देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट आफन्त गुमाएका परिवारलाई क्षतिपूर्ति दिन भारत सर्वोच्च अदालतको आदेश

देशान्तर

 

भारतको सर्वोच्च अदालतले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई आदेश दिएको छ। न्यायाधीश अशोक भुषणको अध्यक्षतामा रहेको तीन न्यायाधीश संलग्न इजलासले यस्तो आदेश दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

क्षतिपूर्तिको रकम भने सरकार आफैँले तय गर्न सक्नेछ। कानुन व्यवसायीहरु गौरव बंसल र रीपक कंसलले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई जनही ४ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन दिन माग गर्दै रिट दायर गरेका थिए।

सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई क्षतिपूर्ति रकम तय गर्नका लागि ६ हप्ताको समय दिएको छ । त्यसपछि क्षतिपूर्ति वितरण गर्ने संयन्त्र निर्माण गर्न निर्देशन दिइएको बीबीसीले उल्लेख गरेको छ।

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस संक्रमित भएका छन्। सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना संक्रमित भएका हुन्।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ८१७ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। भारतमा अहिलेसम्म कुल तीन करोड तीन लाख ६२ हजार ८४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

ती मध्ये दुई करोड ९४ लाख २७ हजार ३३० जना संक्रमणमुक्त भइसकेका छन्। त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९८ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ।