देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित धरहराको उद्घाटन

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्मित धरहरा उद्घाटन गरेका छन् । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले उद्घाटन गरेका हुन् । तर हालसम्म धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने सकिएको छैन । धरहरा उद्घाटन भए पनि तत्काल सर्वसाधरणका लागि अवलोकन खुल्ला नगरिने भएको छ ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टि समेत गरे । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तला जस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

स्तम्भ तयार गर्न र सुनको गजुर समेत राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ । धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ ।