देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘डेट एक्सपायर’ खाद्य सामग्री बिक्रि बिबरण गर्ने संचालक र कर्मचारी नियन्त्रणमा

देशान्तर

काठमाडाैँ – डेट एक्सपायर भएका खाद्यबस्तु रिलेभलिङ गरि बिक्रि बिबरण गर्ने संचालक र कर्मचारी नियन्त्रणमा लिई गोदाम सिल गरिएको छ। महानगरीय अपराध महाशाखाको बिषेश सूचना तथा निग्रानीको आधारमा काठमाडौँ उपत्यकाको कंलकी र बाफल समेतमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री बिक्रि बिबरण गर्ने संचालक र कर्मचारीलाई नियन्त्रणमा लिई गोदाम सिल गरिएको हो ।

डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्रीमा पुनः नयाँ म्याद राखेर बजारमा पठाइने गरेको पाइएको छ । प्रहरीले करिब १४ सय प्रकारका त्यस्ता खाद्य सामग्री भेटिएको जनाएको छ ।

प्रहरीले कलंकी क्षेत्रमा सिल गरेको एक घरको गोदाममा राखिएको १४ सय प्रकारका सामग्रीमध्ये १ सय ४१ प्रकारका सामग्रीको पहिचान गरेको हो । प्रहरीले विशेष सूचना र दुई हप्ताको सूक्ष्म अनुसन्धानपछि आइतबार तथा गत बिहीबार गरेको अप्रेसनका क्रममा राजधानीका कलंकी र बाफल क्षेत्रबाट गरी करिब २५ करोड मूल्य बराबरका सामानमा नयाँ डेटसहितको लेभलिङ गर्दै गर्दा सिल गरिएको जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालका म्याद गुज्रिएका चकलेट, बिस्कुट जस्ता सामग्री बजारबाट उठाउने र नयाँ डेट राखेर बजारमा पठाउने गरेको पाइएपछि गोदाम नै सिल गरिएको बताए ।

महाशाखाले गत बिहीबारको अप्रेसनका क्रममा कलंकीस्थित आयन डिस्टिब्युटर्स प्रालिबाट रिलेभलिङ गर्ने एउटा मेसिन र बाफलस्थित अमजोन डिस्टिब्युटर्स प्रालिबाट म्याद गुज्रिएका ओरियो बिस्कुट, स्निकर्स चकलेट, बर्न भिटा, प्रिंगल्सलगायतका खाद्य सामग्री राखिएको गोदाम सिल गरेको थियो । प्रहरीले सो कार्यमा संलग्न सञ्चालक तथा कामदार र सवारी साधनहरूसमेत आवश्यक अनुसन्धान कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाएको छ । गत बिहीबार भने सो कार्यमा संलग्न आठ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरूमा झापा चन्द्रगढी घर भई पुतलीसडक न्युप्लाजा बस्ने पुष्पादेवी अग्रवाल, भारत राजस्थान बिकानेर श्रीडुंगरगढ घर भई बाफल बस्ने रोनक बोथ्रा, रौतहट गौर घर भई बल्खु बस्ने मुन्ना ठाकुर र पप्पुकुमार ठाकुर, महोत्तरी भग्रामका श्यामप्रसाद सिंह, धादिङ गल्छी घर भई कुलेश्वर बस्ने रामबहादुर बयलकोटी, धादिङ निलकण्ठ घर भई कलंकी बस्ने सीताराम उपरकोटी र धादिङ सिद्धलेख घर भई बाफल बस्ने दिलिप थापा मगर छन् । सो क्रममा बा२०च १०९, बा१६च ५७०४ र बा१९च ४९०५ नम्बरका सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ ।