देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष ढुंगाना अख्तियारको छानबिनमा

देशान्तर


काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको छ । पदको दुरुपयोग गरी छोरीलाई शेयर दिलाएको र अस्वाभाविक कारोबार गरेको आरोपमा अख्तियारले ढुंगानामाथि विस्तृत अनुसन्धान थालेको हो ।

‘पदीय मर्यादा विपरीत व्यक्तिगत लाभका लागि बुक बिल्डिङ विधि मार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा लिएको आरोप उहाँमाथि छ’ अख्तियार स्रोतले देशान्तरलाई भन्यो । उहाँले भ्रष्टाचार गरेको देखिएमा कानून बमोजिम विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।’

 

ढुंगानाविरुद्ध अख्तियारमा २०७८ साउन १४ गते सी-२१२२ दर्ता नम्बरको उजुरी परेको थियो । त्यसयता परेका अन्य उजुरीसमेत समेटेर अख्तियारले छानबिन गरिरहेको हो । अख्तियारले उनको बयानसमेत लिइसकेको स्रोतले बतायो ।

अख्तियारका प्रवक्ता नारायण रिसालले अनुसन्धान भइरहेको विषयबारे विस्तृत विवरण खुलाउन नमिल्ने बताए । उनले भने, ‘कतिपय विषय त आयोगबाट एकैपटक मुद्दा दायर भएपछि मात्रै सार्वजनिक हुन्छन् । त्यो विषयमा पछि खबर गरौला ।’ ढुंगानालाई यस विषयमा कुराकानी गर्न पटक पटक प्रयास गरेपछि उनी सम्पर्कमा आउन चाहेनन् ।

ढुंगानाविरुद्ध अख्तियारमा मात्रै नभई अर्थ मन्त्रालयमा समेत उजुरी परेको थियो । अर्थ मन्त्रालयले उजुरीमाथिको छानबिनका क्रममा समिति नै बनाएको थियो । मन्त्रालयले अख्तियारको पत्र समेतका आधारमा समिति बनाएको भनी उल्लेख गरेको थियो ।

समितिले थप जाँचबुझ हुनुपर्ने राय दिएपछि मन्त्रिपरिषदले ढुंगानामाथि छानबिन गर्न पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले दिएको रायको आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरिसकेको छ ।

आफूमाथि गैरकानूनी रुपमा छानबिन समिति बनाइएको र आफूलाई गलत ढंगले पदबाट हटाइएको दावी गर्दै ढुंगानाले सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट दायर गरेका छन् । ती मुद्दा हाल विचाराधीन अवस्थामा छन् ।