गल्ती गर्दा प्रधानमन्त्रीलाई असर गर्ने, प्रधानमन्त्रीले गल्ती गर्दा सभापति अथवा कांग्रेसलाई असर गर्छ । यी दुई वटा चुनौतीको बीचमा सभापति हुनुहुन्छ ।

अहिलेको मत परिणाम हेर्दा प्यानल त कसैको आएन, यसले काम गर्न सहज कि असहज होला ?
आफूसँग कुनै व्यक्ति नजिक थिएन । तैपनि उसले चुनाव जितेर केन्द्रीय कार्यसमितिमा आयो भन्दैमा असहज मान्न हुँदैन । हामी जो निर्वाचित भएका छौं सबै पार्टीको लोकतान्त्रिक विधि र प्रतिस्पर्धाबाटै आएका हौं । जसरी सभापति निर्वाचित हुनुभयो हामी पनि त्यसैगरी निर्वाचित भएका हौं । आफूलाई स्वीकार गर्नुपर्ने अरूलाई अस्वीकार गर्छु भन्ने लोकतान्त्रिक विधि र पद्धतिमा हुनै सक्दैन । त्यसैले महाधिवेशन प्रतिनिधिले दिएको म्यान्डेटलाई सहर्ष स्वीकार गर्नुपर्छ ।