देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘एउटा यस्तो प्रेम कहानी’ चलचित्रको निर्माण पक्षले भन्यो- निःशुल्क चलाउनुहोस् पैसा दिनु पर्दैन

देशान्तर

काठमाडौँ -नेपाली कथानक चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण टिमले चलचित्रलाई निःशुल्कमा चलाउन हल सञ्चालकलाई आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण थलिएको नेपाली सिने क्षेत्रलाई चलायमान बनाउन गत वर्ष माघ १ गते अल नेपाल रिलिज भएको चलचित्र एउटा यस्तो प्रेम कहानी निःशुल्क सञ्चालन गर्न आग्रह गरिएको निर्माण तथा अभिनेता शिव श्रेष्ठले बताए ।

‘कोरोनाको पहिलो लहरका समयमा बन्द भएका हलहरू खोल्ने प्रयास हामीले गरेका थियौँ अहिले सङ्क्रमण कम हुँदै जाँदा सरकारले हल सञ्चालन अनुमति दिएको छ । तर लगानी कर्ता तेस्रो लहर आउन त्रासमा छन्,’ उनले भने, ‘उनीहरूले जोखिम उठाउन नचाहेकाले हामी निःशुल्क चलाउन दिने घोषणा गरेको छौँ ।’

नेपालको कला क्षेत्र कोमामा जानु नहुने उनको धारणा छ । अहिले लगानी नउठ्ला तर, देशको सिने क्षेत्र चलायमान हुनेमा निर्माण पक्षको विश्वास छ । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ गत वर्ष माघ १ गते बाट देशभर प्रदर्शनमा आएको थियो । निर्माण पक्षले सिनेमा चलाएबापत कुनै रकम दिनु नपर्ने घोषणा गरेको हो ।

चलचित्रमा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियङ्का कार्की, कविता मानन्धर, आयुष्मान् देशराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, वसुन्धरा भुसाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, विष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन दिपेश सापकोटाले गरेका  हुन् । फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् ।

खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर चलचित्रका सह-निर्माताहरू हुन् । चलचित्रका लागि विश्व नेपाली र अस्मिता परियारले गाएको तिम्रो आँखाबाट म संसार देख्न चाहन्छु बोलको गीत अहिले पनि चर्चित छ ।