देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्झौताअनुसार सेवा सुविधा नदिने म्यानपावर कम्पनी कालोसूचीमा राख्न थालियो

देशान्तर


काठमाडौं-श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालो सूचीमा राख्ने बताए ।
मन्त्रीको सचिवालयकाअनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँग वैदेशिक रोजगारी र पुनःएकीकरणबारे मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र आगामी दिनमा त्यस्ता कम्पनीमा कामदार नपठाइने बताएका हुन् ।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कँदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो गर्दै पीडित श्रमिकहरूले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनु पर्दा चन्दा संकलनसमेत गर्नु पर्ने गुनासो पोखेका थिए ।
मन्त्री श्रेष्ठसमक्ष हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाउने गरेको विषयमा ध्यानाकर्षण गराएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयकाअनुसार गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरूले न्यून तलबमा काम गर्नुपरेको तथा हिंसाको सिकार भएको गुनासोसमेत गरे ।
छलफलमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिको समेत सहभागिता थियो ।