देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बत्ती जानुमा उर्जामन्त्रीकाे पुनरागमन कारण त हाेइन् ?

देशान्तर

बिजुली बारम्बार जान थालेपछि उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्वसूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्तामाझ शंका बढेको हो । शंका बलियो हुनुको अर्को कारण हो, कार्यकारी प्रमुख कुलमान घिसिङको पदावधि नथपिनु र ऊर्जा मन्त्रालयमा टोपबहादुर रायमाझीको पुनरागमन ।

रायमाझीको ऊर्जा मन्त्रालयबाट बहिर्गमनसँगैको संयोग थियो मुलुक लोडसेडिङमुक्त घोषणा हुनु । विद्युत् आयोजनाहरू थपिए । राष्ट्रिय प्रसारणले बिजुलीको ‘पिक डिमान्ड’ धान्न सक्ने भयो । त्यसबेला घिसिङले बिजुली पर्याप्त हुने मात्रै होइन विदेश निर्यात व्यापार पनि गर्न सकिने बताए । उनले स्वदेशी ऊर्जा छेलोखेलो भयो भन्दै सर्वसाधारणलाई विद्युत्को अधिकतम उपयोग गर्न हौस्याए ।

कार्यकाल सकिएपछि सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याएन । सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि सत्ताधारी नेकपामा विभाजन आयो । ऊर्जामन्त्री वर्षमान पुन राजीनामा दिएर सरकारबाट बाहिरिए । यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रायमाझीलाई ल्याए ।

बिजुली बारम्बार झ्यापझ्याप काटिन थाल्यो । लोडसेडिङ फर्किने शंकालु उपभोक्ताहरू यसलाई संयोग मान्न तयार छैनन् । तर यो समस्या विशुद्ध प्राविधिक भएको दाबी प्राधिकरणको छ । विद्युत् अवरुद्ध हुने समस्या अघिल्ला वर्षहरूमा पनि हुने गरेकाले लोडसेडिङ होला कि भन्नु मनोवैज्ञानिक त्रास मात्रै भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको टिप्पणी छ । गत वर्षको तुलनामा यो वर्ष कुल ऊर्जा माग बढे पनि विद्युत् प्रणालीमा कुनै समस्या नरहेको उनको दाबी छ । ‘सोमबार र मंगलबार धेरै स्थानमा प्राविधिक कारणले विद्युत् अवरुद्ध हुने समस्या देखियो,’ उनले भने, ‘यो नियोजित नभई प्राविधिक कारणले भएको हो र यसको समाधानको उपाय पत्ता लागिसकेको छ ।’

सोमबार साँझ साढे ६ बजे मध्य र मध्यपश्चिम क्षेत्रमा १५ मिनेट विद्युत् अवरुद्ध भएको थियो भने मंगलबार साँझ काठमाडौं उपत्यकाका पाटन, भक्तपुर थिमि, बानेश्वर क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने समस्या देखिएको थियो । दुई दिन प्राविधिक कारणले विद्युत् अवरुद्ध भएको र यसको समाधान भइसकेको शाक्यको दाबी छ । योबाहेक पनि मर्मतसम्भारका लागि भन्दै पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको छ । नियमित मर्मतसम्भार हुने स्थानमा प्राधिकरणले पूर्वसूचना दिएर दैनिक केही घण्टा विद्युत् अवरुद्ध गराउने भए पनि पूर्वजानकारीबिना पटकपटक विद्युत् अवरुद्ध हुन थालेपछि उपभोक्ता आजित बनेका हुन् ।

‘साउनमा पनि पटकपटक विद्युत् अवरुद्ध हुने समस्या देखिएको थियो,’ उनले भने, ‘तर अहिले प्राधिकरणबाट कुलमानजी बिदा भएपछि मानिसलाई पुनः विद्युत् लोडसेडिङ होला कि भन्ने मनोवैज्ञानिक त्रास देखिएको जस्तो लाग्छ ।’

लोडसेडिङ अन्त्यको जस पाएका प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङ गत भदौमा आफ्नो चारवर्षे कार्यकाल सकाएर प्राधिकरणबाट बिदा भएका थिए । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ भने प्राधिकरण व्यवस्थापनले माग, आपूर्ति र पूर्वाधारको व्यवस्थापन गरे मात्रै अहिलेको समस्या समाधान हुने टिप्पणी गर्छन् । ‘समस्या देखिएको स्थानमा तत्काल रेस्पोन्स गर्ने, पूर्वाधारलाई चुस्तदुरुस्त राख्ने र माग अनि आपूर्तिको तालमेल मिलाए अहिलेको समस्या समाधान हुन्छ,’ उनी भन्छन्, ‘यसका लागि व्यवस्थापनले चेन अफ कमान्डलाई पनि चुस्तदुरुस्त राख्नुपर्छ र कर्मचारीको मनोबल बढाउने काम गर्नुपर्छ ।’ कान्तिपुरमा खबर छ ।