देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणेशमान सिंहको सालिक ढाल्ने षड्यन्त्रमा महेश बस्नेत

देशान्तर

भक्तपुर । विभिन्न उट्पट्याङ काम गरेर सधै चर्चामा आइरहन चाहने, डनहरूको संरक्षक संस्था युथ फोर्सको स्थापना गरी राजनीतिमा पाइला राखेका भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद् महेश बस्नेत नेपाली राजनीतिका शिखर पुरुष, जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौह पुरुष गणेशमान सिंहको नाउमा स्थापित ‘गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति’को भोगाधिकार भएको सूर्यविनायक नगरपालिका, साविक कटुञ्जे गाविसमा १७४ रोपनी जग्गाबाट अस्पतालको नाउमा जग्गा खोस्ने प्रपञ्चमा लागेर फेरि एकचोटी विवादमा आएका छन् ।

यसअघि सांसद अपहरण, सूर्यविनायक नगर क्षेत्र हरियाली काण्ड, स्मार्ट सिटी काण्ड, चित्तपोलमा रंगशाला बनाउने काण्डहरुबाट चर्चामा आएका र आफू प्रधानमनत्री केपी ओलीको लागि ज्यानसमेत दिन तयार भन्नेजस्ता हलुका कुराहरु गरेर नथाक्ने सांसद् बस्नेत अहिले भुमाफियाहरुको इशारामा सो बाटिकाको जग्गा खोस्ने प्रपञ्चमा लागेको बुझिएको छ । यस्ता कुकृत्यमा लागेका कारण नेपाली कांग्रेस भक्तपुरले बस्नेत सहभागी हुने कुनैपनि कार्यक्रममा आफ्ना पदाधिकारी, जनप्रतिनिधि एवं कार्यकर्ताहरुलाई सहभागी नहुन आइतबार आन्तरिक सर्कुलर जारी गरेको छ ।

मन्त्रीपरिषद्को निर्णयले २०५४ सालमै भोगाधिकारसहितको लालपूर्जा पाएको उक्त बाटिकाको जग्गा गत भदौ ७ गते मन्त्रीस्तरीय निर्णय गराएर खोस्न खोज्दा स्थानीय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मालपोत अधिकृतसहितको सरकारी जग्गा दर्ता सिफारिस समितिले समेत सो निर्णय कानुनसम्मत नभएकोले तामेलीमा पठाउँदा समेत सांसद् बस्नेत अझै समितिको जग्गा खोसेरै छाड्ने अभियानमा लागिपरेका छन् । बस्नेतले निर्णय तामेलीमा राखेको भन्दै जिल्ला मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत देवी वहादुर भण्डारीलाई सरुवाको निर्णय गराएका छन् भने निर्णय कार्यान्वयन नगरे भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई पनि सरुवा गर्ने धम्की दिएको स्रोतले बतायो । केही दिन अघि गृह मन्त्रालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव तथा भुमिसुधार मन्त्रालयका सचिवसँग बैठक गरी सिडिओलाई निर्णय कार्यान्वयन गराउन बस्नेतले दबाब दिएको स्रोतले जानकारी दियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको त्याग, तपस्या र योगदानलाई भविष्यको पुस्तासम्म पु¥याउन सुन्दर बाटिका, संग्रहालय, भ्यु– टावरलगायत प्रजातान्त्रिक आन्दोलनका विभिन्न नेताहरूका अर्धकदका प्रतिमाहरु निर्माण गर्ने उद्देश्यले तत्कालिन कटुञ्जे गाविसका अध्यक्ष एवं सभासद स्व. रामेश्परप्रसाद ढुंगेलको अध्यक्षतामा “गणेशमान सिंह स्मृति तथा प्रतिमा स्थापना समिति” २०५४ सालमा खडा भएको थियो । तत्कालीन कटुञ्जे गाविसको सिफारिसमा नेपाल सरकारले मन्त्रिपरिषदबाट पारित गरेर सूर्यविनायक जंगलदेखि पश्चिम, सुवर्णेश्वर महादेव स्थानदेखि पूर्वको बन बुट्यान भएको १७४ रोपनीको डाँडो, बाटिकालाई भोगाधिकार प्रदान गरेर त्यसको लालपूर्जा प्रदान गरेको थियो । त्यो डाँडोको टुप्पोमा लौह पुरुष गणेशमान सिंहको १२ फिट अग्लो १२०० किलो धलोटको प्रतिमा बनेर अनावरणका निम्ति तयार भइसकेको छ ।

