देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

के साँच्चै ब्युँझिएकै हो कांग्रेस ?

देशान्तर

जगन्नाथ दुलाल

नेपाली कांग्रेसले ढिलै सही, सरकारविरुद्ध आफूलाई उतार्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको दमौलीमा गरिएको दुव्र्यवहारले चुपचाप बसेको कांग्रेस जर्‍याकजुरुक्क जुर्मुराएको छ । कम्युनिस्ट कर्कशको दुई वर्ष कानमा कपास हालेर बितायो कांग्रेसले भन्दा फरक नपर्ला । कांग्रेस नेता, कार्यकर्ताले त हामी कहाँ सुतेका थियौं ? भनेर प्रतिप्रश्न पनि गर्न सक्छन् । तर, आफू ब्युँझिएको अनुभूति आफूलाई लागेर हुँदैन । जनतालाई लाग्नुपर्छ । कांग्रेसको सन्दर्भमा जनता प्रतिपक्षीय भूमिकामा कांग्रेस निदाएकै ठान्छ । अझ कतिपय आलोचक त कांग्रेस बालुवाटारले दिने एक दुई थान नाथे संवैधानिक आयोगमा नियुक्तिको आसमा केपी ओलीसामु त्वं शरणम् नै परेको ठान्छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सूत्रधार, संविधानको मुख्य निर्माता र २००७, २०४६ र २०६२ को भीमकाय क्रान्तिको नायक पार्टी कांग्रेसका प्रति जनतामा भरोसा हुने नै भयो । परिवर्तनका उपलब्धि ठानिएका संघीयता, गणतन्त्र र संघीयताको स्वामित्व लिएर प्रधानमन्त्री अलमलमा आत्तिनु पर्दैन, देशलाई दुर्घटनामा जान दिने छैनौं भन्ने शंखघोष आम जनताले कांग्रेसबाट चाहेका छन् यतिबेला ।

सडकमा प्रतिगमनकारी राजावादीहरूको सल्बहलाट छ । सत्तामा शान्ति र समृद्धिको खोक्रो गफ दिएर आएको ‘गफाडी’ ओलीको राज छ । मूलत उनले सत्तामा रहँदा भ्रष्टाचारीको संरक्षक (वाइडबढी, यती, ओम्नी, बालुवाटार, सेक्युरिटी प्रिन्टिङ प्रेस) को छवि बनाएका छन् । परिवर्तनकारी आन्दोलनमा पनि प्रतिगामी एजेन्डाकै पक्षधर थिए ओली । न संघीयता पक्षधर हुन् ओली, न गणतन्त्र । ‘लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनका बेला ‘बयलगाढा चढेर अमेरिका पुगिन्न’ भन्ने ओली उक्ति अझै चर्चित छ । तर, देशको विडम्बना तीनै ओली यो व्यवस्थाको ‘ड्राइभिङ सिट’ मा छन् ।

बयलगाढाका चालक संघीय लोकतान्त्रिक गणतन्त्रात्मको ‘जेट’ को ककपिटमा हुनु अर्को विडम्बना हो । जतिसक्दो छिटो ओली बहिर्गमन देशको हितमा छ । बहिर्गमन गर्न नसके पनि उनको हर्कतका कारण देश र जनतालाई हुन सक्ने क्षति न्यूनीकरण मात्र हुन सक्यो भने पनि देशका प्रति योगदान ठहर्छ । के कांग्रेसले त्यो साहस गर्छ ? ओलीको अतिवालाई ब्रेक लगाउन कांग्रेसले स्पिड ब्रेकर तयार गर्न सक्नुपर्छ । कांग्रेसले आफ्नो सान्दर्भिकता जनताका बीचमा पुष्टि गर्ने यिनै विषयमा आफूलाई खरो उतारेर हो । ओलीले आज बोलाएको संवैधानिक परिषद्बाट केही ‘झर्ला’ र ‘खाउँला’ भन्नेबाट कांग्रेस मुक्त हुनुपर्छ । संवैधानिक परिषद्मा प्रतिपक्षी दलको प्रतिनिधित्व नचाहने ओलीलाई जवाफ दिन कांग्रेसले त्यस्ता बैठक बहिष्कार गरेर कडा चुनौती दिन सक्नुपर्छ । तर, के कांग्रेसका शेरले शेरको जस्तो मुटु बनाउन सक्छन् ? नजर बूढानीलकण्ठमा विराजमान शेर (शेरबहादुर देउवा) तर्फ छ ।

तनहुँमा प्रहरीले घोक्राउनुको पीडा ओलीकै सामु पौडेलले बालुवाटार बैठकमा राखे । तर, कसाईका अगाडिे गुनासोको गुञ्जायस हुँदैन । सर्वदलीय बैठकका नाममा ओलीको असान्दर्भिक नाटक मञ्जनमा नजाने गर्जन बोहोराटारले गर्दिएको भए ओली दम्भमा गतिलो झापट हुुने थियो । अफसोच त्यो अवसर गुम्यो । उपसभामुखसमेत नियुक्ति नगरेर मनपरी गर्ने ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा नगएर राम्रो पाठ पढाउने अवसर कांग्रेसले नगुमाओस् । कुनै ठक्करले ब्युँझने र फेरि निदाउने ‘गजिनी’ फिल्मको आमिर खानजस्तो नबनोस् कांग्रेस ।

