देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोपा अमेरिका फुटबलको उपाधिका लागि नेयमार र मेस्सीको भिडन्त

देशान्तर

काठमाडौँ – कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्ने भएका छन् । बुधबार बिहान कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना फाइनल पुगेपछि ब्राजिलसँगको उपाधि भिडन्त पक्का भएको हो । ब्राजिल पेरुलाई हराउँदै फाइनल पुगेको टिम हो ।

धेरैको कोपा अमेरिका फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने अनुमान थियो । र, अन्त्यमा यो अनुमान सही साबित भएको छ र कोपा अमेरिका फुटबलको रौनकता पनि थपिएको छ । किनकी ब्राजिलका सुपरस्टार नेयमार र अर्जेन्टिनाका सुपरस्टार मेस्सीबीच रोचक प्रतिष्पर्धा हुनेछ ।

दुबै जना वर्तमान फुटबल जगतकै उत्कृष्ट खेलाडी हुन् । विगतमा बार्सिलोनामा संँगै खेल्ने यी दुई खेलाडी अहिले फरक–फरक क्लबबाट खेल्छन् । आफ्नो टिमलाई जिताउन उनीहरु कीर्तिमानी गोल गर्दै आएका छन् ।

नेयमार अहिले पीएसजीमा छन् । मेस्सी बार्सिलोनामा भएपनि सम्झौताविहिन छन् । मेस्सी र नेयमार हुँदा बार्सिलोनाले च्याम्पियन्स लिग लगायत ठूला उपाधि जितेको थियो । तर नेयमारले बार्सिलोना छाडेपछि मेस्सीको टिम ठूला उपाधिबाट बञ्चित छ ।

मेस्सीको खास उपाधि भोक अर्जेन्टिनामा छ । उनले क्लबका लागि सबैथोक जितेपनि अर्जेन्टिनाका लागि अहिलेसम्म कुनै पनि ठूलो अन्तराष्ट्रिय प्रतियोगिता जित्न सकेका छैनन । उनी यसअघि दुई पटक कोपा अमेरिका फुटबलको फाइनल पुगेपनि पराजित भएका थिए ।

सन् २०१४ को विश्वकपमा मेस्सीले अर्जेन्टिनालाई फाइनल पुर्याएका थिए । फाइनलमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएर उनी उपाधि चुम्नबाट बञ्चित रहे । कोपा अमेरिका, विश्वकपको फाइनल पुगेपनि पराजित हुने अभागी खेलाडी मानिएका मेस्सीलाई यतिबेला त्यो गलत साबित गर्ने अवसर छ ।

राष्ट्रिय टिममा उपाधिविहीन मेस्सीलाई त्यो भोक मेटाउने अवसर पनि छ । तर यो फाइनल मेस्सीका लागि फलामका चिउरा चपाउनु सरह हुनेछ । युवा र क्षमतावान खेलाडीले भरिएको नेयमारको टिम दक्षिण अ‍मेरिका मात्र नभई विश्वकै शक्तिशाली फुटबल टिममध्‍ये एक हो ।