मन्त्रीस्तरीय निर्णयले मन्त्रिपरिषद्को निर्णयबाट प्रदान भएको जग्गा खोसिन नसक्ने भएकाले बाटिकाले प्रधानमन्त्रीसमक्ष भदौ २४ गते उक्त निर्णय बदर गरेर मन्त्रिपरिषद्को पूर्व निर्णय कायम होस् भन्ने निवेदन दिएको छ ।

उता प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मालपोत अधिकृत समेत हुने जिल्लाको जग्गासम्वन्धी समितिले पनि भदौ २४ गते उक्त निर्णय कार्यान्वयन गर्न विभिन्न कठिनाइ देखाएर त्यो फाइल नै तामेलीमा राखिसकेको छ ।

ती सबैमाथि कुनै कारवाही हुनु अगावै भक्तपुरमा भूमाफियाका नाइके भनेर परिचित सांसद महेश बस्नेत पद र प्रधानमन्त्रीको निकटताको फाइदा उठाएर ओलीलाई नै बदनाम गर्ने अभियानमा लागेका छन् । उनी गृह सचिव, स्वास्थ्य सचिव र भूमिसुधार सचिवलाई दबाब दिएर राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने र सरुवा गराउने कामसमेत लागेका छन् ।

मन्त्रीस्तरीय निर्णय पछि योजनावद्ध रुपले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले गत भदौ २४ गते गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिलाई पत्राचार गरी २८ रोपनी ७ आना जग्गा उपलब्ध गराइदिन भनेको छ । तर समितिले उक्त मागप्रति प्रतिवेदन पेस गर्न एउटा उपसमिति बनाएको थियो सो समितिले बाटिका र अस्पताल रहने क्षेत्र वातावरणीय हिसावले एक अर्काका विरोधाभाषपूर्ण हुने हुनाले केन्द्रलाई जग्गा नदिन मुल समितिलाई सिफारिस गरिसकेको छ । बाटिका अर्थात् पार्क बालबालिका र प्रौढहरुलाई मनोरञ्जन पुर्याउने स्थलको रुपमा लिइन्छ भने अस्पताल एकान्त र हल्लाखल्ला रहित स्थानमा हुनुपर्ने उपसमितिले ठहर गरेको बुझिएको छ । त्यसैगरी २८ रोपनी ७ आना जग्गा भौगोलिक हिसावले समेत काटेर दिन नमिल्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

अहिले भूमाफियाहरुले भूमिसुधारमन्त्रीलाई प्रभाव र दबाबमा पारेर त्यो जग्गा गणेशमान सिंह बाटिकाबाट खोसेर मानव अंग प्रत्यार्पण अस्पतालको भवन बनाउन प्रदान गर्ने मन्त्रीस्तरीय निर्णय भदौ ७ गते गरेकाले नेकपा सरकारका मन्त्रीहरु नै प्रधानमन्त्री ओलीलाई प्रजातन्त्रका पिताको प्रतिमाको भक्षकका रुपमा प्रस्तुत गर्न उद्यत भएका छन् । त्यस लगत्तै समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयलाई पत्राचार गरी मन्त्रीस्तरीय निर्णय सच्चाउन अपिल गरेको छ । उक्त पत्रको बोधार्थ भुमिसुधार मन्त्रालय, सिडिओ कार्यालय, मालपोत कार्यालय, नेपाली कांग्रेसको केन्द्रिय कार्यालय, नेकपा लगायतलाई दिइएको छ ।