सेलाउनु हुन्न कांग्रेसीहरूको आगो
जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । तनहुँ घटनाले मुर्झाएको कांग्रेसमा जागरण ल्याएको छ । लोकतन्त्रका लागि १५ वर्ष जेल बसेका नेता पौडेलमाथिको नेकपा सरकारको दुव्र्यवहारले देशैभरिका लोकतन्त्रवादीहरूलाई नराम्ररी घोच्यो । एकैपटक डँडेलधुरादेखि काँकडभिट्टासम्म सिरहादेखि सोलुखुम्बुसम्म पौडेलमाथिको दुव्र्यवहारविरुद्ध राँको बल्यो । कांग्रेसीहरूको शरीरमा पानी पो बग्छ कि ठान्नेहरूले तनहुँ घटनाको साँझ देखे अन्यायविरुद्ध लड्ने सामथ्र्यसहितको रगत पनि बग्छ भनेर । लोकतन्त्र र संविधानमाथि संकट रहेसम्म, नेपाली समाजलाई समृद्धिको बाटोमा नलगेसम्म त्यो तातो जोस सेलाउनु हुन्न । पार्टीभित्रै रूपान्तरणका लागि पनि सत्य बोल्ने साहस गर्न सक्नुपर्छ । सत्यको तागतका अघिल्तिर संसारको जुन कुनै शक्तिले घुँडा टेक्न बाध्य हुन्छ ।

तनहुँ घटना कुनै अमूक व्यक्तिमाथि दुव्यर्वहारको घटना थिए । त्यो त ओलीको अतिवादी महत्वकांक्षाको परीक्षण थियो । आफ्नै पार्टीमा आफूविरुद्ध रहेका माधव नेपाल र प्रचण्डहरूलाई चेतावनी थियो । तर, परीक्षणमा ओली फेल भए । परिणाम सर्वदलीय बैठकमार्फत चियाको कपमा तुफान ल्याउने प्रयत्नको फोर्स ल्यान्ड गरे । कांग्रेसले ओलीलाई देखाइदिने अवसरमा चुक्नु हुँदैन थियो ।

नेपालको राजनीति अहिले पुनः अप्ठ्यारो स्थितिमा छ । सडकमा प्रतिगमनकारी शक्ति छ । सत्तामा रहेको नेकपाको सरकार र पुनः व्यक्ति हत्यामा उत्रेको छ विप्लव समूह । यो तीन वटा शक्तिका कारण जनताले हामीले पटकपटक लडेर ल्याएका उपलब्धिमाथि चुनौती खडा भएको छ । सरकार आफैं संविधानको मर्मअनुसार चलेको छैन । नागरिकको अपेक्षाअनुसार काम भएका छैनन् । कोभिडमा सरकार पूरै असफल देखियो । सत्तारूढ दल आफैंभित्र आरोपप्रत्यारोपको उल्झन छ । शान्ति सुरक्षाको अवस्था कमजोर बन्दै छ । समृद्धि र स्थिरता नारामा मात्र सीमित हुने देखिन्छ । जनतामा निराशा छ ।

त्यसैले नेपाली जनताले कांग्रेसतिर आशाको नजरले हेरेका छन् । कांग्रेसले मात्र देश बचाउन, संविधान कार्यान्वयन गराउन र देशलाई अतिवादी शक्तिबाट हातबाट जोगाउन सक्छ । तर, त्यसका लागि पार्टीभित्र एकता मजबुत गर्नुपर्छ । निराश भएका जनतामा सरकार र सत्तारूढ दल नालायक भए पनि कांग्रेस लायक छ भनेर विश्वस्त गर्न सक्नुपर्छ ।

विश्वलाई नै समस्यामा पारेको कोरोना महामारीको प्रकोप बढ्दो छ । सुखी नेपाली, समृद्ध नेपालको नारा दिएर सरकारमा पुगेको नेकपाको सरकार आफ्नो जिम्मेवारीमा पूर्ण असफल सावित भइसकेको छ । न जनतालाई कोरोना महामारीमा उचित सम्बोधन गर्न सक्यो न विकास निर्माण, शान्ति सुरक्षा र जनतालाई डेलिभरी दिन । उसो त, अहिले नेकपालाई जनताले दिएको करिब दुई तिहाइ मतको बलियो सरकार टोक्नु न बोक्नु भएको छ । नेकपाभित्रको विवादले संसद्लाई समेत विलखबन्दमा पारिएको छ ।

विश्वलाई नै समस्यामा पारेको कोरोना महामारीको प्रकोप बढ्दो छ । सुखी नेपाली, समृद्ध नेपालको नारा दिएर सरकारमा पुगेको नेकपाको सरकार आफ्नो जिम्मेवारीमा पूर्ण असफल सावित भइसकेको छ । न जनतालाई कोरोना महामारीमा उचित सम्बोधन गर्न सक्यो न विकास निर्माण, शान्ति सुरक्षा र जनतालाई डेलिभरी दिन । उसो त, अहिले नेकपालाई अहिले जनताले दिएको करिब दुई तिहाइ मतको बलियो सरकार टोक्नु न बोक्नु भएको छ । नेकपाभित्रको विवादले संसद्लाई समेत बिलखबन्दमा पारिएको छ । जनताले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीय भूमिका दिएका छन् । कांग्रेसले नेकपाभित्रका विरोधीलाई तर्साउन फ्याँकेको सत्ता साझेदारीझको कार्डमा कांग्रेस फस्न हुँदैन । सरकारले गरेको कुशासन, भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्दै कांग्रेसले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ । यो नै कांग्रेसको आजको मुख्य कार्यभार हो ।
मंसिर २९ गतेको प्रदर्शन कांग्रेस जागरणको अभियान बन्न सकोस् । न कि कुनै अमूक घटनामा व्यक्त प्रतिक्रिया मात्रै ।

[email protected]
(अधिवक्तासमेत रहेका दुलाल नेपाल प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष हुन् ।)