देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाले आयात घट्यो, तीन महिनामा ३१ अर्बको निर्यात

देशान्तर

काठमाडौ – बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण आयात घट्दा निर्यातमा भने आंशिकरुपमा सुधार देखिउको छ । नेपाल राष्ट्र बैकले आज बुधबार देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी तीन महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७-७८ को तीन महिनामा कुल वस्तु निर्यात १४ दसमलव तीन प्रतिशतले वृद्धि भई ३१ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दसमलव चार प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९ दसमलव चार प्रतिशत र सात दसमलव चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५३ दसमलव दुई प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ । प्रतिवेदन अनुसार चालु आवको तीन महिनामा कुल वस्तु आयात १२ दसमलव सात प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दसमलव तीन प्रतिशतले घटेको थियो । वस्तु आयात गरिनेमुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः छ दसमलव छ प्रतिशत, २६ दसमलव नौ प्रतिशत र १९  प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ,यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

चालु आवको तीन महिनामा कुल वस्तु व्यापार घाटा १५ दसमलव एक प्रतिशतले घटी दुई खर्ब ६१ अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२  प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दसमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव एक प्रतिशत रहेको छ ।