अस्पतालको लागि यसअघि २०७५ साउन २१ नै भक्तपुर चागुनारायण नगरपालिका वडा नं. ७ साविक वागेश्वरी गाविस वडा नं. ९ स्थित गुरुङटारमा करिब ७० रोपनी जग्गामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा विस्तारको लागि भोगचलन दिनको निम्ती चागुनारायण नगपालिकाको संयोजनमा नगरपालिकाकातर्फबाट नगर प्रमुख सोम प्रसाद मिश्र र अस्पतालको तर्फबाट तत्कालिन कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठ सहित विभिन्न राजनैतिक दलका जिल्लास्तरीय नेता तथा स्थानीय बासिन्दाहरु, समाजसेवी लगायत समाजका प्रवुद्ध वर्गको उपस्थितिमा सो अस्पताल निर्माणको लागि नेपाल सरकारलाई अनुरोध गर्ने गरी अस्पताल र नगरपालिकाबीच सम्झौता गर्ने भनि निर्णय भइसकेको थियो । यही निर्णयका आधारमा सो मानव अंग प्रत्यारोपण केन्द्रलाई उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने गरी २०७५/०७६ को नागुनारायण नगरपालिकाको नगरसभाबाट समेत निर्णय भइसकेको छ । उपलब्ध गराइएको जग्गा नलिएर लौह पुरुषको नाममा रहेको जग्गा हडप्न खोज्ने बस्नेतको षड्यन्त्रविरुद्ध यतिबेला चागुनारायण नपा वडा नं. ७ बासी आन्दोलित बनेका छन् ।

उनीहरुहरुले अस्पताल निर्माण अन्यत्र लगे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आइतबार नागुनाराण– ७ बासिका तर्फबाट वडा अध्यक्ष ज्ञानवहादुर केसीले मानव अंग प्रत्यारोपणको विस्तारित सेवा अन्यत्र नसार्न चेतावनी दिदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी, नेकपा भक्तपुर, नेपाली कांग्रेस भक्तपुर, राप्रपा भक्तपुर र मजदुर किसान पार्टी भक्तपुरलाई ज्ञापनपत्र बुझाएका छन् ।

उक्त ज्ञापनपत्रमा भनिएको छ– अस्पताल निर्माणको लागि चागुनारापण नपा– ७ का स्थानीय बासिन्दाहरुको पनि पनि पूर्ण समर्थन र भुगोल र वातावरणको हिसावले पनि उक्त स्थान उपयुक्त रहेता पनि हालसम्म केन्द्रका हालका कार्यकारी निर्देशकले कुनैपनि चासो नदेखाएकाले अब सो स्थानमा मानवअंग प्रत्यारोपण केन्द्रको विस्तारित सेवा बस्नने कुराका शंका उत्पन्न भएको छ र हाल केही मानिसहरु यस चानपा ७ मा बन्ने भनेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको विस्तारित सेवा यस स्थानबाट अन्यत्र लैजाने कार्यमा तानाबाना बुझि प्रशासन तथा अन्य निकायलाई प्रभावमा पारी षड्यन्त्रपूर्वक कार्यहरु गरिरहेको भन्ने सुन्नमा आएकोले, यस स्थान वाहेक सो सेवा केन्द्र अन्यत्र सार्ने गरी प्रक्रिया सुरु गरेमा हामी सम्पूर्ण नगरवासिहरु कडा रुपमा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने कुरा यो ज्ञापन पत्र मार्फत जानकारी गराउदछौ । तसर्थ यहाँ तथा यहाँको नेतृत्वमा रहेको राजनैतिक दल तथा सो अन्तर्गतका सबै तहमा आवद्ध साथीहरुलाई पूर्व सहमति बमोजिम चानपा ७ को सोही स्थानमा मानव अंगप्रत्यारोपण केन्द्रको विस्तारित सेवा निर्माणका निमित्त आवश्यक पहल गरिदिनुहुन यस चागुनारायण नगरपालिका बासि हार्दिक अनुरोध गर्दछौं ।

यी घटनाक्रमबाट के स्पष्ट हुन्छ भने सांसद् बस्नेत पद र सत्ताको दुरुपयोग गरी राष्ट्रिय विभुतिको रुपमा रहेका गणेशमान सिंह मात्र हैन आफ्नो स्वार्थको लागि जोकसैलाई क्षति पुर्याउन सधै तम्तयार रहन्छन् । प्रधानमन्त्री ओलीको निकटता उनको लागि वरदान सावित भएको छ । त्यसको दुरुपयोग गर्दै उनले आगामी दिनमा अझै कस्ता कस्ता काण्ड मच्चाउने हुन् प्रतिक्षाको विषय भएको छ । यसतर्फ नेकपा र स्वयं प्रधानमन्त्री केपी ओली बेलैमा सचेत हुन भक्तपुर क्षेत्र नं. २ का सम्पूर्ण लोकतन्त्रवादीहरुको माग छ ।