देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा लगानी गर्ने ठाउँको खाँचो छैन : अर्थमन्त्री शर्मा

देशान्तर

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीप्रतिको आकर्षण बढे पनि पर्याप्त विदेशी लगाउन भित्र्याउन नसकिएको बताएका छन् । लगानी बोर्डको दसौँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री शर्माले लगानीसँगै त्यसको सुरक्षा लगानीकर्ताका लागि महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

‘विगतको भन्दा हामीकहाँ लगानीप्रतिको आकर्षण बढेको छ । तर, अझै पनि पर्याप्त लगानी भइसकेको छैन । हामीले सुरक्षासहितको लगानीको वातावरण बनाउनुपर्ने अवस्था छ,’ मन्त्री शर्माले भने ।

उनले नेपालको आन्तरिक स्रोतसाधन र जनशक्तिलाई परिणाममुखी बनाउन वैदेशिक लगानी भित्र्याउनु जरुरी रहेको बताए । ‘नेपालमा उपलब्ध अहिलेको जो स्रोतसाधन छ, हाम्रो युवाबहुल जनशक्ति जो छ, यो नै हाम्रो मुख्य पुँजी हो ।
हाम्रो अलौकिक प्राकृतिक सुन्दरतालाई पनि पुँजीका रुपमा लिनुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘यसलाई परिणाममुखी बनाउन तथा सामाजिक न्याय र समृद्धि दिलाउनका लागि विदेशी लगानीको पनि आवश्यकता छ । त्यसमा म सरकारको एउटा अर्थमन्त्रीको हैसियतले यस क्षेत्रका कमीकमजोरीहरु सच्याएर अझ सुरक्षित लगानीको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

अर्थमन्त्री शर्माले लगानी बोर्ड नेपालमा लगानी भित्र्याउने ढोका भएको बताए । ‘लगानी बोर्ड नै हामीकहाँ लगानी भित्र्याउने ढोका हो । यो ढोकाबाट लगानीकर्ताहरु प्रवेश गर्दै–गर्दा हामीले लगानीको सुरक्षा दिनुपर्छ । तबमात्रै लगानी भित्राउन सकिन्छ, बढाउन सकिन्छ,’ उनले भने ।

मन्त्री शर्माले नेपालमा लगानी गर्ने ठाउँको कुनै अभाव नभएको बताए । ‘नेपालमा लगानी गर्ने ठाउँको खाँचो छैन । यसका लागि लगानी बोर्डको ध्यान जानुपर्छ । सरकार यसमा सकारात्मक छ,’ उनले भने । उनले नेपालमा लगानी बढाउनका लागि सरकारले ‘थ्री–पी’को अवधारणालाई अपनाउने बताए । मन्त्री शर्माले देशभित्रको निजी क्षेत्रलाई पनि उत्साहका साथ लगानी गर्ने वातावरण बनाउन सरकार लागिरहेको बताए ।