देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हवाईमार्गबाट दुई हप्तामा भित्रियो करिब ९४ केजी सुन

देशान्तर


काठमाडौं-त्रिभुवन विमानस्थलबाट दुई हप्तामा करिब ९४ केजी सुन नेपाल भित्रिएको छ । मङ्सिर १३ गतेदेखि २६ गतेसम्म दुई हजार ५२ जना यात्रुले करिब ९४ केजी सुन नेपाल ल्याएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार विभागका अनुसार बितेको दुई हप्तामा दुई हजार ५२ जना यात्रुले करिब ९४ केजी सुन ल्याएका हुन् । जसमा एक हजार ८९७ जना यात्रुले करिब ८७.५ केजी सुन राजश्व तिरेर लगेका छन् भने बाँकी ६.५ केजी सुन भन्सार कार्यालयको लकरमा रहेको छ । उक्त बाँकी रहेको सुन ६० दिनभित्र भन्सार तिरेर लैजान सकिने भन्सार विभागले जनाएको छ ।

हालसम्म भित्रिएको सुनको बजार मूल्य करिब ७४ करोड रुपैयाँ विभागले जनाएको छ । यस अवधिमा सुनबाट मात्रै करिब ८ करोड ३८ लाख राजश्व संकलन भइसकेको छन् । त्यस्तै जाँचपास हुन बाँकी रहेको सुनबाट करिब ६३ लाख राजश्व संकलन हुनेछ । यस अवधिमा सुनबाट मात्रै त्रिवि भन्सारले करिब ९ करोड राजश्व संकलन गरेको छ ।

अवैध सुन आयात भएको देखिएपछि अर्थ मन्त्रालय र मातहतको भन्सार विभाग तथा त्रिवि भन्सार कार्यालयले मङ्सिर १३ गतेदेखि विशेष निगरानी शुरु गरेको थियो । सुरुवाती दिनमा दैनिक २१ केजीसम्म सुन भित्रिएकोमा पछिल्ला केही दिन यता सुन भित्रिने क्रम घटेको विभागले जनाएको छ । पहिलो हप्ता करिब ७३ केजी सुन नियन्त्रणमा लिइएकोमा दोस्रो हप्ता २१ केजीमा मात्रै भित्रिएको थियो ।

भन्सार विभागका अनुसार सुन ल्याउने तीन प्रकारका भिसाधारी रहेको पाइएको छ । जसमा वैदेशिक रोजगारमा गई स्वदेश फर्किदा व्यक्तिगत प्रयोजनका लागि सुन खरिद गरेर नेपाल ल्याउने १० प्रतिशत, पर्यटन भिसामा विदेश गई व्यक्तिगत प्रयोजनका लागि सुन ल्याउनेको सङ्ख्या १० प्रतिशत र वैदेशिक रोजगारबाट फर्किदा भरियाको रूपमा अन्य व्यक्तिको सुन लिएर फर्किनेको सङ्ख्या ८० प्रतिशत रहेको छ ।