देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओमिक्रोनको त्रासः सरकारले अनावश्यक काममा घरबाहिर ननिस्कन आग्रह गर्यो

देशान्तर


सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

बुधबार मन्त्रालयले कोरोना भाइरसको नयाँ रुपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

अहिलेसम्म नेपालमा कोरानाको नयाँ रुप आइनसकेको भए पनि यसबाट बच्न अन्तर्राष्ट्रिय नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको र परीक्षणको दायरा बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनले सरकारले विदेश जाने/आउने कुराहरु, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिहरुलाई कम गर्न अनुरोध गरेको पनि जानकारी दिए । सह प्रवक्ता अधिकारीले नेपालमा कोभिड-१९ का खोप अभियानहरु धेरै प्रभावकारी रहेको पाइएकोले खोप अभियानलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले यो भेरियन्ट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले यो अवस्थालाई मध्यनजर गर्दै सरकारले विभिन्न नाका र स्थानहरुमा निगरानी बढाएको बताए ।
सहप्रवक्ता अधिकारीले भने, ‘कोभिड १९ संक्रमण गराउने भाइरस डिसेम्बरको अन्तिममा सफल भएसँगै यसले आफ्नो रुपहरु परिवर्तन गर्दै गएको छ । यस किसिमको भाइरसले आफ्नो रुप परिवर्तन गर्न सक्छ भन्ने कुराहरु विश्वव्यापी रुपमा सम्बन्धित चिकित्सा विज्ञानका विज्ञहरुलाई पहिलैदेखि थाहा भएको विषय हो । रुप परिवर्तन गर्ने क्रममा सामान्य परिवर्तन र जटिल किसिमका परिवर्तन दुई वटामा कुन बढी परिवर्तन भएको हो भन्ने कुराले बढी महत्व राख्दछ । सामान्य परिवर्तन नियमित भइरहेको हुन्छ ,।

त्यसले खासै प्रभाव पार्ने हुँदैन । अलि जटिल किसिमको परिवर्तन हुँदा त्यसको बनावटमा तलमाथि पर्छ र त्यसले संक्रमण हुने, लक्षण देखाउने, यावत कुराहरुमा फरक पार्न सक्ने हुन्छ । अहिले पछिल्लो समय नयाँ भेरियन्टको रुपमा रुपा परिवर्तन गरेपछि त्यसलाई धेरैले रुप परिवर्तन भएको भनेर हामीले भन्ने गरेका छन् । त्यो परिवर्तित भेरियन्ट नयाँ रुपमा देखा परेको छ । त्यो भेरियन्ट यद्यपी नेपालमा आइसकेको छैन । त्यो भेरियन्ट नयाँ भेरियन्टहरु एक ठाउँबाट अर्को ठाउँमा बोकेर जाने हो । मानिस संक्रमित भएपछि अर्को ठाउँमा पुगेपछि अर्को व्यक्ति संक्रमित भएको आधारमा उहाँबाट फेरि अर्को व्यक्तिमा सरेर उहाँबाट फैलिने अवस्था हो । यो कुराहरुलाई मध्यनजर गरेर नेपाल सरकारले विदेश जाने/आउने कुराहरु, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिहरुलाई कम गर्न अनुरोध गरेको हो । संक्रमण रोकथाम नियन्त्रण गर्नलाई मानिसहरुको आवतजावतलाई व्यवस्थित गर्न, मानिसहरुको जनस्वास्थ्य मापदण्डका पालनाहरुको निरन्तरता राख्न, कोभिड १९ को खोप अभियानलाई निरन्तरता राख्न आवश्यक हुन्छ । यही सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरेर अत्यावश्यक काम भन्दा बाहेक घरभन्दा बाहिर ननिस्किन, अत्यावश्येक बाहेक विदेश जाने आउने काम नगर्न, नगराउनु हुन अनुरोध गरेको अवस्था हो । त्यही माध्यमबाट संक्रमण आउने, जाने भएको हुनाले सरकारले अन्तर्राष्ट्रिय नाकाहरुमा निगरानीका कामहरु बढाएको छ । परीक्षणका कामहरुलाई बढाएको छ । सिक्वेन्सीका कामहरुलाई बढाएको छ । यसो गर्दा भेरियन्ट आइहाल्यो भने पनि चाँडै पत्ता लगाउन सजिलो हुन्छ । चाँडै पत्ता लाग्दा थप अरु सुरक्षा, सावधानी अपनाउन सहज हुन्छ ।

पुष्टि भएको भेरियन्टका सन्दर्भमा धेरै कुराहरु आएको छैनन् । जति तथ्य आएका छन् त्यसकै आधारमा हामीले लिएको जनस्वास्थ्यका मापदण्डहरु, हामीले लगाइरहेका कोभिड १९ का खोप अभियानहरु धेरै प्रभावकारी रहेको पाइएको छ । हामीले निरन्तर खोप अभियानलाई सफलतातिर लैजानु पर्छ । धेरै भन्दा धेरै व्यक्तिहरु खोप अभियानमा सरिक हुनुपर्छ । ता कि समाज, सबै आफन्त सुरक्षित हुन सकियोस् । यो अवस्था सिर्जना गर्नलाई सरकारले निगरानी बढाउने, जनस्वास्थ्यका मापदण्डहरुको पालना बढाउने, कोभिड १९ को खोप अभियानलाई तीव्र गतिमा लिएर जाने कामहरु गरिरहेको छ ।’

सह प्रवक्ता अधिकारीले सबै व्यक्तिहरु कोरोनाबिरुद्धको खोप अभियानमा सहभागि बन्नुपर्ने भन्दै यस कार्यलाई तीव्र गतिमा लिएर जानुपर्ने बताए ।