देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली नोटको कारोबारमा संलग्न ६ जना सार्वजनिक

देशान्तर

धनकुटा – नक्कली नोटको कारोबारमा संलग्न ६ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।

नक्कली नोट बनाउने कार्यमा संलग्न उनीहरूलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ हिलेका २६ वर्षीय विशाल तामाङ र २४ वर्षीय सोनम तामाङ, ताप्लेजुङको याङबरक गाउँपालिका–४ का २६ वर्षीय छितेन तामाङ, धनकुटाको महालक्ष्मी–८ का २६ वर्षीय सुमन खड्का, महालक्ष्मी–९ का वर्ष २४ का तुलसी तामाङ र २१ वर्षीय विकास तामाङ छन्।

असोज ११ गते धनकुटाको मुलघाटबाट २८ हजार नक्कली नोटसहित प्रहरीले बिशाल तामाङ र छितेन तामाङ पक्राउ गरेपछि अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले अनुसन्धानको क्रममा बिशाल तामाङको घरबाट पाँच हजार, बिशालले नै मुलघाटमा फालेको दुई हजार र सोनाम तामाङको घरबाट ६५ हजार नक्कली नोट बरामत गरेको धनकुटाका प्रहरी प्रवक्ता डिएपी दीपककुमार रायले जानकारी दिए।

सबै नोटमा एउटै नम्बर छ। प्रहरीले अनुसन्धानको क्रममा सोनाम र सुमनलाई धनकुटाको हिलेबाट, तुलसीलाई धनकुटाको सिधुवाबाट र बिकासलाई सुनसरीको इटहरीबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूले लागुऔषधको लागि नक्कली नोट प्रयोग गरेको हुनसक्ने प्रहरीले बताएको छ। पक्राउ परेकाहरूलाई नक्कली नोटको प्रयोग गराउन लगाउने एक युवालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको जनाएको छ।

थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले ती युवालाई भने सार्वजनिक गरेको छैन। सार्वजनिक भएका ६ जनालाई काठमाडौंबाट पक्राउ परेका युवाले दुई लाख नक्कली नोट दिएको अनुसन्धानबाट खुलेको डिएपी रायले बताए। चार लाखमध्ये एक लाखसहित मुलघाटबाट दुई जना पक्राउ परेपछि चार जनाले जोगिन नष्ट गरेको खुलेको छ।