देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय विदेश सचिव आज गोरखा जाने

देशान्तर

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला आज गोरखा जाने भएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि पत्रकारहरुसँग कुरा गर्दै सचिव हर्षवद्र्धनले शुक्रबार २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखा जाने जानकारी दिएका थिए ।

गोरखामा भारतीय सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएका तीनवटा विद्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नम्बर १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाका गोरखा जिल्ला संयोजक राम सापकोटाले जानकारी दिए ।

विदेश सचिव हर्षवद्र्धन नेपाली सेनाको हेलिकोप्टरबाट गोरखा जाने कार्यक्रम रहेको छ । काठमाडौं आए लगत्तै राजनीतिक भेटघाट तीब्र पारेका हर्षबद्र्धन शुक्रबार गोरखाको कार्यक्रम सकेर स्वदेश फिर्ता हुने छन् ।

सन् २०१८ को मार्च महिनादेखि लागु भएको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भइसकेका छन् ।

भूकम्प प्रभावित बिभिन्न जिल्लामा ७० वटा विद्यालय निर्माणको चरणमा रहेका छन् । त्यस्तै १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको परियोजना कार्यालयले जनाएको छ ।